जित्ने पक्का दावी गरिएका राष्ट्रिय सभाका ४३ मध्ये २९ एमाले र १४ माओवादी केन्द्रले लिने निर्णय गरेको एमाले–माओवादी कार्यदलले प्रदेश अनुसारको बाँडफाँट समेत टुङ्याएको छ।
जस अनुसार प्रदेश १ मा माओवादले एउटा राष्ट्रिय सभा सिट पाउनेछ भने एमालेले ५ पाउनेछ। नजित्ने भएकाले यहाँ २ सिट खालि राखिएको छ। मधेशी दलको बहुमत रहेको प्रदेश २ मा पनि माओवादीको भागमा १ सिट परेको छ भने एमालेले पनि १ सिट नै पाएको छ। बाँकी ६ सिट खालि राखिएको छ।
प्रदेश ३ मा माओवादी केन्द्रले २ सिटमा उम्मेदवारी पाउनेछ भने एमालेले ६ सिटमा उम्मेदवारी दिनेछ। यो प्रदेशका सबै सिट जित्ने अपेक्षा गरेकाले खालि सिट राखिएको छैन। प्रदेश ४ मा माओवादीले २ वटा सिटमा उम्मेदवारी दिनेछ। २ सिट खालि राखिएको यो प्रदेशमा एमालेले ४ सिटमा उम्मेदवार दिनेछ।
प्रदेश ५ मा माओवादीले २ वटा सिटमा उम्मेदवारी दिनेछ, ४ वटामा एमालेले दिनेछ भने २ सिट खालि राखिएको छ। बामगठबन्धनले सबैभन्दा राम्रो स्थिति मानेको प्रदेश ६ का सबै सिटमा एमाले र माओवादी केन्द्रले उम्मेदवारी दिनेछन्। त्यस अनसार यो प्रदेशमा एमालेको भागमा ५ र माओवादीको भागमा ३ सिट परेको छ।
प्रदेश ७ मा पनि उनीहरुले २ सिट खालि राखेका छन्। बाँकी ६ मध्ये २ सिट माओवादी केन्द्रले लिएको छ भने एमालेको भागमा ४ सिट परेको छ।