• १२ कार्तिक २०७७, बुधबार
गुटकाे राजनिति झन फैलिदै कांग्रेसमा, सिटौला र केसी फकाउँदै पौडेल
  • स्टुडियाे संवाददाता

झण्डै दुइवर्ष अघि सम्पन्न नेपाली कांग्रेसको १३ औं महाधिवेशनबाट शेरबहादुर देउवा पार्टीको सभापतिमा निर्वाचित भए । सभापतिमा निर्वाचित भएलगत्तै उनले पार्टीभित्रको गुटबन्दी समाप्त गर्ने घोषणा गरे । तर उनले घोषणा गरेको दुई वर्ष नगुग्दै कांग्रेसभित्र आठवटा गुट सक्रिय छन् ।

तर अहिले गुटमा नेताहरु तानातान गर्ने प्रयास भने जारी राखिएको छ ।

१३ औं महाधिवेशनमा सभापति पदका लागि देउवा, रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला फरक–फरक खेमा बनाएर संस्थागत शैलीमै चुनावी मैदानमा उत्रिएका थिए । पहिलो चरणमा कांग्रेसको विधानतः कसैले पनि स्पष्ट बहुमत ल्याउन नसकेपछि बढी मत ल्याएका देउवा र पौडेलबीच सभापति पदका लागि दोस्रो चरणमा मतदान भएको थियो । दोस्रो चरणको मतदानमा सिटौला समुहले देउवा समुहलाई सघाएको थियो ।

१३ औं महाधिवेशनमा देउवालाई सभापतिमा निर्वाचित गर्न भूमिका खेलेका सिटौला, उनको समुहबाट आफ्नै ससुराविरुद्ध महामन्त्री पदमा चुनावी प्रतिष्पर्धा गरेका युवा नेता गगन थापा, देउवा समुहबाट महामन्त्रीका उमेदवार अर्जुननरसिँह केसीसँगै अर्का नेता चन्द्र भण्डारीले पार्टी सुदृढिकरणका नाममा देउवाको साथ छोड्दै गएका छन् ।

आइतबार मात्रै सिटौला र केसीले सभापति देउवालाई एक्ल्याउने मनसायले वरिष्ठ नेता रामचन्द्र पौडेलसँग छलफल गरेका छन् । देउवाको कार्यशैलीबाट असन्तुष्ट सिटौला र केसीले झण्डै दुइवर्षपछि पहिलोपटक नेता पौडेलसँग दुई घण्टा लामो छलफल गरेका हुन् । छलफलमा नेतात्रयबीच आगामी दिनमा पार्टीमा एकमत भएर उभिने अनौपचारिक सहमति भएको छ ।

यस्तै देउवालाई सभापति बनाउन सहयोग गरेका युवा नेता गगन थापा र चन्द्र भण्डारीले पनि नेतृत्वको साथ छोडेका छन् । उनीहरुले नेतृत्वकै कमजोरीका कारण प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पराजित हुनुपरेको निष्कर्ष निकाल्दै देउवाविरुद्ध हस्ताक्षर अभियान सञ्चालन मात्रै होइन नेतृत्व परिवर्तनको माग जारी राखेका छन् ।

१३ औं महाधिवेशनमा पौडेल समुहविरुद्ध देखिएका नेताहरु पछिल्लो समयमा उनैसँग मिल्न जाँदा सभापति देउवा पार्टीभित्र कमजोर हुनसक्ने भन्दै संस्थापन पक्ष गुट भत्काउन लागिपरेको छ ।

महाधिवेशनको समयमा साथ दिएका नेताहरुले नै साथ छोडेपछि सभापति पार्टीमा कमजोर देखिन सक्ने नेता धनराज गुरुङको भनाई छ ।
‘‘१३ औं महाधिवेशनमा साथ दिएका नेताहरुले हात झिक्दा सभापति देउवाका लागि स्वाभाविक रुपमा सकारात्मक परिणाम आउँदैन,’’ नेता गुरुङले भने । नेतृत्वको कमजोरीका कारण निर्वाचनमा पराजय भोग्नुपरेको निष्कर्ष निकालेर कांग्रेसका विभिन्न नेताहरु आफु अनुकुलको गुटबन्दीमा लागेका छन् । उनीहरु पार्टीलाई सुदृढीकरण गर्ने बहाना बनाएर गोप्य तरिकाले छुट्टाछुट्टै बैठक, बहस र छलफल चलाइरहेका छन् ।

महाधिवेशनमा देउवा समुहबाट महामन्त्री पदका उमेदवार केसीले आगामी दिनमा पौडेललाई सघाउने स्पष्ट संकेत गरेका छन् । उनले देउवा एक्लौटी ढंगबाट अघि बढेकोप्रति असन्तुष्टि जनाउँदै नेता सिटौलाका साथ पौडेलसँग छलफल चलाएको स्वीकार गरे ।

तर उनले आफू अहिले कुनै पनि गुटमा सक्रिय नरहेको बताए ।

छलफलमा नेताद्वय सिटौला र केसीले वरिष्ठ नेता पौडेलसँग सभापति देउवा एकलौटी ढंगले अघि बढेको, समानुपातिक निर्वाचन प्रणालीको सूची देखाउन नमानेको लगायतका गुनासो गरेका थिए । जवाफमा नेता पौडेलले उनीहरुलाई देउवालाई सभापतिमा जिताउन भूमिका खेलेकाले देउवाको कार्यशैलीको जिम्मेवारी लिन भनेको स्रोतले जनाएको छ ।

कांग्रेसको नेतृत्व परिवर्तनका लागि इतरसमुहका नेताहरु गुटगत छलफलमा जुटेपछि संस्थापन पक्षीय नेताहरुले पनि सक्रियता बढाएका छन् । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीले व्यहोरेको पराजयमा सभापति देउवा मात्रै जिम्मेवार नभएको दाबी गर्दै आएका संस्थापन पक्षका नेताहरु आन्तरिक छलफल चलाइरहेका छन् । पौडेल पक्ष गुटगत भेलामा जुटेपछि संस्थापन पक्षका नेताहरुपनि आन्तरिक छलफलमा जुटेका कांग्रेस स्रोतले जनाएको छ ।

स्रोतका अनुसार उनीहरुको प्रायःजसो छलफल बालुवाटारमा गर्ने गरेका छन् । उनीहरुको छलफल पार्टीको आगामी रणनीति, केन्द्रीय समिति र महासमिति बैठकमा संस्थापन पक्षले निभाउनुपर्ने भूमिका लगायतका विषयमा केन्द्रीत हुने गरेको स्रोतको भनाई छ । ‘‘नेतृत्वलाई असहज अवस्था आउन नदिन हामीहरु पार्टीको विधानसम्मत ढंगबाट प्रोटेक्सन गर्न तयार छौं,’’ देउवा पक्षीय एक नेताले भने ।

तर पौडेल समुह, कोईराला परिवार र चन्द्र भण्डारीले संयोजनकारी भूमिका निभाएको ७ जना युवा नेताहरुको समुह नेतृत्व परिवर्तन गरेर पार्टी मजबुत बनाउन ‘जस्तोसुकै’ कदम चाल्न पछि पर्न नहुने मनसायका साथ रणनीति बनाइरहेको छ । कांग्रेस नेता गुरुङले पार्टीलाई मजबुद बनाउन चाँडोभन्दा चाँडो महासमिति बैठक बोलाएर आगामी महाधिवेशनको तयारीमा लाग्नुपर्ने बताए ।

‘‘महासमिति बैठकबाट विधान संशोधन गरेर वर्तमान शासकीय प्रणालीअनुसार संगठन विस्तार गर्न आवश्यक छ’’, उनले भने, ‘‘त्यसका लागि अर्ली महाधिवेशन (निर्धारित समयभन्दा अगावै) गरिनुपर्छ ।’’ नेता गुरुङले आफुहरुले रहर गरेर नभई पार्टीभित्र रहेका नीतिगत कमी–कमजोरी केलाएर विधानसम्म रुपमा लैजान महासमिति बैठक बोलाउनुपर्ने माग राखेको जिकिर गरे ।

‘‘अहिलेको विधानअनुसार कांग्रेसका रहेको सांगठनिक रिक्तताले पार्टीको हित गर्दैन,’’ उनले भने, ‘‘त्यसैले विधान संशोधन गरेर वडा, गाउँ–नगर हुँदै निर्वाचन क्षेत्र र प्रदेश स्तरमा संगठन विस्तार गर्न आवश्यक छ ।’’ उनले विधान विपरित गठन गरिएको केन्द्रीय कार्यसम्पादन समिति र संसदीय समिति विघटन गरेर विधान बमोजिम पुनर्गठन गरिने पनि आफुहरुको एजेण्डा रहेको बताए ।

अहिले सतहमा देखिएको असन्तुष्ट पक्षले अघि सारेका मागअनुसार देउवा पक्ष ‘अर्ली महाधिवेशन’ आयोजना गर्न सहमत हुन्छ ? भन्ने प्रश्नमा नेता गुरुङले भने, ‘‘सबै पक्षले व्यक्तिगत स्वार्थभन्दा पनि पार्टीको हितका लागि सोच्नुपर्दछ ।’’

  • ३ माघ २०७४, बुधबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech