कांग्रेस सभापतिलाई गगनको चेतावनी-‘थप मूल्य चुकाउनु नपरोस्’

नेपाली कांग्रेसका युवा नेता गगन थापाले काँग्रेस नेतृत्वलाई तत्काल सच्चिन आग्रह गर्दै विलम्व भएमा थप मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् ।

शुक्रबार पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समर्थक समूहको चियापान भेलामा बोल्दै नेता थापाले कांग्रेसमा आमूल सुधारको आवश्यकता भएको बताउँदै त्यसका लागि एकपल्ट जोखिम मोल्न नेता सिटौलालाई झक्झक्याए । उनले पार्टी सुधारका लागि जोखिम मोलेर भए पनि बोल्नुपर्ने र दबाब दिने बेला आएको धारणा राखेका थिए ।

थापाको दावी थियो निर्वाचनमा काँग्रेसले हार व्यहोरे पनि नयाँ संविधानमार्फत मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गरेर राजनीतिक मुद्दा जितेको छ ।

पार्टीको १३ औँ महाधिवेशनबाट अस्तित्वमा देखिएको सिटौला समूहका शुक्रबार काठमाडौंमा आयोजित भेलामा वर्तमान सरकारबाट सर्वसत्तावाद लागू गर्ने संकेत देखिन थालेकोमा वक्ताहरुले चिन्ता व्यक्त गरेका थिए ।

भेलामा काँग्रेस केन्द्रीय सदस्य उमाकान्त चौधरीले पार्टीको टिकट वितरणमा पैसावाल र व्यापारी हाबी भएकोप्रति चिन्ता व्यक्त गर्दै पार्टीमा योगदान गरेका र दुःख पाएका कार्यकर्ता कहाँ जाने भनी प्रश्न गरे। उनले धनाढ्य व्यापारी बिनोद चौधरी र शिक्षा व्यवसायी उमेश श्रेष्ठले धनकै बलमा पार्टीमा महत्वपूर्ण स्थान पाउनुमा सभापति शेरबहादुर देउवा जिम्मेवार रहेको संकेत गरेका थिए ।

नेता चौधरीले हिजोका दिनमा नाकाबन्दी लगाउन सहयोग गर्ने र नाकाबन्दीको घोर विरोध गर्नेहरु आज एक भएको प्रसंग उल्लेख गर्दै वर्तमान सरकार खिचडी गठबन्धनको सरकार भएको आरोप लगाए।

केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टीमा व्यक्ति नभई विधान प्रधान हुनुपर्ने बताउँदै पार्टी सुधारका लागि संगठन सुदृढीकरणको आवश्यकता रहेको बताए । उनले भने, “काँग्रेस सुध्रिएर सच्चियो भने काँग्रेसलाई कसैले हराउन सक्दैन ।”

काँग्रेसमा रहेका विभिन्न समूहले निर्वाचनपछि आफ्ना भेला तथा छलफललाई तीव्रता दिएका छन् । बिहीबारमात्रै वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेता कार्यकर्ता भेला भई पार्टी कमजोर भएको भन्दै कसरी बलियो बनाउने भन्ने सम्बन्धमा छलफल गरेका थिए ।

भेलामा गाउँस्तरमा पार्टीको संरचना कसरी बलियो बनाउने, यही चैत ९ गते बस्ने केन्द्रीय कार्यसमिति बैठकमा छलफल गर्ने विषयका बारेमा समेत छलफल भएको नेता नवीन्द्रराज जोशीले जानकारी बताए ।

निर्वाचन परिणामको विषयलाई लिएर काँग्रेसमा आरोप प्रत्यारोप जारी छ । मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा काँग्रेसले अनपेक्षित परिणाम व्यहोरेको थियो ।

निर्वाचनमा काँग्रेसले १६५ निर्वाचन क्षेत्रमध्ये २३ स्थानमा मात्र जित हासिल गरेको थियो । काँग्रेस केन्द्रीय कार्यसमितिमा निर्वाचनपछि परिणामका बारेमा विस्तृत रुपमा समीक्षा हुन सकेको छैन । त्यसका लागि यही चैत ९ गते केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको छ ।

पार्टीको १३औँ महाधिवेशनमा वर्तमान सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता पौडेल र नेता सिटौला तीन समूह बनाएर निर्वाचनमा होमिनुभएको थियो । त्यसपछि यी तीन समूह पार्टीमा सतहमा सक्रिय हुँदै आएका छन् ।

प्रकाशित मिति :- ३ चैत्र २०७४, शनिबार ११:०२