• १३ कार्तिक २०७७, बिहीबार
सरकारको चेतावनी एमालेलाई : तेस्रो दलको सरकार बन्नसक्छ
  • स्टुडियाे संवाददाता

कम्युनिस्ट गठबन्धनले प्रेस सम्मेलन गरेर सरकारलाई चाँडोभन्दा चाँडो नयाँ सरकार आउन मार्ग प्रशस्त गरोस् भन्ने माग राखेको केही दिनमा नै सरकारका तर्फबाट सूचना तथा संचारमन्त्री मोहनबहादुर बस्नेतले पत्रकार सम्मेलन नै गरेर जवाफ फर्काएका छन् ।

हिजो सरकारका प्रवक्ता मन्त्री बस्नेतले नेपालको राजनीतिक इतिहासमा बारम्बार तेस्रो ठूलो दल सत्तामा पुगेको सम्झाएका छन् । ‘स्मरण रहोस्, देशमा संविधानअनुसार विगतमा संसद्मा तेस्रो स्थानमा रहेको दलको नेतृत्वमा पटक पटक सरकार गठन भएको इतिहास पनि सबैको मानसपटलमा ताजै छ,’ प्रवक्ता बस्नेतले भने ।

सरकारले गरेको पत्रकार सम्मेलनको मुख्य उद्देश्य सरकार कुनै पनि अवस्थामा राष्ट्रिय सभाको निर्वाचन सम्पन्न नगरीकन राजीनामा दिने मनःस्थितिमा छैन भनेर स्पष्ट पार्नु नै थियो । ‘विगतमा कानुनी प्रक्रिया पूरा नगरिदिएका कारण प्रधानमन्त्रीले राजीनामा दिइसकेपछि पनि ६÷६ महिनासम्म सरकार गठन हुन नसकेको नमिठो अनुभव पनि हामीले बेहोरेका छौं,’ मन्त्री बस्नेतले भने ।

एमालेलाई सरकारले चेतावनी दिएको कोणबाट नागरिक दैनिकले समाचार बनाएको छ भने कान्तिपुरले राष्ट्रपतिबाट राजनीतिमा नअल्झी चाँडो भन्दा चाँडो राष्ट्रिय सभाको निर्वाचनको अध्यादेश जारी गरिदिन मन्त्री बस्नेतले गरेको अनुरोधलाई समाचारमा महत्त्व दिएको छ ।

 

  • ५ पुष २०७४, बुधबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech