राजपा नेपालका नेता रेशमलाल चौधरी सांसद बन्नबाट बञ्चित हुने भएका छन् । उनी कैलाली १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।
टिकापुर घटनाकाे मूख्य आरोपित चौधरी प्रहरीकाे ‘मोस्ट वान्टेट’ सूचीकाे खोजीमा छन् । उनी हाल फरार छन् । वारेसनामा मार्फत मनोनयन दर्ता गरी चुनाव जितेका चौधरीलाई सर्वोच्चको फैसलाले सांसद बन्नबाट राेक्नुका साथै पक्राउ गरी अदालतमा पेश गर्न अादेश दियाे ।
विजयी प्रमाणपत्र पनि वारेसमार्फत पाउनु पर्ने माग दाबी गर्दै उनकी श्रीमति सर्वोच्च पुगेकी थिइन् । तर, उनको रिट सर्वोच्च प्रशासनले दरपीठ गरिदिएको थियो ।
दरपीठ विरुद्ध परेको निवेदन बारे न्यायाधीश टंकबहादुर मोक्तानको इजलासले फैसलाले रजिष्टारको निर्णय सदर गरेको हो ।
फैसलामा फरार अभियुक्तलाई जुन सुकैबेला पक्राउ गरी अदालतमा उपस्थित गराउन पनि सम्वन्धित निकायलाई सचेत गराएको छ ।
अभियोग लागेका व्यक्तिले कानुन बमोजिम सफाइ लिनुपर्ने कानुनी प्रावधान भएता पनि चौधरीले त्यसो गरेको नपाइएको सर्वोच्चको फैसलामा उल्लेख छ ।