नेपाली कांग्रेसका ३२ जिल्लाका सभापतिहरुले पार्टीकै कमजोरीका कारण प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पराजय भोग्नुपरेको निष्कर्ष निकालेका छन् ।
खोटाङको हलेसीमा सोमबार बसेको विभिन्न ३२ जिल्लाका सभापतिहरुको बैठकले पार्टीभित्र रहेका विभिन्न कमजोरीका कारण प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पराजय भोग्नुपरेको निष्कर्ष निकालेको हो ।
जिल्ला सभापतिहरुको राष्ट्रिय भेलाको तयारीस्वरुप बसेको भनिएको बैठकले निर्वाचनमा पराजित हुनुमा कांग्रेसका १० वटा कमजोरीहरु पनि औंल्याएका छन् ।
यी हुन हलेसी बैठकले औल्याएका पार्टीका कमजोरीहरू
१. निर्वाचन केन्द्रित राष्ट्रिय राजनीतिक मुद्दा नहुनु ।
२. विपक्षीको चुनावी तालमेलबाट हौसिएको जनमतलाई आकर्षित गर्ने नारा र एजेण्डा नहुनु ।
३. निर्वाचनको पूर्वसन्ध्यामा भएका लोकमानसिँह कार्की, सुशीला कार्की लगायतका प्रकरण तथा सरकारका काम र पार्टीको भूमिकाका कारण जनमत पार्टीको विपक्षमा हुनु ।
४. स्थानीय निर्वाचनमा पार्टीको उमेदवार चयन गर्ने काममा जिल्ला कार्यसमितिलाई भूमिकाविहीन बनाइनु ।
५. स्थानीय निर्वाचनमा एउटै पदमा दुई वा तीन जनासम्मलाई टिकट दिएर पठाउनु ।
६. कम्युनिष्टहरुको तालमेलपछि लोकतान्त्रिक गठबन्धनको हल्ला गरिनु तर संघीय समाजवादी फोरम, राष्ट्रिय जनाता पार्टी जस्ता दलहरुलाई समेट्न नसक्नु र जनाधार नभएका साना दलसँग निरर्थक तालमेल गर्नु ।
७. स्थानीय निर्वाचनमा नेकपा माओवादी केन्द्रसँग तालमेल गर्नु तर सोही गठबन्धनलाई प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनसम्म टिकाउन नसक्नु ।
८. कांग्रेसलाई विपक्षीहरुले लगाएका आरोपको राष्ट्रिय रुपबाट खण्डन हुन नसक्नु ।
९. पार्टीभित्रको गुट–उपगुट अन्त्य गर्ने राष्ट्रिय नीति अख्तियार नहुनु ।
१०. कतिपय जिल्लामा आन्तरिक विवादले पार्टी कमजोर हुनु ।
काँग्रेसका ३२ जिल्लाका सभापतिहरुको उक्त बैठकले पार्टीलाई शुद्धीकरण र सुदृढीकरण गरेर अगाडि बढ्नु पर्ने निष्कर्ष समेत निकालेको छ ।
बैठकले पार्टीको विधान पनि परिमार्जन गर्नुपर्ने निष्कर्ष निकालेको छ । संघीय संरचनानुसार विधान निर्माण गर्नुपर्ने भएकाले विधान परिमार्जनका लागि समिति गठन गरिएको नुवाकोटका जिल्ला सभापति जगदीशनरसिंह केसीले बताए ।
उनले पार्टीको विधान परिमार्जनका लागि प्रस्ताव पेश गर्न काभ्रेका जिल्ला सभापति मधु आचार्यको संयोजकत्वमा पाँच सदस्यीय समिति निर्माण गरिएको जानकारी दिए । ‘‘पार्टीको विधान परिमार्जन गर्नका लागि आवश्यक बुँदाहरु महासमिति समक्ष सुझाव स्वरुप पेश गर्न समिति गठन गरिएको हो,’’ नुवाकोट सभापति केसीले बाह्रखरीसँग भने ।
समितिको सदस्यमा कालीकोटका जिल्ला सभापति हर्कबहादुर बम, पाँचथरका नरेन्द्र केरुङ, सिन्धुलीका उज्ज्वल बराल र धादिङका रमेश धमला रहेका छन् ।
गुटगत भेला होइन् !
चुनावको परिणाम पछि विभिन्न गुटहरु जुर्मुराई रहेका बेला हलेसी बैठकमा सहभागि कांग्रेसका जिल्ला सभापतिहरुले आफुहरुको भेला गुटगत नभएको दावी गरेका छन् ।
उनीहरुले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कांग्रेस पराजित हुनुमा पार्टी सभापतिदेखि केन्द्रीय सदस्यहरुको कमजोरी भएको जिकिर गरेका छन् ।
कांग्रेस नुवाकोटका सभापति केसीले निर्वाचनमा पराजित हुनुमा केन्द्रीय सभापति देखि वडा सभापतिसम्मका नेताहरु दोषी रहेको जिकिर गरे । ‘‘चुनावमा पार्टी सभापतिका कारण मात्रै हारेको भन्नेमा हामी छैनौं । सभापति, पदाधिकारी र केन्द्रीय सदस्यदेखि वडा सभापतिहरु पनि दोषी हुनुहुन्छ’’, उनले भने, ‘‘तर कसको दोष बढी र कसको दोष कम भन्ने मात्रै हो ।’’
सभापति केसीले चुनावको समिक्षा गर्न आफुहरुले यसअघि काठमाडौं, सिन्धुपाल्चोक र भक्तपुरमा भेला गरेको स्वीकार भने गरे । ती भेलाहरुमा संस्थापन पक्षीय जिल्ला सभापतिहरुको भने सहभागि थिएन ।
राष्ट्रिय भेलाका लागि नेतृत्वलाई दबाब
३२ जिल्लाका पार्टी सभापतिहरुको उपस्थितिमा बसेको हलेसी बैठकले जिल्ला सभापतिको राष्ट्रिय भेला डाक्न नेतृत्वलाई दबाब दिने निर्णय पनि गरेको छ ।
उनीहरुले कांग्रेसका जिल्ला सभापतिहरुको राष्ट्रिय भेला नुवाकोटमा आयोजना गर्न नेतृत्वलाई दवाव दिने निर्णय गरेको हो ।
‘‘निर्वाचनको समीक्षा गरेर पार्टीलाई सुदृढिकरण गर्दै आगामी ५ वर्षमा मजबुद पार्टी बनाउनका लागि ठोस योजना बनाउने उदेश्यले सभापतिहरुको राष्ट्रिय भेला बेलाउन जरुरी छ,’’ केसीले भने ।
बैठकले सीमा अतिक्रमण रोक्न सरकारले कूटनीतिक पहल गर्नुपर्ने, भूकम्प पीडितहरुका लागि कम्तिमा पाँच लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरिनुपर्ने, भूकम्प पीडितहरुको आवास निर्माणको समयावधि थप गर्नुपर्ने, बाढी पीडित र अग्नी पीडितहरुलाई सबै खाले सहयोग प्रदान गरिनुपर्ने, पञ्चायतकाल तथा माओवादी द्वन्द्वका क्रममा मारिएका सबैलाई सहिद घोषणा गरिनुपर्नेलगायतका निर्णय पनि गरेको छ ।