• १२ कार्तिक २०७७, बुधबार
कांग्रेसको पनि प्रतिनिधि हुँ, कांग्रेसलाई धोका दिन्नँ : बाबुराम
  • स्टुडियाे संवाददाता

नेपाली कांग्रेसको समर्थनमा गोरखा २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले यो संसद अवधिसम्म नेपाली कांग्रेस लाई धोका नदिने प्रष्ट पारेका छन्।

कम्युनिष्ट विचार छाडेको बताएपछि फेरि वाम गठबन्धनमा फर्केका र पुनः सो गठबन्धनबाट अलग्गिएकाले ढुलमुले चरित्र देखाएको आरोप लाग्ने गरेका भट्टराईले निर्वाचित भएको भोलिपल्ट आइतबार गोरखामा आयोजित धन्यवाद ज्ञापन तथा विजयसभामा चाहिँ आफूले ‘राजनीतिक धर्म’ पूरा गर्ने वचनबद्धता गरे।

‘एउटा राजनीतिक नैतिकता के हुन्छ भने यो संसदको अवधिसम्म हामीले सहकार्य गरी जानुपर्छ,’ उनले कांग्रेससँगको आफ्नो गठबन्धनबारे भने, ‘संयुक्त रुपमा विजयी भएर गएपछि महत्वपूर्ण विषयमा हामीले सहकार्य गर्नुपर्छ। यो राजनीतिक धर्म हो।’

आफू नेपाली कांग्रेसको पनि प्रतिनिधि भएको बताउँदै भट्टराईले ढुक्क रहन कांग्रेसलाई आग्रह गरेका छन्। जुनसुकै सरकार बनेपनि त्यो सरकारलाई गुणको आधारमा सहयोग, दोषको आधारमा असहयोग गर्ने उनले बताए।

भ्रष्टाचारजन्य गतिविधिमा मुछिएर गोरखाली जनताको शीर निहुराउने काम कहिल्यै नगर्ने उनले बताए। उनी भन्छन्, ‘म प्रत्येक महिना आफ्नो निर्वाचन क्षेत्र आउँछु, जनताको समस्या सुनेर समाधान गर्छु। समस्या सुन्न सम्पर्क कार्यालय खोल्छु, २४ सै घण्टा उपलब्ध हुने गरी हटलाइन सेवा राख्छु।’

  • २४ मंसिर २०७४, आईतवार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech