सत्तासझेदार दल राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आफ्नो पदीय हैसियत विपरितका गतिविधि गर्दै आएको भन्दै आलोचना गरेको छ ।
मुख्यमन्त्री राउत निजी बैंकका शाखाहरू उद्घाटन गर्न हिँडेपछि राजपा नेपालले विरोध गरेको हो । राजपा नेपालका नेता एवम् प्रदेश सांसद मनीष सुमनले मुख्यमन्त्री राउत र मन्त्रीहरूले भाङ खाएर शासन सत्ता चलाएको आरोप लगाएका छन् ।
नेपाली रेडियो नेटवर्कमा सोमबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै सुमनले प्रदेश २ का मुख्यमन्त्रीले एकपछि अर्को गल्तीहरू गर्दै आएको बताए ।
उनले मुख्यमन्त्री र मन्त्रीहरूलाई जिम्मेवार बनेर काम गर्न सुझाव दिए ।
मुख्यमन्त्री राउतको सरकारले प्रदेश संसदमा प्रेसलाई नियन्त्रण गर्न ल्याएको मिडिया काउन्सिल विधेयक फिर्ता गर्न सुझाव दिए ।
‘मुख्यमन्त्री राउतले बैंकको शाखा खोल्दै हिँडु हुन्छ । एकपछि अर्को गल्ती गर्दै आउनु भएको छ । आलोचना हुँदा माफी मागेर निर्णय फिर्ता गरिन्छ’, उनले भने, ‘प्रदेश २ को सरकार मुख्यमन्त्री र मन्त्रीहरूले भाङ खाएर चलाएका छन् ?
सरकारमा रहेका हाम्रो पार्टीका मन्त्रीहरू पनि सुतेर बसेका छन् । यसबारेमा पार्टीभित्र हिसाव किताव खोजी हुनेछ ।’
केन्द्र सरकारको दवावमा प्रदेश २ को सरकार निरिह बनेको राजपा नेपालका नेता सुमनले आरोप लगाए ।(दैनिक नेपालमा प्रकाशित )