विमान दुर्घटनामा देशले गुमाएका प्रतिभाशाली न्युरो सर्जन, जो कहिल्यै दोस्रो भएनन्

भरतपुर क्यान्सर अस्पतालमा कार्यरत रहँदा डाक्टर बालकृष्ण थापाले अस्पतालको गरिमा चुलीमा पुर्‍याए। त्यसैले २०६२ सालमा भरतपुर छाड्न लाग्दा उनको सरुवा बदर गर्न चितवन र रुपन्देहीका झन्डै १४ सय स्थानीयले हस्ताक्षर अभियान नै चलाए।

न्युरो सर्जरीमा अब्बल मानिने यिनै होनहार चिकित्सकलाई देशले गुमाएको छ। सोमबार बंगलादेशको ढाकाबाट काठमाडौं आएको युएस-बाङ्ला एयरलाइन्सको विमान दिउँसो २ बजेर २० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा दुर्घटनाग्रस्त भयो। ४९ जनाको ज्यान गएको यो घटनामा ५० वर्षीय डा थापाको पनि निधन भयो।

काभ्रेको कुशादेवी–३ मा २०२४ माघ ४ मा जन्मिएका थापा नेपालमा एसियाकै उत्कृष्ट क्यान्सर अस्पताल बनाउने अभियानमा थिए। तर, उनको यो अभियान अपूरो रह्यो।

‘देशले चिकित्सा क्षेत्रमा अपूरणीय क्षति बेहोरेको छ’, थापाको निधनको खबर पाएपछि पूर्व स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले नेपाल लाइभसँग भने।

२०४१ सालमा गिरिराजमणि चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगञ्जको स्ववियू अध्यक्ष हुँदा थापा केन्द्रीय सदस्य थिए। कलेज जीवनदेखि नै दुवैबीच राम्रो दोस्ती थियो। गिरिराज स्वास्थ्यमन्त्रीमा नियुक्त भएपछि उनले थापालाई क्यान्सर बोर्डमा नियुक्त गरेका थिए।

‘उनी मलाई क्यान्सर अस्पतालमा व्याप्त अनियमितता र विकृतिको समाधान गर्न घचघचाइरहेका हुन्थे। अझ उनी यसलाई शैक्षिक संस्थाको रुपमा विकसित गर्नुपर्ने सुझाव दिन्थे’, गिरिराजमणि सम्झन्छन्।

थापा भरतपुर क्यान्सर अस्पतालमा जानुअघि अस्पतालको छवि त्यति राम्रो थिएन। अनियमितता र विकृतिले अस्पताल थलिएको थियो। तर, उनी नियुक्त भएपछि क्यान्सर अस्पतालले काँचुली फेर्‍यो।

यसैले होला, २०६२ सालमा अस्पताल छाडेर उनी काठमाडौं आउन लाग्दा स्थानीयदेखि छिमेकी जिल्लाका सर्वसाधारणले उनको पक्षमा हस्ताक्षर अभियान चलाए। फलस्वरुप उनले चितवन छाड्न सकेनन्।

‘उहाँको सपना थियो, भगवान कोइरालाले गंगालाल अस्पताललाई ह्दयरोग केन्द्रको रुपमा जसरी स्थापित गर्नुभयो, त्यसैगरी नेपालको क्यान्सर अस्पताललाई पनि एसियाको उत्कृष्ट अस्पतालको रुपमा विकास गर्ने’, दिवंगत डाक्टर थापाका भतिजा दीलिप थापा भन्छन्।

थापा सानैदेखि मेधावी विद्यार्थी थिए। उनी कहिल्यै दोस्रो भएनन्। एसएलसी र प्रमाणपत्र तह पहिलो श्रेणीमा पास गरेका थापा २०५१ सालको एमबिबिएस ‘टपर’ हुन्। उनले १० मध्ये ८ विषयमा ‘गोल्ड मेडल’ जितेका थिए।

उनले बंगलादेशको ढाकास्थित बंगबन्धु शेखमुजिव विश्वविद्यालयबाट न्युरोमा एमएस गरेका थिए। उनी सो विश्वविद्यालयमा विदेशी विद्यार्थीको कोटाबाट एमएस पास गर्ने पहिलो र आफ्नो ब्याचका ‘गोल्ड मेडलिस्ट’ पनि हुन्।

चिकित्सा क्षेत्र बाहेक थापाको अर्को पहिचान पनि थियो। उनी साहित्य क्षेत्रमा सक्रिय थिए। उनका दुई कवितासंग्रह ‘डाक्टरी कविता’ (२०६१)’ र ‘डाक्टरका कविता’ (२०६९) तथा निबन्धसंग्रह ‘चिरफार’ (२०७०) प्रकाशित छन्।

यसका साथै उनी कुशल वक्ता पनि थिए। नेदरल्यान्ड्सको एक विश्वविद्यालयले थापालाई उत्कृष्ट वक्ताको अवार्ड नै दिएको थियो।

उनीसँग नेतृत्वको पनि क्षमता थियो। मेडिकल क्षेत्रमा रहे पनि उनी विभिन्न सामाजिक संघ–संगठनमा सक्रिय थिए। उनी चिकित्सक नेपालका क्षेत्रीय उपाध्यक्ष र नेपाल न्युरो सर्जन समाजका महासचिव थिए।

उनी भन्थे- ‘काठमाडौंमा क्यान्सर उपचारमा निकै ठूलो बेथिति छ। यसलाई तत्काल समाधान गर्न निकै गाह्रो छ।’ त्यसैले उनी यो अभियान जिल्लाबाट सुरु गर्दै काठमाडौं केन्द्रित हुन चाहन्थे।

उनले काठमाडौंमा काम गर्ने अवसर नपाएका होइनन्। तर, उनले जिल्लालाई नै आफ्नो प्राथमिकता बनाए। यसै क्रममा उनी नेपालका ६३ जिल्ला पुगेका थिए। देशको भूगोल बुझेका कारण उनी चिकित्सा सेवा दिने कुरामा ढुक्क थिए।

डा थापाले विश्वका २१ देश पुगेर चिकित्सकीय ज्ञान आदानप्रदान गर्ने अवसर पाए। उनी आफ्नो कमाइको केही अंश सामाजिक काममा खर्चन्थे। शारदा सरस्वती छात्रवृत्ति, नवीन स्मृति छात्रवृत्ति, नवजीवन ट्रस्ट र कुशादेवी उच्च माविको भवन निर्माणमा उनले सहयोग गरेका थिए।

नेपालमा चिनियाँ राष्ट्रपति सी जिनपिङ आउने चर्चा चलिरहेका बेला उनी चिनियाँ सरकारले सहयोग गरिरहेको चितवन मेडिकल अस्पतालको नयाँ कार्ययोजनाबारे ‘प्रिजेन्टेसन’ दिने तयारीमा थिए। तर, उनको यो सपना पनि अधुरो रहन पुग्यो।

प्रकाशित मिति :- २९ फाल्गुन २०७४, मंगलवार १७:५६