पाठकको मन नै मेरा लागि ब्रम्हाण्ड हो: नयनराज पाण्डे

आधा दर्जनभन्दा बढी उपन्यासका लेखक नयनराज पाण्डे समकालीन नेपाली साहित्यमा तरार्इ मधेशका विषयमा लेख्ने आख्यानकारका रुपमा परिचित छन्। उनका ‘उलार‘, ‘लू’, ‘सल्लीपिर’ पाठकले राम्रै रुचाएका उपन्यास हुन भने ‘निदाएँ जगदम्बा’ र ‘चकलेट’ कथा संग्रह पनि पाठकको रोजाइमा परेका कृति हुन्। सामाजिक विकृति र विसंगतिको कारुणीय प्रस्तुति दिने पाण्डेका कृतिहरुमा तल्लो वर्गका मानिसका कथा र त्यसै अनुरुपका पात्रहरुको प्रयोग भेट्न सकिन्छ। आख्यानमा राम्रो परिचय बनाएका पाण्डेको शनिबार संस्मरणात्मक कृति ‘यार’ सार्वजनिक भएको छ। लेखक पाण्डेसँग उनका कृति र लेखनधारामाथि गरेको वार्ताः

यार किन र कसका लागि लेख्नु भो?
मैले जीवनमा धेरै मित्रहरु कमाएको छु। धेरैसँग घनिष्ठ सम्बन्ध रह्यो। ती सम्बन्धहरुमा धेरै उतारचढाव आए। कहिले सुमधुर भए, कहिले पीडादायक। मलाई लाग्यो अब मैले ती मित्रता र त्यसबाट निर्माण भएका सहज या जटिल कुराहरुका बारेमा लेख्नैपर्छ। मित्रहरुका कुरामार्फत् यारमा मैले आफूलाई उधिन्ने र आफ्ना कमजोरीलाई बुझ्ने मौका पनि पाएँ।

आख्यानमा रमाइरहेको मान्छे, एकाएक संस्मरणतर्फ किन आउनु भो?
इमान्दार भएर आफ्ना कुराहरु लेख्नु निकै चुनौतीपूर्ण काम हो। यसपटक त्यही चुनौतीको सामना गर्न मन लाग्यो। जोखिम मोल्न र चुनौती स्वीकार गर्नमा मलाई बहुतै मजा आउँछ।

तपाईं अन्य क्षेत्रमा नलागेर लेखनमै किन लाग्नुभयो?
लेखनमा जति आनन्दको अनुभव मैले अन्य काममा गरिनँ। आनन्दका लागि मान्छे कहाँ कहाँ भौंतारिन्छ? म कोठामै बसेर र साहित्य लेखेरै पढेरै आनन्द अनुभव गर्न सक्छु भने मेरा लागि यो भन्दा राम्रो अवसर के नै हुनसक्थ्यो र? म त्यही अवसरको भरपूर उपयोग गरिरहेको छु।

तपाईंका आख्यानमा मधेस सशक्त रुपमा आएको हुन्छ। अबको लेखनमा मधेस अउँछ कि आउँदैन?
हो मेरो लेखनमा मधेस अएको छ र अब पनि लेख्छु। प्रशस्त लेख्छु। अबको उपन्यास तराई मधेशकै परिवेशको हुनेछ।

साहित्यमा तपाईं आफुलार्इ कुन स्थानमा उभ्याउनु हुन्छ?
त्यो मेरो सरोकारको विषय होइन। मलाई केही कुरा भन्नु छ, त्यसैले म साहित्यमा लागें। मलाई आफ्नै गाउँठाउँको कुरा लेख्नुछ। अरुलाई बुझाउनु छ। थोरै पाठकहरुको मनमा स्थान बनाउन पाए पुग्यो। मेरा लागि पाठकको मन नै ब्रम्हाण्ड हो।

तपाईं कविता पनि लेखिरहनु हुन्छ तर आफुलार्इ कविता सार्वजनिक गर्न डराउने व्यक्ति भन्नुहुन्छ, आख्यान र कविताबीचको दूरी यति फराकिले छ?
कविता साहित्यको आमा विधा हो। म कवि हुने दावी गर्न हैन, आमाको सम्मान गर्न कहिलेकाहीँ कविता लेख्छु। आख्यान लेख्दा जबजब म अप्ठ्यारो चरणमा पुग्छु, त्यतिबेला कविता पढ्न या लेख्न मन पराउँछु। तर, कविता गहन साधनाबाट निस्कने कुरा हो । कवि हुनलाई मेरो साधनाले पुग्दैन। कविता र आख्यानबीच दूरीको त म कल्पना पनि गर्दिनँ। समग्र साहित्यको उत्थानमा सबै विधाको उत्तिकै महत्व हुन्छ। सबै विधालाई जोड्ने पूल भनेकै कल्पनाशीलता र सिर्जनात्मकता हो। कल्पनाशीलता र सिर्जनात्मकता रहुन्जेल सबै विधाबीच घनिष्ठ सम्बन्ध रही नै रहन्छ।

तपार्इ लेखनलाई लडाइँसँग तुलना गर्नुहुन्छ। तर तपाईंका आख्यानका पात्र सँधै निरीह हुन्छन्, आलोचक हुँदैनन्। पात्र निरिह हुनु भनेको लड्ने हतियार कमजोर हुनु होइन र?
मेरा पात्रहरुको निरीहता नै प्रश्न हो। उनीहरु किन निरीह भए र कसले निरीह बनायो उनीहरुलाई? पाठकको मनमा यस्ता प्रश्न जन्माउने तिनै पात्रहरु त हुन्। तर, मेरा पात्रहरु निरीह मात्र छन् र उनीहरु भित्र विद्रोहचेत छैन भन्ने कुरा म स्वीकार गर्दिनँ। उलारको प्रेमललवाले अन्त्यमा आफ्नो स्तरको विद्रोह त गर्छ नि। लूको इलैयाले के विद्रोह गरेको छैन र? पात्रहरुको निर्माणमा त्यति हेक्का त म पनि राख्छु।

लेखनलार्इ शक्तिशाली विचार र शैलीशिल्पले बनाउँछ कि विषय र पात्रले?
मेरा लागि विषय सबैभन्दा महत्वपूर्ण कुरो हो। ती विषयलाई धान्ने पात्रहरु त्यत्तिकै बलशाली हुनुपर्छ। तर, विषय र चरित्रलाई प्रस्तुत गर्ने शैली या शिल्प बलशाली भएन भने जति नै महत्व दिएका विषय र चरित्र भए पनि तिनले अपेक्षित किसिमले पाठकको मन मस्तिष्कलाई प्रभावित गर्दैनन्। सबै वास्तविक कुराहरु कथा बन्न सक्दैनन्। ती अखबारका फिचर बन्न सक्छन्। कथालाई फिचरबाट छुट्याउने त त्यसभित्र बुनिएका चरित्र र त्यसलाई प्रस्तुत गरिने शिल्पले नै हो। नत्र कथा त अखबारमा हरेक दिन प्रकाशित भैरहन्छन्।

मधेसको विषयमा दक्षता हुँदाहुँदै सल्लीपिर उपन्यास मार्फत आफ्नो लेखनलार्इ हिमाली भू–भागमा लैजानुभयो। किन?
खै, तपाईंले कसरी बुझ्नु भयो मलाई थाहा भएन। लेखनमा मेरो निजी विचार किन चाहियो? अरुका दुःख मेरा दुःख हुन्। अरुका सरोकार मेरा सरोकार हुन्। तपाईंले यस्तो भन्नु भयो मानौँ हिमाली क्षेत्रका कुरा लेखेर मैले साहित्य क्षेत्रमा गम्भीर अपराध गरें। तर, म लेखनमा अपराध गरिरहन रुचाउँछु। त्यसैले सायद तपाईंको मसित यस्तो गुनासो सधैं कायम रहने छ।

यारुपछिको कृति कस्तो हुनेछ र कहिले सार्वजनिक हुनेछ?
सम्भवतः आख्यान नै हुनेछ। तिथिमिति भने तय भएको छैन।

तपार्इंलार्इ केही समीक्षक र समालोचकहरुले पात्रका दुःख र करुणा बेच्ने लेखक पनि भन्छन् नि?
समाजको दुःख नदेख्ने त नालायक हुन्छ। मलाई नालायक हुनु छैन। भन्नेहरुको कुरा सुन्छु र धन्यवाद भन्छु। चेतनाको स्तर बुझिसकेपछि बहस गर्ने झन्झट गरिरहनु हुँदैन किनभने समाजमा कुरा बुझ्नेहरु पनि हुन्छन् र मेरो सरोकार र संवाद तिनीहरुसितै हो।

तपार्इंको लेखनले देशमा केही परिवर्तन भयो जस्तो लाग्छ?
मेरो लेखन सिटामोल होइन। खायो कि असर गर्यो। लेखनले ब्यक्तिको चेतनालाई परिवर्तन गर्ने हो। देश त राजनीतिले परिवर्तन गर्दैगर्ला।

प्रकाशित मिति :- १ माघ २०७४, सोमबार ०८:२८