सरकारले देशकै पुरानो अस्पताल वीर अस्पताललाई कोभिड विशेष अस्पताल बनाएको छ ।
देशभरका विरामी उपचार गर्न आउने यस अस्पतालमा अब कोरोना संक्रमितको मात्र उपचार गरिन्छ । अन्य रोगको उपचार गर्न आउनेलाई नजिकैको राष्ट्रिय ट्रमा सेन्टरमा पठाउने सरकारको योजना छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इन्सिडेन्ट कमान्ड सिस्टमको आइतबारको बैठकले वीरलाई कोरोना विशेष अस्पताल बनाउने निर्णय गरेको प्रवक्ता डा. जागेश्वर गौतमले मिडिया ब्रिफिङमा जानकारी दिए ।
वीर अस्पतालका निर्देशक डा. केदार सेञ्चुरीका अनुसार वीर अस्पतालले अब कोरोना संक्रमितबाहेक अन्य रोगका बिरामीको भर्ना लिने छैन । तर अहिले उपचाररत बिरामी निको भएर डिस्चार्ज नहुँदासम्म अन्यत्र सारिने छैन । ‘१७० जना बिरामी अन्य रोगको उपचार गराइरहेका छन्, उनीहरुलाई अहिले नै सार्न सम्भव छैन’ डा. सेञ्चुरीले भने । राष्ट्रिय ट्रमा सेन्टरमा यी बिरामी अटाउने ठाउँ नभएकाले सार्न नसकिने उनले बताए ।