रानीपोखरी इन जर्नी

सम्झिएको थिएँ, बिर्सिहालेँ । तपाईँलाई पनि भएको होला नि है यस्तो ? कसैलाई सुनाऊँ सुनाऊँ लागेको कुरो सुनाउनै नपाई बिर्सिने ।

एक छिनसम्म त दिमागमै कतै थियो भन्या, बोलीमा निकाल्न नपाई फुत्त हरायो । बडा गज्जबको जाम वा भीड हुन्छ क्यारे दिमागमा पनि यस्ता कुराहरूको । जमलमा जाम भएको बेला छिटो जान हतार गर्दै दौडिने गाडीहरूजस्तै । कुराहरू लाइन लाग्दैनन् क्यार ।

कोरिया जानेहरूको लाइन थोडी हो र त्यो ! अगाडिको कसैले मिचे पछाडिकोले सचेत गराइहाल्ने, “दाइ, यो त मेरो ठाउँ हो है ।”

दिमागमा कुराहरू एक-आपसमा बोल्दैनन्, सँगै हुन्छन् मात्र । भीड भए पनि दिमाग एक्लो हुन्छ । साँझपखको रत्नपार्क र दिमागमा कति फरक छ ?

– दु:ख एउटा कुनोले भोगिरहेको होला
– सपना सम्झिने अर्कै होला
– नानाभाँती कुराहरू थन्क्याउने अर्को

नजिकै यो रानीपोखरी पनि हुँदो हो । गलेका सपनाहरू त्यतै हाम्फालेर नुहाउन चाहँदा हुन् । उफ्रिएर हामफाल्दा घुँडा ठोक्किँदो हो ।

हुन त ‘दिमाग सुधार योजना’को लागि पटक-पटक समय विनियोजन भएको हो तर काम सुरु नभई सकियो । कैयौंपटक उद्घाटन भएर सकिए कामहरू । बनेका भए रानीपोखरी यस्तो हुन्थ्यो ?

घण्टाघर बनेको बेला रानीपोखरी निदाइरहेको थियो । सपना देख्दै थियो त्यहाँबाट बग्न थालेको । बाग्मतीलाई भेट्न गएको । एउटै सहरमा भएर पनि कहिल्यै भेट नभएका उनीहरू । बाग्मतीलाई जम्ने रहर थियो, उसलाई बग्ने । दुवैलाई एक-अर्काका रहरबारे थाहा थिएन । दुवै आफ्नो अवस्थाबाट थाकेका थिए ।

सपना चल्दै थियो, रानीपोखरी बग्न थाल्यो । बाग्मतीलाई खोज्न थाल्यो । कहाँकहाँ जानू ? निस्किएर रत्नपार्कसम्म पुग्दै ऊ अल्मलियो । कस्तो भीड ? कति धेरै गाडी ? गहिरिँदा-गहिरिँदै उसले माथि देख्नै छोडेको थियो । उसको बीचमा बसेको मन्दिरले बताउनै छोडेको थियो । त्रिचन्द्र कलेजले त झन् के बताउनू ? बरू पुस्तकालय जलाएर खरानी ऊतिरै फालिदिएको थियो । गणेशमान सिंह शालिकै भइरहे ।

त्यही त्रिचन्द्रको हल्लाले उसलाई पटक-पटक ब्युँताइरह्यो । सपना देख्नै दिएन । ऊ आनन्दले सुतिरहेको बेला ढुङ्गा हान्थ्यो ।

अहिले त्रिचन्द्र थाकेको थियो । सबैले सबैलाई बुझेका थिए । गोटी भएर लड्दालड्दा उनीहरूलाई भूपिले सिकाउन नसके पनि समयले सिकाएको थियो । भूकम्पले सिकाएको थियो । त्यस बेला उसका आँगनमा हजारौँ मान्छे सुतेका थिए । भीडमा पनि निद्रा आएको थियो सबैलाई । तर, त्यस दिन सपनामा बाग्मतीलाई भेट्न निस्किएको रानीपोखरीलाई कसैले ब्युँझाएको थिएन ।

ऊ गइरह्यो । वीर अस्पताल रहेछ बाटोमा । अस्पताल बिरामी नै थियो । बिरामी भएर पनि नाम वीर रे ! ‘हीराले हीरालाई काट्छ, बिरामीले बिरामीलाई उपचार गर्छ’ भित्तामा यस्तो लेखिएको थियो । उसले सम्झिएर बिर्सियो ।

रानीपोखरीको सपना लेख्दै गर्दा मलाई आफ्नै दिमागको सम्झना भयो । मेरो पनि विवेक बिरामी थियो । कुनै बिरामीले नै उपचार गरिदेओस् जस्तो लाग्न थालेको थियो । तर, कसैले समय दिन मानेनन् । केही थान डक्टर त भेटिएका थिए तर तिनीहरूलाई पत्याइनँ । डक्टरको त भर नै हुन्न नि आजकाल ।

दिमागमा शब्दहरू राजनीति गर्दा हुन् । ‘यो तेरो, यो मेरो’ हुँदो हो । र त कहिलेकाहीँ बोल्न मन नलागेका कुराहरू फुत्त निस्किन्छन् । राजनीतिक नियुक्ति भएका राजदूतजस्ता शब्दहरू, बोल्ने मेसो र अर्थ नभएर पनि बोलिरहेका । कुनैकुनै त झन् प्रधानमन्त्री नै हुँदा हुन्, जो दिमागको अर्को कुनो पाकिरहँदा पनि गज्जब गज्जब चुट्किला पढिरहेको ।

रानीपोखरी सुन्धारा आइपुग्यो । धारा कोमामा थियो, पानी थिएन । पोखरी डरायो, कतै मरिसकेको त छैन ? उसले गोजीबाट एकमुठी पानी निकाल्यो र उसको टुटीमा खन्यायो । बालुवामा पानी हालेझैं भयो । यो के भएको ? रानीपोखरी आत्तियो । कसैलाई बोलाएर सोध्न खोज्यो तर सकेन । धरहरालाई सम्झियो । पहिले-पहिले उनीहरू आपसमा कुराकानी गर्थे । अहिले धरहरा त्यहाँ थिएन । भूकम्प आएको कुरा उसले बिर्सिसकेको रहेछ ।

रानीपोखरी डरायो । पानी पिउन नपाएर सुन्धारा कोमामा गएको थियो । बाग्मतीलाई भेटेर सहयोगको याचना गर्न मन भयो उसलाई । निस्किएर दौडियो ।

“रोकिनुस्,” पुलिसले बाटो छेक्यो ।

के भएछ ?

बाटो जाम थियो । दीक्षान्त समारोह हुँदै रहेछ रङ्गशालामा । प्रधानमन्त्रीको सवारी चलेको रहेछ । उसलाई त रंगशाला बनेको कुरा पनि थाहा थिएन । ऊ त्रिपुरेश्वर चोकमा केहीबेर अल्मलियो । गाडीका ताँती आएर भित्र छिरेपछि उनीहरूलाई हिँड्न दिइयो । उसले रङ्गशालाको गेटबाट यसो चिहायो । भित्र कालो गाऊन लगाएका हजारौँ मान्छेहरू घाम तापिरहेका थिए । गेटमै दथरथ चन्द शालिक भएर बसेका थिए । भर्खरै गएको गाडीको लस्करले धूलो उडाएको थियो । रानीपोखरीले सम्झियो- शासकमात्र फेरिएछन् ।

म भित्रको त्यही भीडमा थिएँ । दिमाग भत्भती पोलिरहेको थियो । पढिसक्नासाथ ‘बेरोजगारी’ पक्का भइसकेको थियो । मलाई बेरोजगारीको पहिलो दिन कस्तो होला भन्ने लागिरह्यो । नर्भस पो हुन्छु कि ? बोस कस्तो पर्ने हो ? काम के गर्नुपर्ने हो ?

दिमागले रोजगारी गर् भनेर भन्छ कि भन्दैन, थाहा थिएन । कहिलेकाहीँ झुक्किएर उल्टो काम पनि लगाइदिन्थ्यो । झुक्किएर ‘जागिर खानू’ भनेर काम सिकाइदिइहाल्यो भने त खत्तम भएन ? मेरो बेरोजगार हुने सानैदेखिको सपनामा तुषारापात हुन्थ्यो । मैले सङ्कल्प गरेँ, जताततै सोर्स लाउँछु तर आफूलाई रोजगार हुन दिन्नँ ।

रानीपोखरी निस्कियो, काँप्दै । उसलाई बाटोमा एक्लै हिँड्न डर लाग्यो । चिटचिट पसिना आए जस्तो भयो । कतिबेला बाग्मतीमा पुगूँ र मुख धोऊँ जस्तो भयो ।

त्रिपुरेश्वर मन्दिर कट्यो । भूकम्पले लडेर घाइते भएको रहेछ । उसको याचना सुनेर रानीपोखरीलाई ग्लानिमात्र भयो । उ गइरह्यो । बाग्मतीलाई कतै देखेन । थापाथलीबाट पुल तर्न थाल्यो तर पनि नदीलाई देखेन ।

“दाइ, बाग्मती नदी कुन हो ?” कसैलाई कोट्याएर सोध्यो ।

“ऊ त्यही हो,” उसले पुलमुनि देखाइदियो ।

रानीपोखरी झसंग भयो । नदीमाथि नै ऊ उभिएको थियो । तल नदी थिएन, ढलमात्र थियो । उसले सोचेको बाग्मती थिएन त्यो ।

“यस्तो हुनै सक्दैन । तिमी यस्तो हुनै सक्दैनौ,” ऊ चिच्याउन थाल्यो । चिच्च्याइरह्यो ।

अघि उसले सोधेको मान्छे फर्किएर ऊतिरै आयो । उसलाई अँगालो हाल्यो र सम्झायो, “फेरि बाग्मतीलाई भेटेको सपना देख्यौ ? समय खराब छ, नदेख । मैले त आँखा चिम्लिएको धेरै भइसक्यो ।”

त्यो अरू कोही नभएर घण्टाघर थियो ।

प्रकाशित मिति :- २४ फाल्गुन २०७४, बिहीबार २१:३४