लुडो लडाकुहरू…..

फाइँफुट्टीराज लामो समयको अन्तरालपछि झुल्किँदा पाठकहरूले देखाएको सद्भाव देखेर भावुक भयो । यतिसम्म कि, उसका दुवै घुँडाबाट धर्धरी आँसुका धारा बगे । ‘रेनवाटर हार्भेस्टिङ’ भनेजस्तै ‘टियर हार्भेस्टिङ’ गर्न सकेको भए फाफुराको वर्ष दिनको पानीको समस्या समाधान हुन्थ्यो होला । उसै त फाइँफुट्टीराज, अब उसलाई कसले छुने ? उसको घिरौंलाजस्तो नाक फुलेर लौकामा परिणत भयो । नाकका पोहराहरूको झन् के कुरा गर्नु, ती त काठमाडाैं–हेटौँडा सुरुङमार्गको प्रवेशद्वार जत्रा भए ।

तर, त्यो प्रसन्नता सँगसँगै एउटा तनाव पनि भयो फाफुरालाई । अबको पालो के भनेर हाँक्ने त फाइँफुट्टी ? निकै बेर गमेपछि सरकारमा गएको पार्टीलाई आफ्नो घोषणापत्र जसरी उसलाई पनि आफ्नो एउटा पुरानो बानीको झलक्क सम्झना भयो । ऊ फाइँफुट्टी फुरेन भने रत्नपार्क जाने गर्थ्यो र घाममा मस्तसँग टोपीले मुख छोपेर सुत्थ्यो । त्यसपछि चाइनाबाट रेल आएको भन्दा द्रूत गतिमा फाइँफुट्टी हाँक्ने विषय फुर्न थाल्थे । यो रामवाण ओखतीले आजसम्म काम नगरेको रेकर्ड नै छैन ।

व्रजेश खनाल

त्यसैले लामो समयपछि फाफुरा आफ्नो प्रेरणाको खानीतिर लाग्यो । तर, पहिलेको रत्नपार्क अहिले त अर्कै पो भइसकेछ । लोकदोहोरी गीतका म्युजिक भिडियो बनाउनेहरू नाच्दानाच्दा त्यहाँका घाँसको नामनिसानै बाँकी रहेनछ । कुरुप भइसकेको रहेछ रत्नपार्क । हुनत त्यसको गणतान्त्रिक न्वारान शंखधर शाख्व उद्यानको रूपमा भइसकेको छ क्यार । फाफुरालाई प्रतिगामीको आरोप नलागोस् । न्वारान नयाँ गरेपछि मर्मत र सम्भार पनि गरिदिएको भए कति गजब हुन्थ्यो होला बीच सहरको त्यो सुन्दर थलो । त्यहाँको दुर्गति देखेर फाफुरालाई डाँको छोडेर रून मन लाग्यो । हुन त यो सुन्दर सहर नै पूरै विरूप बनाइसकेका छौँ हामीले । बरो रत्नपार्क एउटा यो महान् परिवर्तनको गौरवशाली प्रक्रियाबाट आफूलाई कसरी अछुतो राखोस् र ?

जतिसुकै वैराग लागे पनि फाफुराले बल्लबल्ल आफ्नो खिरिल्लो ज्यान पसार्ने ठाउँ भेट्टायो र बूढानीलकण्ठ जसरी लमतन्न पर्‍यो, अनि टोपीले मुख छोप्यो । तर, चारैतिरका कर्कश ध्वनिका कारण उसलाई पहिले जस्तो निन्द्रा कहाँ लाग्नु ? यै तालले त कुनै फाइँफुट्टी फुर्ने भएन भनेर फाफुरा विद्यानाश काठमाडाैंको लागि विद्यासुन्दर जत्ति नै चिन्तित भयो । बल्लबल्ल के आँखा लाग्न लागेको थियो, त्यही बेला अलि पर कोही निकै ठूलो स्वरमा करायो,
‘छक्का …’

लौ मार्यो ! स्टेडियम नभएकोले नेपाली राष्ट्रिय टोलीका भाइहरु यतै पो आएर क्रिकेट अभ्यास गरिरहेका रहेछन् र पारस खड्काले छक्का हानेछन् भनेर फाफुरा सतर्क भयो । त्यो बलले आएर आफ्नो निधारमा टुटुल्को उठाउला भनेर ऊ जोन्टी रोड्सको जस्तै फूर्ति प्रदर्शन गर्दै उठ्यो र चारैतिर हेर्‍यो । तर, कोही क्रिकेट खेलिरहेको देखिएन । फेरि एकातिरबाट त्यही आवाज आयो — ‘छक्का..’

फाफुराले मुन्टो त्यतै फर्कायो । चौरमा अलि पर चार-पाँचजना झुरुप्प परेर बसेर निहुरिएर केही गर्दै रहेछन् । त्यहीँबाट कुनै एक जना कराइरहेको रहेछ । फाफुरालाई कौतुहल भयो र ऊ त्यतै बढ्यो । उनीहरु सिङ नै एकअर्कासँग जोडिए जसरी निहुरिएका थिए । मुस्कीलले ती टाउकाहरुको चिराबाट फाफुराले चिहाएर हेर्‍यो । उनीहरुको बीचमा एउटा मोबाइल फोन उत्तानो परेको थियो र त्यसमा उनीहरु लुडो खेलिरहेका रहेछन् ।

वाह, रामकृष्ण ढकाललाई जिन्दगीले कहाँबाट कहाँ पुर्‍यायो भनेजस्तै प्रविधिले पनि हामीलाई कहाँबाट कहाँ पुर्‍याइसकेछ । न बोर्ड बोक्न पर्‍यो, न गोटी । न हल्लाउनु पर्‍यो, न गुडाउन । बीचमा एउटा मोबाइल राख्यो, पालो आएपछि टुच्च थिचिदियो, डल्ला पनि आफैं घुम्ने, दाउ पनि आफैँ लाग्ने र गोटी आफैँ चलेर पुग्नुपर्ने घरसम्म पुगेर रोकिने । ठ्याक्कै हाम्रो देशको राजनीति जस्तो । खेलाडीलाई हाइसन्चो, सबै थोक बटन थिच्नेले नै गर्दिने ।

एकैछिन त्यो उत्तर आधुनिक लुडोको आनन्द लिएर फाफुरा फेरि आफ्नै स्थानमा फर्कियो । अरु बेफुर्सदी र व्यस्त मान्छेहरु अझै त्यो खेल हेरिरहेका थिए । फाफुरालाई त फाइँफुट्टी फुराउनु थियो, त्यसैले ऊ फेरि टोपीले मुख छोपेर त्यही मोबाइल जसरी उत्तानो पयो । आज फाफुरालाई केही फुर्न नदिने किरिया खाएजसरी, फेरि लुडो खेलाडीहरु हल्ला गर्न थाले । ऊ झसंग भयो ।

अब चाहिँ उनीहरु ठूलोठूलो स्वरमा बाझ्न थालेका थिए । अरु झगडा हेरेर रमाउनु त हामी नेपालीहरुका लागि सबैभन्दा बढी रुचिकर विषय र जन्मसिद्ध अधिकार हो । त्यो अधिकारको पू्र्ण उपभोग गर्दै त्यहाँ निकै मानिस जम्मा भइसकेका थिए । फाफुरा पनि थपियो । उसले देख्यो, खेलाडीहरु एकआर्कालाई तथानाम गाली गर्दै थिए । उनीहरुको शरीरको पोजिसन अब लुडोबाट मार्सलआर्ट खेलाडीमा परिवर्तन भइसकेको थियो । हात चलिसकेको त थिएन तर मुखबाट एकअर्काका लागि घरघरमा मेलम्चीको पानी झरेजसरी अति सुन्दर शब्दहरु बगिरहेका थिए । ती शब्दहरु कुनै उपन्यासकारले सुहाउँदो पात्रको लागि लेख्यो भने नैतिकताका ठेकेदारहरुले उसलाई डाँडा कटाउनमात्र बाँकी राख्थे होलान् । फाफुरा चाहेर पनि यहाँ त्यो लेख्न सक्तैन ।

तीमध्येको एउटा सबैभन्दा लुरे चाहिँ कमिजको बाहुला माथि सार्दै कुर्लँदैथ्यो — म त टूँ…। साथी पनि भन्दिन, दाइ पनि भन्दिन । म टूँ …लाई त रिस उठ्यो भने जोकोही टूँ … लाई पनि ठुन्क्याइदिन्छु । हद से हद दुईचार महीना टूँ … जाने त हो ! पहिले नगएको ठाउँ हैन क्यार टूँ … के मतलब ? टूँ … दुईचार लाख धरौटी राखेर टूँ … निस्कन नसक्ने हैसियत नभा’ मान्छे हैन टूँ .. म ।

केही बेर ती वीर लडाकु योद्धाहरुको कुरा सुनेपछि फाफुरालाई थाहा भयो, उनीहरु पैसा बाजी थापेर लुडो खेलिरहेका रहेछन् । एकजनाले सबैको पैसा भिरन्ची लिएर राखेको रहेछ । केही राउन्ड खेल भएपछि कसले कति हात मारेको र कसले कति पाउनुपर्ने भन्ने कुरामा विवाद सुरु भएको रहेछ । दुई सय रुप्याँको कुरा मिलेनछ । भिरन्ची राख्ने अलि पाको उमेरका मानिसलाई एउटा भन्दै थियो, — ’मैले तीन हात मारेको छु, अरु कुरो थाहा छैन, मलाई छ सय रुप्याँ खुरुक्क दिनुस् ।’

लुरे ती पाका मानिसलाई खाउँलाझैँ हेरेर बम्कियो — ’कसरी मारेको छ त्यो टूँ … ले तीन हात ? चार सयभन्दा बढी दिने हैन, नत्र राम्रो हुन्न, भन्द्या छु । ’
त्यो पाको मानिस घरि एउटालाई घरि अर्कोलाई रुन्चे मुख लगाएर हेर्दै थियो । चार सयवाला र छ सयवाला मातेको राँगो जसरी एकर्कातिर अग्रसर हुन खोज्दै थिए । अर्को एकजना चाहिँ फुटबलको रेफ्री जस्तो पालैपालो दुवैलाई घच्याडेर दर्शकहरुलाई मल्लयुद्धको आनन्द लिनबाट वञ्चित गराइरहेको थियो । गठबन्धनमा चुनाव लडेर मन्त्रीमण्डल बनाउने बेला भागबन्डा नमिलेर जुध्ने दलहरुजस्तै भिडिरहेका थिए लुडो लडाकुहरु । कुरो सुन्दा दुवै पक्ष आआफ्नो ठाउँमा ठीकै लाग्थे । तर, मध्यमार्गमा दुवै सहमत भइरहेका थिएनन् ।

फाफुराको छेउमा उभिएको एउटा हेर्दै दार्शनिकजस्तो मानिस आफैसँग बोल्यो — ’यो सब जुँगाको लडाइँ हो अरु केही हैन । ’

फाफुराले उसलाई कौतुहल भरिएको आँखाले हेर्‍यो । ऊ पनि फाफुरालाई हेरेर गम्भीर स्वरमा बोल्न थाल्यो — ’आफू सही र अरु गलत । अहिलेको हामी सबैको साझा समस्या हो मित्र । लुडोको कुरा मात्र हैन, यहाँको कुरामात्र हैन । संसार भरको समस्या यही हो बन्धु । मान्छेले कहिलेकहीं अरुको कुरा पनि सही हुन सक्छ भनेर मानिदिए यो संसारका धेरै समस्या आफैँ समाधान हुन्थे । ’

फाफुरा गम्भीर भएर उसलाई हेर्दैथियो, उसले फाफुराको हात समातेर हल्लाउँदै भन्यो — ’नाइस मिटिंग यु । सी यु अगेन ।’

अनि बिनापरिचयको आत्मीयता देखाउने त्यो दार्शनिक फरक्क फर्केर गयो । ऊ आफ्नै सुरमा एक्लै केही बोल्दै थियो । फाफुरा पनि अब फाइँफुट्टी हाँक्ने विषय वसन्तपुरतिर खोज्न जानुपर्ला भन्दै हिंड्यो । अलि पर गएर फर्केर हेर्दा लुडो लडाकुहरु मुख थाकेकोले हात र खुट्टा प्रयोग गर्न थालिसकेका रहेछन् । तै पनि उनीहरुको मुखबाट बीचबीचमा निस्किरहेको थियो — ’टूँ …। टूँ … । फलान्थोक् .. टूँ …’।

प्रकाशित मिति :- २२ फाल्गुन २०७४, मंगलवार १३:४८