• ६ कार्तिक २०७७, बिहीबार
महोत्सवमा सिसि टिभीबाट निगरानी गरिने, सुरक्षा निकायसँग बृहद छलफल
  • स्टुडियाे संवाददाता

नेपालगञ्जमा संचालन हुने प्रादेशिक महोत्सवको सुरक्षाका बिषयमा आयोजक मूल समारोह समितिले बाँकेका प्रमुख जिल्ला अधिकारी रमेश केसी सहित बिभिन्न सुरक्षा निकायका प्रमुखहरुसंग छलफल गरेको छ । छलफलका क्रममा प्रमुख जिल्ला अधिकारी केसीले महोत्सवका क्रममा आवश्यक पर्ने सम्पुर्ण सुरक्षा व्यवस्था मिलाइने जानकारी दिए । उनले आयोजक पक्षसंग निरन्तर सम्पर्कमा रही सुरक्षा समन्वय गरिने उल्लेख गरे ।

सो अवसरमा बोल्दै नेपाल प्रहरीको दंगा नियन्त्रण गणका प्रहरी उपरिक्षक केदार रजौरे, सशस्त्र प्रहरी बल सिमा सुरक्षा कार्यालय महेन्द्रनगर, नेपालगन्जका सशस्त्र प्रहरी उपरिक्षक फणिराज पौडेल, औद्यागिक सुरक्षा गण बाँकेका सशस्त्र प्रहरी उपरिक्षक शैलेन्द्र भण्डारी, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरिक्षक राजेन्द्र प्रसाद अर्याल लगायतका सुरक्षा निकायका प्रमुखहरुले महोत्सवमा पूर्ण सुरक्षाको प्रत्याभुती गरिने प्रतिबद्धता जनाए । सो अवसरमा ट्राफिक व्यवस्थापन मजबुत बनाउने बिषयमा छलफल भएको थियो ।

सो अवसरमा बोन्दै महोत्सव मुल आयोजक समितिका संयोजक तथा नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले महोत्सवमा सुरक्षाको बिषयमा सुरक्षा निकायसंग निरन्तर सम्पर्क र समन्वय गरिने बताए । उनले सुरक्षाका बिषयमा कुनै सम्झौता नगरिने पनि बताए । अध्यक्ष बैश्यले महोत्सवस्थलमा सुरक्षा व्यवस्था मजबुत बनाउनका लागि सिसि टिभी क्यामेराबाट निगरानी गरिने उल्लेख गरे । बैश्यका अनुसार त्यसका लागि महोत्सवस्थलमा दुई दर्जन बढि सिसि टिभी जडान गरिएको पनि जानकारी दिए ।

सुरक्षा निकायसंगको छलफलमा नेपालगन्ज उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष एवं महोत्सव सुरक्षा व्यवस्थापन उपसमितिका संयोजक अब्दुल वाहिद मन्सुरीले आयोजकका तर्फबाट गरिने सुरक्षा सम्बन्धी व्यवस्थाका बिषयमा जानकारी गराएका थिए । मन्सुरीले सेक्युरेटी गार्ड, स्वयंसेवकको आन्तरिक सुरक्षा व्यवस्थापनका अलावा सुरक्षा निकायको मुख्यरुपमा साथ लिने बताए ।

सुरक्षा निकायसंगको छलफलमा नेपाल उद्योग वणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ, उपध्यक्ष दुर्गाप्रसाद भण्डारी, महासचिव अजय टण्डन, उपमहासचिव तारा खत्री रोकाय लगायतका पदाधिकारी एवं कार्यसमितिका सदस्य, २२ वटै उपसमितिका संयोजकहरुको सहभागिता रहेको थियो । महोत्सवलाई यस क्षेत्रकै उत्सवका रुपमा मनाउने तयारी भएकाले सुरक्षाको बिषयलाई पनि गम्भीरतापूर्वक लिइएको महोत्सव प्रचार, प्रसार उपसमितिका संयोजक बसन्त लामिछानेले जानकारी दिएका छन् । महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । यहि माघ ११ देखि २२ गतेसम्म नेपालगञ्ज स्थित सडक डिभिजन कार्यालय परिसरमा संचालन हुँदै छ ।

५, ६ र ७ नम्बर प्रदेशको मुख्य प्रवेशद्धारका रुपमा रहेको नेपालगञ्ज ब्यापारीक दृष्टिकोणले पश्चिम नेपालको हबका रुपमा स्थापित हुँदै गएकोले महोत्सव संचालनसँगै यस क्षेत्रको आर्थिक गतिशिलताले थप तिब्रता पाउने विश्वास ब्यक्त गरिएको छ ।

महोत्सवमा ब्यापारीहरुको उल्लासमय सहभागीता रहने नेपालगञ्ज उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष तथा स्टल बुकिङ उपसमिति संयोजक अब्दुल वाहिद मन्सुरीले बताए । महोत्सवमा निश्चित स्टल राख्ने प्रावधानका कारण सबै ब्यवसायीलाई समेट्न समस्या भईरहेको बताउँदै मन्सुरीले महोत्सवका लागी आवश्यक सबै ३ सय स्टलहरु बुकिङ्ग भईसकेको जानकारी दिए ।

  • ३ माघ २०७४, बुधबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech