प्रष्ट बहुमत हुँदाहुँदै पनि दुई तिहाइको नियत के हो ? प्रधानमन्त्रीज्यु

नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुई तिहाइको नियत स्पष्ट पार्न आग्रह गरेका छन् ।

उनले अघिल्लो संसद्मा संविधान संशोधनलाई ‘राष्ट्रघात’ मान्ने व्यक्तिले नै अहिले दुई तिहाइका लागि संविधान संशोधनका लागि हस्ताक्षर गर्न तयार रहेको बताए ।

“संविधान संशोधनको कुरा उच्चारण गर्दै गर्दा यो राष्ट्रघात हो भनेको कुरा हामी अहिले सम्झन्छौं,” थापाले संघीय संसद्को बैठकमा भने, “तर आज त्यही संविधान संशोधनका विषयमा माथापच्छि गरेर हस्ताक्षर गर्न मात्रै बाँकी छ । केका लागि त भन्दा दुई तिहाइका लागि ।”

“दुई तिहाइको मोहको कारण के हो ?,” उनको प्रश्न थियो, “प्रष्ट बहुमत हुँदाहुँदै पनि दुई तिहाइको नियत के हो ? प्रधानमन्त्रीज्यु लि क्वान यु को ठुलो प्रशंसक हुनुुहुन्छ रे ? नेपालको विकास नहुनुमा वलियो राजनेता नहुनु हो भन्नुहुन्छ रे । त्यस्तो बलियो नेता त्यस्तो बलियो नेता राजा महेन्द्र, ज्ञानेन्द्र मुलुकले बेहोरेको होइन ?”

उनले बलियो व्यक्ति फेरि पनि खोजे दुर्घटना निम्तिने बताउँदै अब मुलुकलाई परिणाम दिनैपर्ने बताए ।

“राजाको कारणले भएन भन्यौ फाल्यौं, संविधान भएन भन्यौं संविधान बनायौं । स्थिर सरकार भन्यौं त्यो पनि भयो,” उनले भने, “शक्तिशाली प्रधानमन्त्रीले नगरे कसले गर्ने ?”
उनले अब प्रधानमन्त्रीलाई पहिलेजस्तै जे पनि बोल्न छुट नहुने चेतावनी दिए ।

“अब तपाईँ एमालेको अध्यक्ष मात्रै होइन, प्रधानमन्त्री हो, अब जे पनि बोल्न पाइँदैन,” उनले भने,“ अब प्रत्येक विषयको हिसाब किताव कांग्रेसले माग्छ ।”

प्रकाशित मिति :- २७ फाल्गुन २०७४, आईतवार २१:१३