लामो समयदेखि रानी पोखरी खाली गरेर थालिएको पुनर्निर्माण पुरानो शैलीबाट गर्दा पानी नअट्ने भन्दै सिमेन्ट प्रयोग गर्ने प्रक्रिया सुरु गरेपछि विवाद निम्तिएको छ । रानीपोखरीमा कंक्रिट प्रयोग गर्ने प्रक्रिया काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको निर्देशनमा भएको हो ।
त्यसपछि रानीपोखरी संरक्षण अभियान भन्दै केही अभियन्ताहरु विरोधमा उत्रिए । विवाद अहिले महानगरपालिकाका मेयर शाक्य र उपमेयर हरिप्रभा खड्गीबीच नै चर्किएको छ । भित्रभित्रै चलेको विवाद अहिले सतहमा देखिएको छ ।
पुरातात्विक महत्वको सम्पदामा हानी पुगेको भन्दै उपमेयर खड्गीले रानीपोखरी निर्माणस्थलमा ताला नै लगाइदिइन् । मंगलबार बिहान रानीपोखरीको स्थलगत अवलोकन गरेकी उनले पुरातात्वको स्वकृतिबिना काम अघि बढेको रहेछ भन्दै तत्काललाई काम रोक्न ताला लगाएकी थिइन्। खड्गीसँगै पुगेका केही अभियन्ताहरुले उनकै निर्देशनमा ताला ठोकेका हुन् ।
‘पुरातत्विक महत्वको सम्पदामा हानी पुगेको सुरुमा हामीलाई थाहा भएन। यो विषयमा म मेयरजीसँग कुरा गर्छु अहिलेलाई काम रोकौं’, उनले सञ्चारकर्मीसँग भनिन् ।
तर, बिहान उपमेयर खड्गीले लगाएको रड दिउँसो रानीपोखरी पुगेर मेयर शाक्यले तोडेका छन्। उनी रड खोलेर भित्र प्रवेश गरे ।
उनले रानीपोखरी पुनःनिर्माणको सम्झौता आफू मेयर भएर आउनुअघि नै भएको भन्दै काम जसरी पनि अगाडि बढाइने दाबी गरे ।
महानगरले १० करोड लागतमा रानीपोखरी पुनर्निर्माण गर्ने योजना बनाएको छ। कंक्रिट पर्खालबाहेक महानगरको योजनामा यहाँ कफी पसल, बगैँचा र ‘म्यूजिकल वाटर फाउन्टेन’ बनाइनेछ।
३५० वर्ष पुरानो रानीपोखरी पुनर्निर्माण पुरानै शैलीमा हुनुपर्ने सम्पदा र वास्तुविद्हरुको माग छ।