• ६ कार्तिक २०७७, बिहीबार
टिचिङको चार नम्बर फ्रिजमा, नन्दप्रसादको मृत शरीरले न्याय कुर्दै
  • स्टुडियाे संवाददाता

गंगामाया अधिकारी । नियतीले मात्र हैन, राज्यलेसमेत ठगेकी एक निर्दोष महिला । लाग्छ, आज उनलाई सहारा दिने यो संसारमा कोही छैन ।

उनी न्यायका लागि आफ्नो सुष्क, थकित र गलीत स्वरमा अझै पनि चिच्याइरहेकी छिन्, तर सत्ता र स्वार्थको राजनीतिको यो उतारचढावमा गंगामायाको न्यायको याचना ओझेलमा परिरहेको छ ।

पहिलेपहिले अधिकारी दम्पतीको पक्षमा आवाज चर्काउने मानवअधिकारबादी संगठन र स्वनामधन्य मानवअधिकारीकर्मीहरु पनि अचेल ठण्डाराम भएका छन् ।

वीर अस्पतालको एउटा कुनामा गंगामाया अझै पनि अनसनको कठोर दिनचर्याबाट गुज्रिरहेकी छन् । उनको दुःख देखेर सायद ढुँगो पनि पग्लियो होला, तर अधिकारवादी र यसवीचमा उदाउँदै अस्ताउँदै गरेका सबै अल्पायु सरकारको हृदय पग्लिएको देखिएको छैन ।

एसएलसीको रिजल्ट हेर्न भनि निस्किएको भर्खरको कलकलाउँदो छोरो बिनासित्ती मारियो । छोरालाई न्याय दिलाउन आफुसँगै आमरण अनशसन बसेका पति नन्दप्रसादको अनशनकै क्रममा प्राणपखेरु उड्यो ।

तर, उनले पतिको सद्गत गर्नसमेत पाइरहेकी छैनन् । पतिको शव शिक्षण अस्पतालको फ्रिजमा पोको पारेर राखिएको छ । एउटा लोकतान्त्रिक मुलुककोलागि यो लज्जाको विषय हुनुपर्ने हो । पुसको यो कठयांगिदो जाडोमा गंगामायाका चिसा आँखाहरुले सोधीरहेका छन्, एउटी महिलाप्रति राज्यको यो हदसम्मको अन्याय, निश्पृहता अनि अत्याचार कहिलेसम्म ?

जघन्य अपराध

गोरखाको भूजेल गाउँ–७ मा गंगामाया अधिकारीको एउटा सुन्दर सुखी परिवार थियो । पति नन्दप्रसाद अधिकारी र पुत्र कृष्णप्रसाद अधिकारीका साथ उनका दिनहरु बितिरहेकै थिए ।

मुलुकमा जारी माओवादी हिंशात्मक बिद्रोहसँग अधिकारी परिवारको कुनै नाता सम्बन्ध थिएन । उनीहरु आफ्नै कर्म बन्धनमा बाँधीएका थिए र जीवनरुपी डुंगा जसोतसो तार्ने मेलोमा लागिरहेका थिए ।

२०६१ साल असार १८ गते नन्दप्रसाद र गंगामाया दम्पतीको जीवनमा एउटा बज्रपात प¥यो । त्यो दिन एसएलसीको रिजल्ट आएको थियो । छोरा कृष्णप्रसाद एसएलसीको रिजल्ट हेर्न भनि चितवन पुगेका थिए । चितवनमा माओवादीहरुले कृष्णप्रसादको अकारण अपहरण गरे र केहीपछि हत्या नै गरे । खबर सुनेर अधिकारी दम्पती मर्माहत भए ।

भर्खर एलएलसी पास गर्न लागेको आफ्नो छोरालाई माओवादीले त्यसरी मार्नुपर्ने कुनै कारण उनीहरुले देखेनन् । बुझ्दै जाँदा ‘भूजेल गाउँकै कुनै कृष्णप्रसाद अधिकारी नामको व्यक्तिले माओवादीको सुराकी गरेको भन्ने रिपोर्ट आएकाले जनकार्वाही गर्ने क्रममा भुलबस अर्कै कृष्णप्रसाद अधिकारी परेको’ स्पष्टीकरण माओवादीले दियो । यसरी अनाहकमा एउटा युवा मारियो । त्यो एउटा जघन्य अपराध थियो । हत्याराहरुले सजाय पाउनैपथ्र्यो ।

राज्यको ज्यादती

शान्ति प्रकृया सुरु भएपछि आफ्नो छोरा बिनाकसुर मारिएकाले न्याय पाउँ भन्दै अधिकारी दम्पतीले आमरण अनशन सुरु गरे । तर न्याय दिनुको साटो उनीहरुलाई कहिले हिरासतमा त कहिले मानसीक अस्पतालमा समेत लगेर राखियो ।

गोर्खाकै नेता डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएको बेला उनीहरुले न्यायको आन्दोलन चर्काए । किनकी गोरखाकै जनताको समस्या समाधानमा गोरखाकै प्रधानमन्त्रीले विशेष पहल गर्लान् भन्ने उनीहरुको आश थियो ।

२०६९ साल पुस १६ गते तात्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराइलाई भेटी न्यायको याचना गर्न बालुवाटारस्थित प्रधानमन्त्री निवासमा उनीहरु पुगेका थिए ।

त्योबेला अधिकारी दम्पतीलाई गेटबाटै पक्राउ गरी ४९ दिनसम्म बिनाकसुर हिरासतमा राखेर छाडिएको थियो । हिरासतबाट छुटे लगत्तै सोही साल माघ २२ गतेबाट आमरण अनशनमा बसेका अधिकारी दम्पतीलाई तत्कालीन शासकहरुले त्यसपछि पनि विभिन्न मानसिक तथा शारीरिक यातना दिएका थिए ।

प्रहरीले उनीहरुलाई उठाएर थानकोटको भत्कीन लागेको खण्डहरजस्तो ठाउँमा लगेको थियो । अधिकारीले त्यहाँ बस्न नमानेपछि उनीहरुलाई वीर अस्पताल पु¥याइयो ।

वीर अस्पतालमा उनीहरुले गेटमै बसेर अनशन थाले । २०७० जेठ २९ मा उनीहरुलाई त्यहाँबाट पनि गिरफ्तार गरी लगनखेलस्थित मानसीक अस्पताल पु¥याइयो ।

मानसीक अस्पतालमा लहरै दुइवटा खाटमा अस्पताल प्रशासन र प्रहरीको कडा निगरानीमा राखियो । उनीहरुको नैसर्गिक अधिकारकोसमेत हनन गरी कसैसँग बोल्न र भेट्न नदिइ राखिएको थियो । त्योबेला अधिकारी दम्पती भन्थे, ‘हामीलाई यहाँ ल्याएर बन्दी बनाइएको छ । हाम्रो के कसुर थियो र हामीलाइ यहाँ ल्याएर थुनीयो ?’

स्वास्थ्य परीक्षण गर्दा अधिकारी दम्पतीलाई कुनै मानसीक समस्या नभएको स्पष्ट भयो । यसबाट राज्यले आफ्नो नागरीकलाई जबर्जस्ती पागल बनाउनसमेत पछि पर्दोरहेनछ भन्नेजस्तो खेदजनक अवस्था पनि देखियो ।

सद्धे मान्छेलाई पागल आरोपित गरेर राज्यले अपराध नै गरेको थियो । मानसीक रोग नभएको व्यक्तिलाई लामो समयसम्म अस्पतालमा राखिनु मानव अधिकारको उल्लंघन भएको मानव अधिकारबादी संघ संस्थाहरुले बताएका थिए ।

न्यायको अवसान

विस्तारै उनीहरुको शारीरिक अवस्था कमजोर हुँदैगयो । राज्यले उनीहरुको आवाजको कुनै सुनुवाइ गरेन । यस्तैमा एकदिन लोकतान्त्रिक मुलुकको मानवअधिकारमाथि गम्भीर प्रश्न खडा भयो । अनसनकै क्रममा मनमायाका पति नन्दप्रसादको निधन भयो । २०७१ साल असोज ६ गते नन्दप्रसाद बिते ।

उनको अवसान खासमा कानूनी राज्य , विधिको शासन र न्यायमूलक समाजका पक्षमा उनको शहादत थियो । यही कारण न्याय नपाउन्जेल गंगामायाले पतिको अन्तिम संस्कार पनि गरिनन् र आजका मितिसम्म पनि नन्दप्रसादको शव शिक्षण अस्पतालको डिप फ्रिजमा पोको पारेर राखिएको छ ।

प्रश्न उठछ, डिप फ्रिजमा नन्दप्रसादको शव सडीरहेको हो कि कानूनी राज्यको मूल्य मान्यता सडीरहेको हो ? नन्दरामको अवसान भएको हो कि विधिको शासन र न्यायको अवसान भएको हो ? के गंगामायाले आफ्नो पतिको सत्गत् गर्न कहिले पाउने ? के उनलाई त्यो अधिकार दिनसक्ने ल्याकत यो लोकतान्त्रिक गणतन्त्रात्मक शासनसँग छैन ?

मानवअधिकारवादीको अर्थपूर्ण मौनता

हालै डिसेम्बर १० मा विश्वभरी मनाईने मानवअधिकार दिवस काठमाडौंमा पनि मनाइयो । एम्नेस्टी इन्टरनेशनल,नेपाल मानव अधिकार संगठन,मानव अधिकार तथा शान्ति समाज,इन्सेक, सिविन, इन्हुरेडलगायतका मानव अधिकारवादी संस्थाहरुले मानवअधिकारका पक्षमा पाँचतारे होटलमा गोष्ठी, सेमीनार र कार्यशालाहरुको आयोजना गरे ।

तर ती कुनै पनि समारोहमा गंगामाया अधिकारीको मानवअधिकार हननको मुद्दा उठेन । कृष्ण पहाडी, सुवोध प्याकुरेल, चरण प्रसार्इं, गौरी प्रधान, कनकमणि दीक्षित, पदमरत्न तुलाधर जस्ता अधिकारवादी मुद्दामा सँधैं चनाखो देखिने अगुवाहरु पनि अधिकारी दम्पतिको अवस्थाबारे बोल्न थाके जस्ता देखिए । किन ? आखिर के हो कारण यो मौनताको ?

एकसेएक मानिएका मानवअधिकार क्षेत्रमा हस्तीहरुको यो मौनताको अर्थ समाजले खोजिरहेको छ । कुनैबेला अधिकारी दम्पतीको विषयलाई लिएर प्रधानमन्त्री निवासमा ब्यानर र प्ले कार्ड बोकेर उर्लने मानवअधिकारकर्मी पनि अचेल मौन छन् !

शासन, सत्ता र शक्तिमा रहेका मानिसहरुले अधिकारी दम्पतीका हत्यारालाई संरक्षण दिइरहँदा कतै ती मानवधिकारकर्मीहरुले पनि बलेको आगो तापीरहेका त हैनन् ? या उनीहरुलाई दाताहरुले अधिकारी दम्पत्तीको मुद्दा थाँती राख्न कान फुकेका पो छन् भन्ने जस्ता जिज्ञासा पनि अचेल सुन्न पाईन्छ !

चुनावमा काठमाडौंलाई स्मार्ट सिटि बनाउनेदेखि केरुङबाट रेल ल्याउनेसम्मका कुरा भए । तर, स्मार्ट सिटी बनाउने भनिएको काठमाडौंकै एउटा अस्पतालको कुनामा मृत्युसँग सँघर्ष गरीरहेकी गंगामायाको मुद्दालाई कसैले चुनावी मुद्दा पनि बनाएन ।

दलहरुको घोषणापत्रमा मानवअधिकार हननको यो मुद्दा समेटीएन । लोकतन्त्र र मानवअधिकारका पक्षमा बोलेर नथाक्नेहरुको मुखमा पनि अधिकारी दम्पतीको कुरा आउन छाड्यो ।

गंगामायाको पनि स्वास्थ्य अवस्था कमजोर भइसकेको छ । पति नन्दप्रसादको शव अस्पतालको चार नम्बर फ्रिजमा बरफ बनेर जमेकै चार वर्ष हुन लागिसक्यो, तर न्यायको मार्गमा जमेको हिउँका ढिक्का भने अझै फुटन सकेको छैन । जेसुकै होस्, गंगामाया अहिले पनि अनशनमै अडेकी छिन् । उनको आशा भने मरेको छैन ।

शिक्षण अस्पतालको चार नम्बर फ्रिजमा न्यायलाई बरफको ढिक्का बनाएर जमाएर राखिएको किन नहोस्, तर गंगामायाको एक्लो अडानको राप र तापले एकदिन पक्कै त्यो बरफ पग्लिनेछ र बाढी बनेर अन्याय, अत्याचार र अपराधका कसिँगरहरुलाई बगाएर लानेछ । मनमाया यही आशमा छिन् ।

सरल पत्रिकाबाट

  • ३ पुष २०७४, सोमबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech