कांग्रेस नेता कृष्णप्रसाद सिटौला समूहले सरकार सर्वसत्तावादी र पार्टी सभापति शेरबहादुर देउवामा सामन्तवाद हाबी भएको भन्दै यसविरुद्ध लड्ने उद्घोष गरेको छ । चुनावी समीक्षाको नजिकिँदो केन्द्रीय समितिका बैठकलाई लक्षित गर्दै आफ्नो समूहनिकट पेसागत संस्थाका प्रतिनिधि सहभागी कार्यक्रममा सिटौला पक्षका नेताले यस्तो बताएका हुन् ।

१३औँ महाधिवेशनमा सिटौला पक्षकै सहयोगमा देउवा सभापति निर्वाचित भएका थिए । दुई वर्षपछि सिटौला पक्ष देउवासँग असन्तुष्ट बनेको हो । प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पार्टी पराजय भएपछि पार्टीका कमीकमजोरी र सरकारका कामकारबाहीप्रति खबरदारी गरी राजनीतिक उपस्थिति देखाउँदै जाने हिसाबले यो समूह सक्रिय भएको हो । ९ चैतदेखि कांग्रेसले चुनावी समीक्षाका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ।

‘केन्द्र र प्रदेशका सरकारमा कहीँ पनि हाम्रो उपस्थिति छैन । पार्टी यसरी पछाडि परेपछि कांग्रेसमा अब नयाँ रोडम्यापको जरुरी छ । हामी निरंकुशताविरुद्ध र गणतन्त्रका लागि लड्यौँ, तर पार्टीमा सामन्ती संस्कार हटेको छैन,’ सिटौलाले भने, ‘पार्टीभित्र लोकतान्त्रिक संस्कार विकास गर्न नसक्ने हो भने राज्यका सबै अंगलाई पंगु बनाउने क्रम सुरु गरेको सरकारको हामी विरोध गर्न सक्दैनौँ ।’

फाइल तस्विर

केपी ओली नेतृत्व सरकारको प्रारम्भ राम्रो नभएको भन्दै उनले सर्वसत्तावाद लाद्ने गरी अघि बढेको आरोप लगाए । ‘सर्वसत्तावाद लाद्ने, राज्यका सबै अंगलाई हडप्ने प्रयास भएको छ,’ सिटौलाले भने, ‘राज्यलाई गलत बाटोमा जान नदिन कांग्रेस जाग्न जरुरी छ । हामी तल पर्‍यौँ भने अरूलाई उपदेश दिन सक्दैनौँ ।’ सरकारको विरोध गर्न कांग्रेस चुक्न नहुने भन्दै उनले भने, ‘कांग्रेस कहीँकतै चुकेको छ । सबै गुनासालाई सम्बोधन गर्ने गरी हामी अघि बढ्ने तयारीमा छौँ । निरन्तर छलफल गरेपछि हामी प्रस्ट एजेन्डा बनाएर अब अघि बढ्छौँ ।’

सभापतिविरुद्ध अब ‘क्रिटिकल’
नेता सिटौलाले महाधिवेशनदेखि अहिलेसम्म सभापतिलाई साथ दिँदै आए पनि अब क्रिटिकल हुने प्रस्ट्याएका छन् । ‘पार्टी सञ्चालनको एजेन्डा न सभापतिबाट न महामन्त्रीबाटै आयो । पार्टी सञ्चालनको प्रस्ट कार्ययोजना नै आएन,’ उनले भने, ‘अब कांग्रेसले नयाँ बल संसद्देखि सडकमा देखाउने वेला आएको छ, यसका लागि नयाँ व्यवहार चाहेका छौँ ।’

आफूहरूकै सहयोगमा देउवाले सभापति जित्ने, भ्रातृसंस्थाको महाधिवेशन गर्ने गरे पनि दुई वर्षसम्म प्रभावकारी काम गर्न नसकेको आरोप लगाए । ‘हाम्रै कारण उहाँ सभापति हुनुभयो । भ्रातृसंस्थाले नेतृत्व पाए । तर, दुई वर्षसम्म बेथिति रूपमा पार्टी सञ्चालन हुँदा यो परिणाम हात लाग्यो,’ सिटौलाले भने, ‘अब यसरी चल्दैन । अब सभापतिलाई सहयोग हुन्छ, तर क्रिटिकल हुन्छ ।’

युवा नेताको एक स्वर
कार्यक्रममा नेताहरू उमाकान्त चौधरी, गगन थापा र प्रदीप पौडेलले आफ्नै कमजोरीले कांग्रेस निर्वाचनमा कमजोर बनेको बताए । ‘वाम गठबन्धन भएर मात्र हामी हारेका होइनौँ । सुशील कोइराला प्रधानमन्त्रीको उम्मेदवार बन्नेदेखि भारतले नाकाबन्दी गरेको होसमेत भन्न नसक्दा हामी पछि पर्‍यौँ,’ उनीहरूको भनाइ थियो, ‘हामीले विचार समूहका रूपमा पार्टीका मञ्चमा यस्ता विषय राख्दै आएका छौँ ।’ नेता चौधरीले कांग्रेसको नीति खराब नभए पनि नेतृत्वको नियत खराब भएको आरोप लगाए । पैसावालालाई निर्वाचनमा टिकट दिएको भन्दै उनले हारको जिम्मेवारी सभापतिले लिनुपर्ने बताए ।

नेता थापाले अब हारेको नभई राजनीतिक रूपमा जितेको गौरवबाट छलफल गर्नुपर्ने बताए । ‘हामीलाई अनपेक्षित परिणामले चिन्तित बनाएको छ । तर, बयलगाडा चढेर अमेरिका पुग्नु र गणतन्त्र आउँछ भन्नु उस्तै हो भन्नेहरू सिंहदरबारमा छन् । रत्नपार्कमा गणतन्त्रको नारा लगाउने हामी निर्वाचनमा हारेका छौँ । अब राजनीतिक रूपमा जितेको गौरवबाट पार्टीमा छलफल गरौँ,’ उनले भने । नेता भीमसेनदास प्रधान पनि सहभागी थिए ।

‘पौडेलको गुट सकियो’
नेता सिटौलाले संसदीय दलको निर्वाचनमा महामन्त्री डा. शशांक कोइरालाले सभापति देउवालाई भोट हालेको भन्दै पौडेलको गुट सकिएको बताएका छन् । ‘दलको निर्वाचनमा शशांकले शेरबहादुरलाई भोट हाले भन्ने आएको छ । अनि कसरी पौडेल गुट बाँकी रह्यो ?’ सिटौलाले सञ्चारकर्मीसँग प्रश्न गरे, ‘पार्टीमा परिवर्तन चाहनेहरू एक ठाउँमा उभिनुपर्छ । हामीले नेता, नीति, व्यवहार र रणनीति सबै परिवर्तन गर्न खोजेका छौँ ।’ संसदीय समिति र कार्यसम्पादन समिति विधानविपरीत बनाउने, समानुपातिकको सूची सभापति र नेता पौडेलबाहेकलाई हेर्नै नदिने शैलीले पार्टीमा निरंकुशता बढाएको भन्दै सिटौलाले अब यस्तो प्रवृत्तिविरुद्ध देशव्यापी अभियान थाल्ने पनि बताए ।

प्रकाशित मिति :- ३ चैत्र २०७४, शनिबार ११:१६