ललितपुर क्षेत्र नम्बर- १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद नवराज सिलवालविरुद्ध सरकारी कागजात कीर्ते अभियोगमा नेपाल प्रहरीले पक्राउ आदेश जारी गरेको छ।
पूर्व प्रहरी नायव महानिरीक्षक (डीआईजी) समेत रहेका सिलवालले डीआईजीबाट बढुवा हुने क्रममा कार्यसम्पादन मूल्यांकन (कासमु)को नम्बर कीर्ते गरी सर्वोच्च अदालतमा पेस गरेको अभियोग सर्वोच्च अदालतमा दर्ता भएको थियो।
उक्त मुद्दामा प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीसहित न्यायाधीशहरू ओमप्रकाश मिश्र, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे, मीरा खड्का, प्रकाशमानसिंह राउत र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले सिलवालले कीर्ते गरेको फैसला गरेको थियो। उक्त फैसलाको पूर्ण पाठ बिहीबार जारी गर्दै कासमु कीर्ते प्रकरणमा दोषीमाथि कारवाही गर्न सरकारलाई सर्वोच्च अदालतले आदेश दिएको थियो।
सर्वोच्चको आदेशबमोजिम महानगरीय प्रहरी परिसर काठमाडौंले सिलवालविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गराएको परिसर प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक रवीन्द्र धानुकले जानकारी दिए। यससँगै सिलवाल फरार अभियुक्तको सूचीमा परेका छन्। मुद्दा दर्तासँगै उनको सांसद पद पनि निलम्बनमा परेको छ।