• १२ कार्तिक २०७७, बुधबार
कता जाँदैछ क्रिकेट, को हो अभिभावक ?
  • स्टुडियाे संवाददाता

क्रिकेट खेलका सफलता सम्बन्धी सबैभन्दा जानकार यदि कोहि छन् भने ती हुन् अस्ट्रेलियन। पाँच विश्वकप जितिसकेको सो राष्ट्रको कुनै बेलाको क्रिकेट टोलीलाई खेल जगतको इतिहासकै सर्वाेत्कृष्ट टोली मध्येमा राखिने गरिन्छ। क्रिकेट खेल्ने विभिन्न राष्ट्रहरु अस्ट्रेलियन क्रिकेट प्रणालीलाई आफ्नोमा लागु गर्न तत्पर रहेका पाइन्छ।

सन् २०१५ मा त्यहि निकायका एक हिस्सा,क्रिकेट अस्ट्रेलियाका तत्कालिन अध्यक्ष वेली एडवर्ड्स,आइसीसी ग्लोबल डेभेलप्मेन्टका टीम एन्डरसन्सँगै नेपाल आइपुगेका थिए। उनीहरुले नेपालमा क्रिकेटलाई व्यावसायिक ढंगले अगाडि बढाउने हो भने नेपालले क्रिकेटको पूर्वाधार निर्माण र सशक्त व्यवस्थापन तथा प्रशासनमा ध्यान पुर्याउनु पर्ने सुझाव दिएर गएका थिए। वेली एडवर्ड्सले भनेका थिए–‘क्रिकेट राष्ट्रको रुपमा सफल हुन त्यस देशमा निकै बलियो व्यवस्थापन तथा प्रशासनको आवश्यकता पर्छ। एउटा गुणस्तरीय निकायले खेल सँगसँगै आर्थिक पक्षलाई पनि राम्रोसँग लैजान्छ।’

नेपालले क्रिकेटमा सफलता हासिल गर्न अझ धेरै लामो दूरी तय गर्न बाँकी नै छ। यस्तोमा नेपाल एक सुदृढ क्रिकेट राष्ट्रको रुपमा खडा होस् भनी चाहने हो भने एडवर्ड्स र एन्डरसनले भनेका कुरालाई मनन् गर्नु जरुरी छ। साथै उनीहरुले भनेका कुरालाई उचित र सान्दर्भिक मान्ने हो भने नेपालले तत्कालै क्रिकेट खेलको व्यावस्थापकीय तथा प्रशासकीय अवस्था सुधार्न प्रणाली विकासमा ढिलासुस्ती नगरी केहि गरिहाल्नु पर्ने बेला आइसकेको छ।

आइसीसी र एकदिवसीय क्रिकेट लिग

सन् २०१६ मा क्रिकेटको सर्वोच्च निकाय आइसीसीले एउटा यस्तो कुरा उठाएको थियो जसले क्रिकेट जगतमा केहि हदसम्म चर्चा बटुल्यो। आइसीसीले उठाएको कुरा नयाँ एकदिवसीय क्रिकेट लिग सम्बन्धित थियो जसमा क्रिकेटका उत्कृष्ट १३ मुलुकले भाग लिने थिए। जसले एकदिवसीय क्रिकेटलाई नयाँ आधार र सन्दर्भ प्रदान गरिदिने थियो। १० टिमको कुरामा खासै विवाद थिएन किनभने टेस्ट मान्यता प्राप्त शीर्ष १० टिमहरु त्यसमा स्वतः सामेल हुने थिए तर बाँकी ३ टिमको कुरामा भने अफघानिस्तान र आयरल्याण्ड पछि नेपालको नाम लिइयो। हुन त नेपाललाई त्यसमा सामेल गर्ने कुरा एउटा विकल्पको रुपमा मात्र प्रस्तुत गरिएको थियो। जसलाई वरियताक्रममा रहेको तेह्रौँ टिमले विरोध गर्ने त स्वाभाविक नै थियो तर पनि आइसीसीले नेपालमा क्रिकेट खेलको लोकप्रियतालाई दृष्टिगत गर्दै नेपालको लागि त्यो स्थान सुरक्षित गर्न तत्पर रह्यो। तर त्यो कुरा अगाडी बढ्न नपाउँदै आइसीसीद्वारा सन् २०१६ तिरै नेपाली क्रिकेटको सर्वोच्च संस्था क्यानलाई आइसीसीको नियम उल्लंघन गरेको अभियोगको आधारमा सदस्यताबाट निलम्बन नै गर्नुपर्ने अवस्था सिर्जना भयो।

खै स्थायी संरचना

हालै आइसीसीको भावी टुर कार्यक्रम (FTP) लगभग सार्वजनिक भइसकेको छ। जस अन्तर्गत एकदिवसीय क्रिकेट लिगले मूर्त रुप पाउने भनिएको छ। उक्त लिगमा १३ वटै टिम सम्मिलित हुने भई हरेक टिमले २०२० र २०२२ को विचमा एकअर्कासँग प्रतियोगिताहरु खेल्ने भनिएको छ। त्यहि लिगको आधारमा २०२३ को विश्वकपको क्वालिफिकेसन् पनि तय हुने भनिएको छ। कुनै बेला आइसीसीले निकै समर्थन गरेको नेपाललाई अहिले ठाउँ दिइसकिएको छैन। आइसीसीको सदस्यताबाट क्यान अझै निलम्बित नै छ। नेपाली क्रिकेटको रेखदेख आइसीसीले गर्नुपरिरहेको छ। आइसीसी एकदिवसीय क्रिकेटको वरियताक्रममा नेपाल हालको अवस्थामा शीर्ष सोह्र भित्र पनि पर्दैन र खेल सुधारमा मात्र भएपनि ध्यान केन्द्रित गर्दै जान्छु भन्नको लागी नेपालसँग न स्थायी घरेलु क्रिकेट लिगको संरचना छ न कुनै राष्ट्रिय एकेडेमी नै।

तर यी सबैकुरालाई दोष र चर्चाको विषय नबनाई नेपाली क्रिकेटसँग सम्बन्धित आजका अख्तियारप्राप्त निकायहरु,संलग्न व्यक्तिहरु एवं सरोकारवालाहरु सबैले यसबाट पाठ मात्र सिक्नसके आगामी दिनहरु अवसर र सफलताका हुने छन् भन्ने कुरामा विवाद छैन। खुसीको कुरा त के छ भने,आजको दिनमा नेपालमा क्रिकेट खेलको लोकप्रियता जीवन्त नै छ। अझ भन्नेहोभने क्रिकेटको लोकप्रियता बढ्दो क्रममा छ। यहाँका केटाकेटीहरुमा समेत क्रिकेटप्रतिको रुची उल्लेखनीय रुपमा बढेको देखिन्छ। आज विश्वमा क्रिकेट नै एक उदाउँदो खेलको रुपमा प्रस्तुत हुँदै छ,जसले उत्कृष्ट भन्दा उत्कृष्ट प्रायोजकहरुलाई पनि आफूतर्फ आकर्षित गर्दैछ। क्रिकेट खेलेरै जीवन चलाउन तथा विश्वमा उच्च नाम र इज्जत बनाउन पनि सम्भव भएको छ। नेपालका प्राय सबै छिमेकी राष्ट्रहरु अब क्रिकेटमा एक स्थायी स्तम्भका रुपमा खडा हुँदैछन्। विश्वभरमा यो खेलको लोकप्रियताले कुनै बेलाको बेलायती साम्राज्यको सीमा नाग्दै छ।

यस्तोमा नेपालमा पनि एकिकृत रुपले सबैको समझदारी र सहकार्यको आधारमा नेपाली क्रिकेटको सुन्दर सपना देख्न र पुरा गर्न लागिपर्न थालियो भने चरणवद्ध रुपले त्यो सपना छोटो समयमा नै साकार हुने कुरामा हामी विश्वस्त हुन सक्छौँ। यसको निम्ति नेपालमा क्रिकेट खेलसँग सम्बन्धित अख्तियारप्राप्त निकायहरु,संलग्न व्यक्तिहरु एवं सरोकारवालाहरुबाट आज एउटा प्रमुख पक्षमा समझौता,समझदारी,सहकार्य र पहल हुनसके आउँदा दिनहरुमा खेलप्रतिको प्राविधिक लगायत विद्यमान कमीकमजोरीहरुको सुधारमा ध्यान केन्द्रित गरी एउटा दीगो तथा स्थिर प्रणाली विकासकासाथ अगिबढ्न सकिन्छ जसले अवश्य पनि सफलता तर्फ लैजानेनै छ। अख्तियारप्राप्त निकायहरु,संलग्न व्यक्तिहरु तथा सरोकारवालाहरुबाट के—के गर्न सकिन्छ लगायत आजको दिनमा तिनको जिम्मेवारी के हो भनेर हेर्नुपूर्व एकपल्ट खेल र खेलाडी विकासको निम्ति तत्काल प्रयोगमा ल्याइनुपर्ने एक दीगो र स्थायी संरचना तर्फ ध्यान केन्द्रित गर्न आवश्यक देखिन्छ ।

साधारणतः कुनै पनि खेलमा उत्कृष्टता हासिल गर्न दुई थरीका कुराहरु चाहिन्छन् : पहिलो त त्यस खेल सम्बन्धी नवीनतम प्रणालीबाट सही सामान्य प्राविधिक ज्ञान एवं सीप र दोस्रो मानवीय गुणहरु : साहस,आत्मविश्वास,विषयप्रतिको अत्यधिक लगाव,जित्ने एवं संघर्ष गरिरहने भोक र कठोर मानसिकता । हामी क्रिकेट होस् या अरु जुनसुकै खेलमा पनि सफलता हासिल गरेका व्यक्ति अथवा टोलीहरुलाई विश्लेशण गरी हेर्न सक्छौँ। उनीहरुमा यिनै गुणहरु पाइन्छ। नेपालमा पनि क्रिकेट खेलमा आकांक्षी बालबालिका,हरेक उमेर वर्गका राष्ट्रिय खेलाडी एवं व्यावसायिक क्रिकेट खेलाडीहरुका लागी माथि उल्लेखित पक्षहरु विकास गर्नको निम्ति Cricketing Home को रुपमा एक उचित वातावरण निर्माण गर्न सकिए उनीहरुको एवं नेपाली क्रिकेटको निम्ति त्यो नै सफलताको सबभन्दा उपयुक्त माध्यम हुने थियो। यो यथार्थ बुझेर,सन् २०१३ मा नेपालका तत्कालीन प्रशिक्षक पुबुदु दस्सानायकेको परिकल्पनाको रुपमा नेपाली क्रिकेटको सर्वोच्च निकाय क्यानद्वारा एक ‘नेसनल क्रिकेट एकेडेमी’को थालनी गरिएको थियो । सो एकेडेमीले विशेष प्रशिक्षण कार्यक्रमहरु सञ्चलान गर्ने सोच बनाएको थियो जसले टेकनिक,फिटनेस,शारीरिक अवस्था र प्रविधिको प्रयोगमा ध्यान पुर्याउने थियो।

अझ नियमित तालिम,पुनर्सुधार र मनोवैज्ञानिक काउन्सेलिङको माध्यमबाट नेपाली क्रिकेटका सुनौला दिनहरुको लागि पूर्वाधार तयार गर्न खोजिदै थियो। त्यसमा डाटा एवं भिडियो विश्लेषण जस्ता नवीनतम प्राविधिक प्रणालीको पनि व्यवस्था गरिने थियो। त्यस परियोजनामा राष्ट्रिय खेलकुद परिषदले पनि आफ्नो उत्सुकता जाहेर गरेको थियो। तर आजको दिनमा त्यहि एकेडेमीलाई नियालेर हेर्दा,त्यो एकेडेमीलाई क्रियाशील पाइँदैन। न त्यसमा केहि सुधार भएका छन् न त्यसले सोचे अनुरुप अगाडि बढेर आफूले दिनुपर्ने फल दिन सकिरहेको छ। तर फेरि,यो सन्दर्भमा पनि त्यस्तो दूरदर्शी परियोजना को—कस्का कारणले किन अगि बढ्न सकेन भनेर दोष खोजी विगतका घाउ कोट्याई वादविवाद गरेर केहि उपलब्धि हासिल हुनेछैन भन्ने कुरा स्वीकार्नु जरुरी छ।

सकारात्मक मनोवृत्ति सहित अख्तियारप्राप्त निकायहरु र सरोकारवालाहरु, अन्य संस्था एवं वुद्धिजीविको साथ,समर्थन र सहयोग लिई,एकिकृत भई,सँगै अगाडि बढेमा त्यस्तो एकेडेमीले नै नेपाललाई क्रिकेटको जगतमा थोरै समयमा नै स्तम्भको रुपमा खडा गरिदिन थाल्ने छ। किनभने त्यस एकेडेमीको परिकल्पनानै विश्व स्तरीय नेपाली क्रिकेट खेलाडी निर्माण गर्नुको सेरोफेरोमा घुमेको थियो।

यी कुरा गरेपश्चात,नेपालको सर्वोच्च क्रिकेट निकायको रुपमा स्थापित गरिएको क्यानप्रति विशेष ध्यानाकर्षण गर्नु जरुरी रहेको छ,किनभने एक सक्रिय, प्रभावशाली,जिम्मेवार क्रिकेट निकायविना त्यस्तो मजबूत एकेडेमी निर्माण हुने र यदि निर्माण भए भने पनि दीगो हुने देखिँदैन। एकेडेमीको कुरा बाहेक,मुलुकमा क्रिकेट खेलको विकास,लोकप्रियताको निम्ति बजार—व्यावस्थापन,व्यावसायीकरण एवं अन्तराष्ट्रिय सहकार्य विकासका निम्ति पनि क्रिकेट खेलको विशेष र सर्वोच्च निकाय अपरिहार्य रहन्छ। नेपालमा त्यस्तै निकायको रुपमा सन् १९५६ मा नै क्रिकेट असोसियसन् अफ नेपाल (क्यान) को स्थापना गरिएको थियो। जसले सन् १९८८ मा विश्व क्रिकेटको सर्वोच्च निकाय आइसीसीको अफिलियट सदस्यता पाएको थियो भने सन् १९९६ मा असोसियट सदस्यता पाएको थियो। तर त्यहि निकाय हालका दिनहरुमा आइसीसीको सदस्यताबाट निलम्बित अवस्थामा छ।

आइसीसीले क्यानलाई निलम्बन गर्नु पछाडिको कारण उसको नियम उल्लंघन हो भनी बताएको थियो जस अनुसार कुनै पनि राष्ट्रको क्रिकेटको सर्वोच्च निकायमा सरकारी हस्तक्षेप हुन पाउदैँन र निकायको पद वहालीमा स्वतन्त्र र निस्पक्ष चुनाव हुनुपर्दछ। थप आइसीसीले नेपाली क्रिकेटको व्यवस्थापनलाई असमर्थको संज्ञा पनि दिएको थियो। क्यान यिनै नियमावलीको भित्र बस्ननसकेको हुनाले र उसले आइसीसीको सामू एक सामर्थ भएको निकायको रुपमा आफूलाई प्रस्तुत गर्न नसकेको हुनाले नै आइसीसी असन्तुष्ट भएको थियो। ऊ नेपाली क्रिकेटमा आफ्ना भावी सोच र योजना हुँदाका बावजूद क्यानलाई निलम्बन गर्न बाध्य भएको थियो। निलम्बनको सम्बन्धमा यहाँ नेपालभित्र भने अनेक विवादहरु भए,अनेक वाहनाहरु बनाइए तर कारण जे भएपनि,हाल नेपाली क्रिकेटको सर्वोच्च निकाय निलम्बित अवस्थामा नै छ र अबको पहलमा अख्तियारी प्राप्त निकायहरुः सरकार,युवा तथा खेलकुद मन्त्रालय र मुख्य जिम्मेवारी गहनकर्ता राष्ट्रिय खेलकुद परिषद। संलग्न व्यक्तिहरु तथा सरोकारवालाहरु केहि समझौता,केहि वलिदान सहित संयुक्त र सशक्त भई अगि बढ्न जरुरी रहेको छ।

विदेशी निकायहरु त नेपालमा क्रिकेटबाट उच्च सम्भावना देखेर केहि गर्न अग्रसर हुँदा,स्वदेश भित्रका हामीहरुले एकजुट भई ति कुराहरुलाई दृष्टिगत अथवा तिनको विकासमा पहल गर्न नसके हामी सबैमा असफलताको छाप लाग्नु हो। सम्झौता र सहमतिको माध्यमद्वारा अगि बढ्न नसकिएको खण्डमा अख्तियारप्राप्त निकायहरुसँग नयाँ संरचना सहितको,वादविवादविहिन,क्रिकेट खेलको विभिन्न पक्षमा संलग्न भएका व्यक्तिहरुको नेतृत्व भएको क्रिकेटको नयाँ सर्वोच्च निकाय स्थापना गर्ने विकल्प त छँदै छ।

कुनैपनि अन्तर्राष्ट्रिय मामिला सम्मिलित संयुक्त मुद्दामा अन्तर्राष्ट्रिय मापदण्ड पुर्याउनु पर्दछ। क्रिकेटको सन्दर्भमा पनि यहि लागु हुन्छ। सो मापदण्डभित्र नरहिएको खण्डमा अन्तर्राष्ट्रिय सदस्यता तथा पहिचान गुम्न धेरै समय लाग्दैन,जसको उदाहरण हामीले देखी र भोगी पनि सक्यौँ। अब,नेपालमा तत्कालै आइसीसीको मापदण्ड बमोजिमको एक निकायको आवश्यकता परेको छ जुन स्थापना गर्ने उत्तरदायित्व कुनै हदसम्म माथि उल्लेखित अख्तियावालाहरुको काँधमा आइपुगेको छ। माथि भनिए झैँ,नेपाली क्रिकेट र क्रिकेटमा नै पनि खुसी हुनुपर्ने कुराहरु थुप्रै छन्। छिमेकी राष्ट्रहरुको सफलतालाई आत्मसात गरेर उनीहरुबाट सक्दो सहयोग लिन सकिए त्यो पनि राम्रै बाटो रोजिएको हो भन्ने बुझ्नुपर्दछ। तर ती सब कुराहरु गर्नु पूर्व,क्रिकेटको माध्यमबाटै सपना बुन्न थालेका बालबालिका तथा खेलाडीहरुलाई ध्यानमा राख्दै,नेपालमा क्रिकेट खेलप्रतिको लोकप्रियतालाई सुनौलो अवसरको रुपमा दृष्टिगत गर्दै,आइसीसीको सामान्य मापदण्ड अनुसार नै अग्रसर हुने एक जिम्मेवार,प्रभावशाली एवं सर्वोच्च निकायले तत्कालै मूर्त रुप प्राप्त गर्नुपर्दछ। उचित समझदारी हुन नसकेको खण्डमा त्यस्तो निकाय स्थापना गर्ने जिम्मेवारी माथि उल्लेखित अख्तियावालाहरुको नै हुन आउँछ।

क्रिकेटले हासिल गरेको विश्वव्यापी लोकप्रियताको लहर यता नेपालमा पनि आउँदै छ र त्यहि लहरले नै विभिन्न निजी निकाय तथा संस्थाहरुलाई क्रिकेट आकांक्षीको आकांक्षालाई च्याप्प समातेर केहि बिकास गराउन अग्रसर पारी हाल्ने नै छ। बाहिरका क्रिकेटका निकायहरु समर्थन गर्न र सहयोग पुर्याउन आतुर छँदै छन्। खेलाडीहरुसँग पनि आफ्नो प्रतिभा विकास गर्दे लगेर विदेशका व्यावसायिक लिगहरु मार्फत आफ्नो र मुलुकको नाम उज्जवल गर्न मिल्ने मौका छँदै छ। यस्तोमा अप्ठेरोको वातावरण हुनु हुँदैन,समर्थन जुट्नु पर्दछ,यस्ता राष्ट्रिय सरोकारका योजनाहरुमा रोकावट हुनु हुँदैन।

माथिल्लो तहको अगुवाईमा तत्कालै यति कुरामा ध्यान पुराइए सबैलाई साझा रुपले अगि बढ्न सजिलो हुनेछ,समय थोरै लाग्नेछ र शक्ति झनै जुट्ने छ जसपश्वात नेपाली क्रिकेट चुपचाप आफ्नो बाटो लाग्नेछ : एकदिवसीय मान्यता,विश्वकप हुँदै आउँदो केहि साल भित्रै नेपाललाई आइसीसीको टेस्ट मान्यता प्राप्त मुलुकसम्म पुर्याउने बाटो !

(आदेश आचार्य तथा सुशील कोइराला मेमोरियल फाउन्डेसन टीमद्वारा तयार पारिएको सामग्री।)

सरल पत्रिकाबाट

  • ५ पुष २०७४, बुधबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech