एउटै कम्पनीको विमान : आइतबार इरानमा, सोमबार नेपालमा दुर्घटना

सोमबार नेपालमा यू.एस.–बङ्लाको विमान अवतरणको क्रममा दुर्घटना भयो । उक्त विमान दुर्घटनामा २२ नेपालीसहित ४९ जनाको ज्यान गयो । यस्तै २२ जना घाइतेको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनाग्रस्त विमान क्यानडाको मोन्ट्रियलस्थित बम्बार्डिएर इन्कले बनाएको हो ।

यसो त सोही कम्पनीको बम्बार्डिएर च्यालेन्जर ६०४ निजी जेट विमान अघिल्लो दिन इरानमा पनि दुर्घटना भएको थियो । सो दुर्घटनामा विमानमा सवार सबै ११ जनाको मृत्यु भएको थियो ।

इरानमा दुर्घटना भएको जेट विमान टर्किस व्यापारी हुसेन बसरनको थियो । विमानमा उनकी छोरी र साथीहरू थिए । अर्को महिना विवाह हुन लागेको हुसेनकी २८ वर्षे छोरी मिना विवाहअघिको पार्टीमा सहभागी भएर फर्कंदै थिइन् । विमानमा रहेका उनका सात जना साथीहरू सबैको निधन भएको छ ।

नेपालमा दुर्घटनाग्रस्त विमान

विमान इरानको राजधानी तेहरानबाट ३७० किलोमिटर टाढा रहेको जाग्रोस पहाडमा ठोक्किएको थियो । प्रत्यक्षदर्शीले पहाडमा ठोक्किनुअघि विमानमा आगो लागेको देखेको बताएका छन् । विमानको दुर्घटनाको कारण हालसम्म पत्ता लागेको छैन । सोमबार इरानका अधिकारीहरूले विमानको “ब्लाक बक्स” भेटेका छन् ।

इरानमा दुर्घटनाग्रस्त विमान

विमान निर्माताको प्रतिक्रिया
दुई दिनभित्र आफ्नो कम्पनीका दुई विमान दुर्घटना परेपछि बम्बार्डिएर इन्कले दुर्घटनाको अनुसन्धान गर्ने भएको छ । बम्बार्डिएर कम्पनीले एक फिल्ड सर्विस प्रतिनिधिलाई मङ्गलबार बिहानै नेपाल पठाउन लागेको बम्बार्डिएरकी प्रवक्ता नटाली सिफेन्ग्फेटले क्यानडाको समाचारपत्र स्टारलाई बताइन् ।

बम्बार्डिएरका सञ्चार निर्देशक मार्क मास्लुचले एकपछि अर्को दुर्घटना हुनु ‘दुभाग्यपूर्ण संयोग’ भएको बताए ।

साथै उनले तत्कालै यी दुईमा सम्बन्ध देखाउनु ‘अनुपयुक्त’ भएको बताए । उनले नेपालमा दुर्घटना भएको क्यू ४०० शृङ्खला आफूहरूले बनाएको ‘सबैभन्दा बलियो र भरपर्दो विमान’ भएको बताए ।

बम्बार्डिएर क्यू ४०० को खराब विगत
आफ्नो वेबसाइटमा बम्बार्डिएरले सन् १९९२ मा विमान निर्माता ‘डी हाभिल्यान्ड क्यानडा’ किनेपछि उक्त कम्पनीले बनाइरहेको विमानमा आफ्नो नाम दिन थालेको उल्लेख गरेको छ ।

सो अधिग्रहणपछि प्लेनमा धेरै पटक प्राविधिक गढबढी देखिएका छन्, विशेष अवतरण गियरमा । दुई दुर्घटना भने प्राणघातक सावित भए । सन् २००९ मा न्युयोर्कमा क्यु ४०० विमान दुर्घटना हुँदा ५० जनाको मृत्यु भएको थियो । सो विमान दुर्घटनाको कारणमा पाइलटको गल्तीलाई कारण मानिएको थियो । साथै यसको आंशिक कारणमा विमानको चेतावनी दिने प्रणालीमा पनि गल्ती पाइएको थियो । सो प्रणालीले प्लेन ढिलो उडिरहेको सचेत नगराउँदा विमान अवतरण गराउँदा एयरपोर्ट छेउको घरमा ठोक्किएको थियो ।

प्रकाशित मिति :- २९ फाल्गुन २०७४, मंगलवार १८:३४