कस्तो बन्दै छ कांग्रेसको छायाँ सरकार : नेतापिच्छे फरक जवाफ

वाच डग…. हामीले पछिल्ला दिनमा सम्पर्क गरेका एक दर्जनभन्दा बढी कांग्रेस नेताले यही दुई शब्द सबैभन्दा बढी दोहोर्याए । उनीहरु बारम्बार यो शब्द किन पनि दोहोर्याइरहेका छन् भने कांग्रेस अहिले दुई कामको तयारीमा छ । एउटा– पुनर्जागरण अभियान र दोस्रो– छायाँ सरकारको तयारी ।

१० र २१ मंसिरमा सम्पन्न निर्वाचनमा वाम गठबन्धनले बहुमत ल्याएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन प्रक्रिया सुरु भइसकेको छ । यद्यपि यो पनि पूर्ण हुन सकेको छैन । एकातिर केपी शर्मा ओली नेतृत्वको सरकार बनाउने तयारी चलिरहँदा बसेको कांग्रेसका प्रतिनिधि र प्रदेशसभामा निर्वाचित नेताहरुले पार्टी नेतृत्व सामु विकल्प पेश गरे– हामी छायाँ सरकार चलाऔँ ।

त्यसपछि कांग्रेसमा यसबारे व्यापक छलफल भयो । तर, ओली नेतृत्वको सरकारले पूर्णता पाउन अलमल भएजस्तै कांग्रेसमा पनि छायाँ सरकारबारे अलमल छ । कतिसम्म भने दुई साताभन्दा बढी भइसक्दा पनि कांग्रेसमा यो छायाँ सरकारबारे मतभिन्नता कायम छ । यस विषयमा बुझ्न कांग्रेसका एक नेतालाई हामीले फोन गर्यौँ । उनले भने, ‘छायाँ सरकारमा कसले कुन जिम्मेवारी लिने भन्ने पनि टुङ्गो लागेको छैन, यसको मोडलबारे पनि व्यापक मतभेद छ ।’

के कांग्रेस नेताहरु छायाँ सरकारमा कसको के भूमिका भन्नेमा अल्झिरहेका छन् ?

हाम्रो यो प्रश्नमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘त्यस्तो होइन । छायाँ सरकार बनाउनका लागि हामीले छायाँ मन्त्रीको अवधारणाभन्दा पनि समूहगत अवधारणालाई कार्यान्वयन गर्न खोज्दै छौँ ।’ पार्टीका पदाधिकारीले सरकारको निगरानी गर्ने र त्यसका लागि एक–एक व्यक्ति नतोकिने उनले जानकारी दिए । सरकारलाई अझ बढी सिर्जनात्मक बनाउन यो कन्सेप्ट आएको भन्दै शर्माले पार्टीमा यसबारे कुनै मतभेद नभएको जिकिर पनि गरे ।

‘कम्तिमा पनि छायाँ प्रधानमन्त्री त बनाउनु हुन्छ होला नि ?’ शर्मालाई गरिएको यो प्रश्नमा उनले जवाफ दिए, ‘एक व्यक्तिलाई मात्र त्यो जिम्मेवारी दिँदैनौँ, त्यसका लागि एउटा समिति नै बनाउने तयारी भइरहेको छ ।’

तर, कांग्रेस नेताहरुमा नै यसको बुझाई भिन्न छ । शर्मासँगको यो कुरा कांग्रेसका अर्का नेता बालकृष्ण खाँडलाई सोध्दा उनीबाट हामीलाई फरक जवाफ मिल्यो ।  खाँडले भने, ‘छायाँ सरकार बन्छ, पार्टी सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाको नेतृत्वमा यो छायाँ सरकार बन्छ ।’

प्रतिनिधिसभामा ६३ सदस्यसहित एक्लो प्रतिपक्षी बनेको कांग्रेसले छायाँ सरकारमा पनि प्रत्येक मन्त्रालयको जिम्मेवारी एक सदस्यलाई दिने तयारी भइरहेको खाँडको प्रतिक्रिया छ । तर, सरकार बनिनसकेकाले कुन मन्त्रालयको जिम्मेवारी कसलाई दिने भन्ने एकिन नभइसकेको उनले बताए । ‘इन्डिभिजुअल छायाँ मन्त्री तोकिन्छन्,’ उनले भने, ‘९ चैतमा बस्ने बैठकले यसको निर्णय गर्छ ।’ ‘तर, यो छायाँ सरकार राजनीतिक प्रतिशोधका लागि होइन, यो त सरकारलाई आफूखुसी र विधिविपरीत काम गर्न नदिन सचेत बनाउन हो,’ उनले भने ।

नयाँ होइन छायाँ सरकार
कांग्रेसको यो अवधारणा नेपाली सन्दर्भमा पनि नयाँ भने होइन । २०४८ सालमा कांग्रेसले सरकारको नेतृत्व गरेपछि तत्कालीन प्रतिपक्षीले पनि यो अवधारणा ल्याएको थियो । तर, त्यसले प्रभावकारी काम गर्न सकेन ।

उता, क्यानडा, बेलायतलगायतका देशमा पनि ‘स्याडो सरकार’ को अवधारणा कायम छ ।

स्राेत : फरकधारबाट

प्रकाशित मिति :- २७ फाल्गुन २०७४, आईतवार २२:१६