प्रचण्डको हरेक कपाल एन्टेना हो, पार्टी एकीकरण गर्दैनन्

नेपाली राजनीतिमा सर्वाधिक चलाख र धूर्त नेता को हुन् ? पुष्पकमल दाहाल प्रचण्ड हुन् । आफ्नो संसदीय राजनीतिक जीवनको सर्वाधिक पेचिलो खेलमा मैदानमा उत्रन लागेका छन् । राष्ट्रिय सभा चुनाव सकिनासाथ सत्ताको खेल औपचारिक रुपमा सुरु हुनेछ । त्यो खेलमा प्रचण्डको क्षमता परीक्षा हुनेछ, उनले केपी ओलीसँग भिड्नुछ ।

अब सत्ताको खेलमा मुख्य दुई प्रतिस्पर्धी हुनेछन् प्रचण्ड र ओली । राजनीतिको खेल सरल हुँदैन, झन् सत्ताको खेल बक्र रेखाबाट चल्छ र बक्र राजनीतिका माहिर खेलाडी हुन् प्रचण्ड ।

‘प्रचण्डको टाउकाको हरेक कपाल एन्टेना हो, हरेक कपालले सूचना लिन्छ अनि विश्लेषण गर्छ’, माओवादी केन्द्रका नेता महेश्वर दाहालको भनाई हो यो । प्रचण्डलाई निकटबाट र निक्कै भित्रबाट चिनेका महेश्वरको टिप्पणी अर्थपूर्ण छ ।

माओवादी र एमालेबीच एकीकरण हुन्छ या हुँदैन ? प्रचण्डले प्रधानमन्त्री बन्न केपी ओलीलाई समर्थन गर्छन् या गर्दैनन् ? अहिले सर्वाधिक सोधिने यी दुई प्रश्नको जवाफ मुख्य रुपमा प्रचण्डको सेरोफेरोमा खोजिनुपर्छ ।

नेपाली राजनीतिका मुख्य पात्रहरु उपर श्रृङ्खलावद्ध आलेख लेख्ने क्रममा यो मेरो पहिलो आलेख हो । यो आलेख प्रचण्ड उपर केन्द्रीत छ । यसपछिका आलेखहरुमा केपी ओली, शेरबहादुर देउवा लगायतका मुख्य पात्रहरुका बारेमा क्रमशः विश्लेषण गरिनेछ ।

माओवादी नेता महेश्वरले प्रचण्डको प्रशंसा गर्दै यो पंक्तिकारसँग अनौपचारिक रुपमा यो पनि भनेका थिए– ‘प्रचण्डले हार्न जानेका छैनन्, हारे भने त्यही हारलाई जितमा परिणत गर्ने क्षमता राख्छन् ।’ रमाइलो त के भने जतिबेला महेश्वरले यो टिप्पणी गरेका थिए त्यसबेला उनी मोहन वैद्य नेतृत्वको पार्टी अर्थात् प्रचण्ड विरोधी कित्तामा थिए ।

हार्न नजानेका प्रचण्ड

प्रचण्डको करियर हेर्दा उनमा हारलाई जितमा परिणत गर्ने विलक्षण खुबी देखिन्छ । यो खुबीको आलोकमा विमर्श गर्दा के देखिन्छ ? प्रचण्डले पार्टी एकीकरण गर्छन् या गर्दैनन् ? ओलीलाई प्रधानमन्त्री बन्न समर्थन गर्छन् या गर्दैनन् ? यी दुई प्रश्नको जवाफ तल क्रमशः खोज्दै जाउँला ।

०४८ को चुनावमा प्रचण्डको पार्टी निकै सानो तेस्रो बन्यो, एमाले दोस्रो भयो । कम्युनिष्टको रीस कम्युनिष्टसँग अलि बढि नै हुने युग थियो त्यो । प्रचण्डको प्रत्यक्ष नेतृत्वको एकता केन्द्र र भित्री नेतृत्वको संयुक्त जनमोर्चाको रीसडाहा एमालेप्रति छताछुल्ल देखिन्थ्यो । तेस्रो भएकोमा भन्दा पनि एमालेभन्दा सानो भइएकोमा आक्रोश झल्कन्थ्यो ।

त्यसपछि समग्र राज्यसत्ता कब्जा गर्ने लालसा बोकेर प्रचण्ड जनयुद्धमा होमिए । त्यसबेला भारतमा नक्सलवादीहरु सकिने अवस्थामा थिए, पेरुमा गोञ्जालो पक्राउ परिसकेका थिए । विश्वभरी कम्युनिष्ट आन्दोलन रक्षात्मक थियो । त्यस्तो बेला जनयुद्ध थाल्ने दुस्साहस प्रचण्डले गरे । जनयुद्धमा प्रचण्डले जित्दै गए । पार्टीभित्र बाबुराम बेलाबखत निहँु खोज्थे तर तह लगाउँदै अघि बढे । पछि त बाबुरामलाई कैद नै गरे । बाबुरामको गिरफ्तारीले भारत रिसायो, भारतीय दवाबपछि प्रचण्डले बाबुरामसँग सम्झौता गरेको जगजाहेर भइसकेको छ । प्रचण्डले बाबुरामलाई भारतसँग सम्बन्ध बढाउने अश्त्रका रुपमा प्रयोग गरे । त्यतिबेला पनि बाबुराम भारतीय संस्थापनको अत्यन्त निकट थिए । बाबुराम मार्फत् प्रचण्डले भारतलाई विश्वासमा लिए । कति विश्वासमा लिए भने १२ बूँदे सहमति त्यही विश्वासको जगमा भयो ।

भारतको विरोध गर्दै थालिएको जनयुद्ध भारतकै काखमा १२ बूँदे सहमति गरेर एक ढंगले टुंगियो । प्रचण्डले अकल्पनीय छलांग मारे । १२ बूँदे सहमति गर्नु प्रचण्डको दिग्विजय नै सावित भयो । त्यो सहमतिले माओवादी र प्रचण्डको डुंगा भुँमरीबाट किनारमा सुरक्षित आइपुग्यो । प्रचण्डले सिंहदरबारको कुर्सीमा अवतरण गरे । प्रधानमन्त्री बने । जितेरै छाडे ।

जनयुद्ध जारी राखिएको थियो भने प्रचण्ड या त मारिन्थे, या पेरुका गोन्जालो झैं कालकोठरीमा हुन्थे । जनयुद्धकारीहरु तितरवितर भइसक्थे । उनको पछिल्लो छलांग हो एमालेसँग चुनावी गठवन्धन र पार्टी एकीकरण गर्ने निर्णय ।

यति ठूलो उछलकूद र राजनीतिक जूवा खेल्न सक्छन् प्रचण्ड । दुस्साहसका चरम नमूना हुन् प्रचण्ड । तर, उनको दुस्साहस निकै सुविचारित हुन्छ भन्नेतिर पनि ध्यान दिनुपर्छ ।

माओवादीलाई वैचारिक रुपमा ‘एमाले’ बनाउनु चानचुने छलाङ होइन प्रचण्डको ।

विलक्षण खुबी

जनयुद्धको उग्रतादेखि १२ बूँदेसम्मको लचकता प्रचण्डकै कारण सम्भव भएको हो । प्रचण्ड थिएनन् भने शायद जनयुद्ध सुरु नै हुँदैनथ्यो । प्रचण्डबिना जनयुद्ध गरिएको थियो भने यो ढंगको अवतरण पनि हुँदैनथ्यो होला । प्रचण्डमा जुन उग्रता र लचकता देखिन्छ, माओवादी नेता कसैमा यस्तो विशेषता देखिँदैन । सधैं आफूलाई निर्णायक बनाउने र केन्द्रमा राख्ने खुबी छ प्रचण्डको ।

संविधानसभा चुनावपछि प्रचण्डले नारायणकाजी श्रेष्ठ नेतृत्वको चार सिटमात्र भएको एकताकेन्द्र (जनमोर्चा नेपाल)सँग एकीकरण गरेर ठूलो हिस्सा दिए । नेतृत्वमा आफू रहने, आफूभन्दा तल बहुकेन्द्र सिर्जना गरेर अरुलाई जुधाएर आफू सुरक्षित रहने रणनीति अनुसार एकीकरण गरेका थिए ।

प्रचण्डको बठ्याईं र पार्टी संचालन पद्धति बुझ्न चारहजार सदस्यीय केन्द्रीय समिति हेर्नुपर्छ । जम्बो समितिले निर्णय लिनसक्दैन भन्ने प्रष्टै थियो । चारहजार जनाको समिति बनाएर उनी निर्णायक बने । जम्बो समिति बनाएपछि माओवादीका हरेक निर्णय प्रचण्डले चाहे अनुसारको एकलौटी भएको छ ।

आफू नेतृत्वमा रहिरहन ठूलो भाग दिन पनि तयार हुन्छन् प्रचण्ड । आफूले नेतृत्व पाउने हो भने ठूलो भाग एमालेलाई दिएर एकीकरण गर्न राजी हुनसक्छन् प्रचण्ड । उनको विगतले यही देखाउँछ । तर, एमालेसँग एकीकरण यति आधारले मात्र हुन सक्दैन ।

एमालेसँग एकीकरण भएपछि के हुन्छ ? यसका लागि अलिकति विगतमा फर्काैं । ०४७ सालपछि प्रचण्ड नेतृत्वको मसालले निर्मल लामा, रुपलाल विश्वकर्मा, रुपचन्द्र विष्ट, कृष्णदास श्रेष्ठ नेतृत्वको फरकफरक पार्टीसँग एकीकरण गरेर एकताकेन्द्र बनायो । एकताकेन्द्र बनेपछि प्रचण्ड पूरै पार्टी कब्जाको रणनीतिमा लागे । अरुलाई पार्टीमा बस्न नसक्ने बनाइदिए । एकीकरणको लाभ एकलौटी प्रचण्डको पार्टीले लियो, अरुलाई हातलागी शुन्ना भयो ।

अरुलाई सिध्याउनकै लागि एकीकरण गरेजस्तो व्यवहार गरेका थिए प्रचण्डले । प्रचण्डको त्यो अनुभवको आलोकमा पनि हेरिनुपर्छ एमालेसँगको सम्भावित एकीकरणलाई ।

एकीकरण र विभाजनमा प्रचण्ड कति लचिलो छन् भने चुनवाङ वैठकपछि मोहन वैद्यसँग विवाद चुलियो, केन्द्रीय समितिमा कसको बहुमत भन्ने प्रश्न उठ्न थाल्यो । त्यसबेला राम कार्कीले गरेको अनौपचारिक टिप्पणी रोचक छ । कार्कीको भनाई थियो, ‘कुनै प्रयास नगरी केन्द्रीय समितिमा प्रचण्डले सजिलै बहुमत सिद्ध गर्छन् ।’

‘कसरी ?’

जवाफमा कार्कीको भनाई थियो, ‘जता बहुमत देखिन्छ प्रचण्ड त्यतै लागिदिन्छन्, अनि बहुमत भएन त ?’

प्रचण्डको यस्तो ट्याक्टिसलाई अवसरवाद र चलिलोपना जे भनेर बुझे पनि हुन्छ । यहाँनेर महेश्वरको भनाईको अर्थ खुल्छ, ‘प्रचण्डले हारे भने त्यही हारलाई जितमा परिणत गर्छन् ।’

बुझ्नु के पर्छ भने हार्नलाई होइन जित्नलाई प्रचण्डले एमालेसँग एकीकरण गर्ने भनेका हुन् । लाभहानीका गणितमा यति माहिर प्रचण्डले एमालेसँग एकीकरण गर्छन् ? केपी ओलीलाई प्रधानमन्त्री बन्न समर्थन गर्छन् ? अहँ, सजिलो छैन ।

आफ्नोभन्दा ठूलो पार्टीसँग एकीकरणको अनुभव प्रचण्डले अहिलेसम्म गरेका छैनन् भन्ने तथ्य पनि ध्यानयोग्य छ ।

प्रचण्ड, भारत र चीन

जनयुद्ध गराएर भारतले प्रचण्डलाई उपयोग गरेको हो ? जनयुद्धकाल र त्यसपछि भारतले प्रचण्डलाई प्रयोग गरेको हो ?

यसको जवाफमा ‘हो’ भन्न सकिन्छ तर ‘हो’ को अर्काे पक्ष पनि छ– प्रचण्डले पनि भारतलाई गर्नसम्म उपयोग गरे ।

भारतको कमजोरी कहाँ छ भन्ने बुझेर त्यो ठाउँमा प्रहार गर्ने र लाभ लिने ट्याक्टिस नेपालमा सबैभन्दा प्रभावकारी ढंगले प्रचण्डले नै गरे भन्दा अत्युक्ति नहोला । भूराजनीतिको अर्थात् वैदेशिक शक्तिहरुको स्वार्थको क्याल्कुलेसन गरेर आफ्नो हित अनुकूलको गोटी चाल्ने काममा प्रचण्ड माहिर देखिएका छन् ।

प्रचण्डको भारत चीन कनेक्सनबारे पत्रकार रेवती सापकोटाको टिप्पणी घतलाग्दो छ । उनका अनुसार भारत र चीनलाई आफू अनुकूल खेलाउन सकिन्छ भनेर देखाउने पहिलो नेपाली नेता प्रचण्ड हुन् । रेवतीको बुझाईमा पनि प्रचण्डले भारत र चीन दुवैलाई मज्जासँग खेलाएका छन् र भविष्यमा पनि खेलाउने सम्भावना देख्छन् ।

पहिलो संविधानसभा चुनावपछि उनले नोकरसँग होइन मालिकसँग मात्र वार्ता गर्छु भनेर भारतलाई ललकारे, अर्काे ढंगले लेनदेन गरौं भनेर बोलाए । पछि प्रचण्ड प्रधानमन्त्री बने तर भारतलाई निरन्तर विश्वासमा लिन सकेनन् । सक्ने पनि थिएनन् र भविष्यमा पनि सक्दैनन् । किनभने नेपालमा निरन्तर र नियन्त्रित अस्थिरता भारतको रणनीतिक हित अनुकूल छ । त्यसैले कुनै पनि प्रधानमन्त्री र सरकारलाई निरन्तर टिक्न नदिने पक्षमा उभिन्छ भारत । भारतको यही रणनीतिको शिकार बने प्रचण्ड ।

ओलीलाई प्रधानमन्त्रीबाट हटाउन भारतले प्रचण्डलाई प्रयोग गरेकै हो । यसको अर्काे पक्ष छ – प्रचण्डले पनि प्रधानमन्त्री बन्न भारतलाई उपयोग गरे । प्रचण्डको कार्यकालमा भारत अप्ठेरोमा फस्दै गयो । चिनियाँ प्रभाव नेपाल सहित दक्षिण एसियामा बढेकोमा भारतभित्र चिन्ता सुरु भयो । त्यसैले भारतले प्रचण्डलाई धेरै दवाब दिन सकेन । यही मौकाको फाइदा उठाउँदै प्रचण्डले चीनलाई पनि रिझाए । बेल्ट एण्ड रोड परियोजनामा चीनसँग अगाडि बढे ।

भारत र चीनलाई रिझाउने र खेलाउने काम प्रचण्डले गरेकै हुन् । त्यसैले दुवैको नजरमा अविश्वशनीय पनि बने । अविश्वास गर्दागर्दै पनि प्रचण्डलाई रिझाउनु भारत र चीनको वाध्यता बनेको छ ।

यहिँनेर प्रश्न उठ्छ– अब प्रचण्ड भारत कि चीनको पक्षमा ? यो सर्वाधिक पेचिलो प्रश्नमध्येको हो । माथि प्रचण्डकाबारे जेजति वर्णन गरियो त्यस आधारमा भन्न सकिन्छ– प्रचण्ड भारतको पक्षमा पनि होइनन्, चीनको पक्षमा पनि हुँदैनन्, उनी आफ्नो स्वार्थको पक्षमा हुन्छन् । सधैं डबल रोल गरिरहने, जसले आफ्नो स्वार्थमा सहयोग गर्छ उसको साथमा रहने प्रचण्डको रणनीति रहँदै आएको छ । उनी खेलौना पनि बनाउँछन् र आफैं पनि खेलौना बन्छन् ।

तर, भारत चाहिँ प्रचण्डको पक्षमा हुने देखिन्छ । अब प्रचण्डले चीनको साथले भन्दा भारतको हातले आफ्नो अभीष्ट सिद्धी हुने देखे भने अनौठो नमाने हुन्छ ।

अब हेरौं प्रचण्डको खेल

प्रचण्डले सजिलै ओलीलाई प्रधानमन्त्री बन्न दिने छैनन् । ओलीलाई प्रधानमन्त्री पद, आफूलाई चाहिँ के ? प्रचण्डले एमालेसँगको वार्तामा उठाइरहेको यो प्रश्न नाजायज होइन । प्रचण्डले आफू कहिले प्रधानमन्त्री बन्ने भन्ने सुनिश्चितता खोज्नेछन् । यो सुनिश्चितता नभई उनी पार्टी एकीकरणका लागि समेत अगाडि बढ्ने छैनन् ।

प्रचण्ड एमालेको साथमा छन् तर अनेक वैकल्पिक रणनीति पनि अपनाइरहेका छन् । कांग्रेस तथा कांग्रेस सरकारप्रति उनको नरम भाव देखिन्छ । यो नरमपना अकारण होइन, यसले भविष्यमा हुने कठोर संसदीय गणितको खेलतर्फ इशारा गर्छ ।

प्रचण्डको अर्काे रणनीति हो– क्रमशः परिस्थिति बिगार्दै जाने, दोष ओलीको टाउकोमा हाल्ने र आफू बेग्लै बाटोमा अगाडि बढ्ने । प्रचण्डलाई प्रधानमन्त्री बनाउन कांग्रेस र मधेसवादी दलहरु आतुर छन् । एमालेसँगको सम्बन्ध भाँड्ने, ओलीले सबैथोक एक्लै लिन खोजे भनेजस्तो देखाउने अनि कांग्रेसको समर्थनमा प्रधानमन्त्री बन्ने लोभ प्रचण्डले सजिलै त्याग्दैनन् । प्रचण्डको विगतले पनि यहि संकेत गर्छ ।

तर, अहिले नै यो बाटो हिँड्न अर्थात् ब्याक हुन प्रचण्डलाई सजिलो छैन । किनभने एउटै घोषणापत्रमा चुनाव जो लडेका छन् ।

अहिले प्रचण्डको रणनीति हो– पार्टी अध्यक्ष र प्रधानमन्त्रीमध्ये एक पदमा वार्गेनिङ गर्नु, पार्टी एकीकरण नभई प्रधानमन्त्रीको टुंगो लाग्न नदिनु । सके पार्टी अध्यक्ष हात पारेर एमाले कब्जा गर्ने, नसके भविष्यमा आफू कहिले प्रधानमन्त्री बन्ने मिति टुंगो लाउने । बाहिरबाट हेर्दा यही देखिन्छ । तर भित्र ?

पार्टी अध्यक्ष र प्रधानमन्त्री पदको लेनदेन विवाद हल नभएमा ओलीलाई प्रधानमन्त्री बन्न समर्थन दिने तर सरकार बाहिरै बस्ने रणनीति हुनेछ प्रचण्डको ।

माओवादीले बाहिरै बसेर सरकारलाई समर्थन गर्यो भने ओली सरकार तदर्थ या कामचलाउ जस्तो हुनेछ । त्यसपछि उपयुक्त समयमा जुनसुकै बाटो लिन प्रचण्ड स्वतन्त्र जस्तै हुनेछन्, एमालेसँग चरम वार्गेनिङ गर्न सक्नेछन् । यो स्थितिमा पार्टी एकीकरण पेण्डिङमा बस्नेछ, ओली पनि तदर्थ प्रधानमन्त्री जस्तो हुनेछन् ।

पक्का हो– प्रधानमन्त्री पद पनि ओलीलाई, अध्यक्ष पद पनि ओलीलाई दिएर एकीकरण गर्ने छैनन् प्रचण्डले । दुवै पद छाडेर एकीकरण गरेमा भविष्यमा पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पद आकाशको फल हुनसक्छ भन्ने प्रचण्डले नबुझ्ने कुरै भएन । संसदीय बहुमतको चाबी बोकेर बसेका छन् प्रचण्ड । यो चाबी उधारोमा एमाले र ओलीलाई बुझाउने छैनन्।

अर्थात्, प्रचण्डको एन्टेनारुपी कपालले काम गर्न छाडेको छैन, उनले जे गर्छन् आफ्नो हितमा गर्नेछन्, आफ्नो हित गर्दा कसैको अहित हुन्छ भने त्यसको जिम्मा प्रचण्डले लिन्छन् र ?

नेपाली राजनीति कुनै चामत्कारिक घटनाको सँघारमा छ र त्यो घटनाका सूत्रधार प्रचण्ड नै हुनेछन् ।

 

प्रकाशित मिति :- १५ माघ २०७४, सोमबार ०८:३१