• १३ कार्तिक २०७७, बिहीबार
प्रदेश ६ मा मुख्यमन्त्रीका ३ दाबेदार विजयी
  • स्टुडियाे संवाददाता

प्रदेश नम्बर ६ का दस जिल्लाका प्रदेश र प्रतिनिधिसभा गरी १८ वटा निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ। बाँकी १८ क्षेत्रको गणना भइरहेको छ।

अहिलेसम्म मतगणता सम्पन्न भएका क्षेत्रबाट यस प्रदेशको मुख्यमन्त्रीको प्रमुख दाबेदार रहेका तीन जनाले विजय हासिल गरेका छन्। जसमा माओवादी केन्द्रका दुई र नेपाली कांग्रेसका एक जना छन्।

नेपाली कांग्रेसबाट प्रदेश नम्बर ६ को मुख्यमन्त्रीका रुपमा हेरिएका जीवनबहादुर शाहीले वाम गठबन्धनका विजय भण्डारीलाई पराजित गर्दै हुम्लाको प्रदेशसभा ख बाट विजय प्राप्त गरे। उनले आफू यस प्रदेशको भावी मुख्यमन्त्रीको उम्मेदवारकै रुपमा मतदातासँग भोट मागेका थिए।

त्यसैगरी यो प्रदेशको मुख्यमन्त्रीको उम्मेदवारका रुपमा हेरिएका अर्का नेता हुन् वर्तमान सरकारका बिनाविभागीय मन्त्री महेन्द्रबहादुर शाही। माओवादी केन्द्रका नेता शाहीले पनि कालीकोटबाट प्रदेशसभा सदस्यमा विजय हासिल गरेका छन्। प्रदेशसभा ख बाट उम्मेदवार बनेका शाहीले १२ हजार तीय सय ५३ मत प्राप्त गरे।

यस्तै, माओवादी केन्द्रबाट प्रदेश ६ का मुख्यमन्त्रीको दाबी गर्दै आएका नरेश भण्डारीले पनि जित हात पारेका छन्। उनले १२ हजार पाँच सय ७४ मतसहित जुम्लाको प्रदेशसभा क बाट जित हात पारेका हुन्। नेकपा एमालेबाट मुख्यमन्त्रीको दाबेदारका रुपमा रहेका प्रकाश ज्वाला उम्मेदवार रहेको सल्यानको प्रदेशसभा ख को मतगणना जारी छ। उनी ३ हजार ३ सय ७ मतसहित अगाडि छन् भने उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डिल्लीराज रेग्मीले एक हजार ७ सय ४९ मतसहित पछ्याइरहेका छन्। त्यस्तै, एमालेबाटै मुख्यमन्त्रीको अर्का दाबेदार यामलाल कँडेल उम्मेदवार रहेको सुर्खेत क्षेत्र नम्बर २(क) को मतगणना भने सुरु भइसकेको छैन।

  • २३ मंसिर २०७४, शनिबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech