सप्तरीका जनप्रतिनिधिहरुले आफूहरु असुरक्षित महसुस गर्न थालेको भन्दै प्रदेश र संघीय सरकारसँग सुरक्षा माग गरेका छन् ।
जनप्रतिनिधिहरुले बलान-बिहुल गाउँपालिकाका अध्यक्ष दयानन्द गोइतको घरमा बम बिष्फोटको निन्दा गरेका छन् । घटनापछि नगरपालिका प्रमुख र गाउँपालिका अध्यक्षहरुले शनिबार संयुक्त पत्रकार सम्मेलन गरी सुरक्षाको वातावरण बनाइदिन माग गरेका छन् ।
जिल्ला समन्वय समितिका सभापति प्रभाकर यादवले घट्नाको भत्र्सना गर्दै दोषीलाई कार्वाहीको माग गरे ।उनले सुरक्षा व्यवस्था कमजोर भएकै कारण यस्तो घटनाहरु भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराए । ‘जनताहरुको कामका लागि जतिखेर पनि हिँड्ने गरेको छु, यस्तो अवस्थामा कसरी हिँड्न सकिन्छ ?’ राजविराज नगरपालिकाका प्रमुख शम्भु यादवले भने, ‘सुरक्षाको वातावरण बनाइदिनु जरुरी छ ।’
तिलाठी-कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिश सिंहले जनप्रतिनिधिले गल्ती गरेको नाममा परिवारलाई लक्षित गर्दै बम बिष्फोट गराउनु दुःखद भएको बताए ।
रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादवले यस्ता घटनाले आफूहरुको मनोवल गिर्ने बताए । ‘राम्रो काम गरेपनि विपक्षीहरु पछि लागेकै छन्, अख्तियार र अदालतमा पत्र पठाउँदा पठाउँदा हैरान भएको छु’ अध्यक्ष यादवले भने, ‘अब सुरक्षा पनि नभए कसरी काम गर्ने ?’
तिरहुत गाउँपालिकाका अध्यक्ष मनोज बहरखेर यादवले जनप्रतिनिधिको सुरक्षालाई प्रदेश र संघीय सरकारले गम्भीरतापूर्वक लिनुपर्ने बताए ।