नेपाली कांग्रेसका नेताहरुले सरकार राज्यका सबै अंगलाई पंगु बनाएर मुलुकमा अधिनायकवाद लाद्न उद्यत बनेको आरोप लगाएका छन् ।

कांग्रेस पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहले शुक्रबार बिहान राजधानीमा आयोजना गरेको कार्यक्रममा नेताहरुले सरकार राज्यका सबै अंग कब्जा गरेर अधिनायकवाद लाद्ने चक्करमा लागेको आरोप लगाएका हुन्।

सिटौलाले वर्तमान सरकार राज्यका सबै अंगलाई कमजोर बनाएर अधिनायकवाद र सामन्तावादतर्फ उन्मुख हुनलागेको बताए। राज्यको शक्ति सन्तुलन क्षयीकरण हुने क्रममा रहेको उल्लेख गर्दै सिटौलाले भने, ‘चौतर्फीरुपबाट राज्यका सबै अंगलाई लुलो बनाउने काम भइरहेको छ। शक्ति सन्तुलन खलबलाएर राज्यका अंगहरु क्याप्चर गर्ने बाटोमा सरकार लागेको छ।’

राज्यका अंगहरुकाबीच शक्ति सनतुलन कायम हुन नसके संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानसभाबाट जारी नयाँ संविधानले सही बाटो लिन नसक्ने सिटौलाको तर्क छ। राज्यका निकायलाई गलत बाटोमा लैजानबाट जोगाउन कांग्रेस पनि नयाँ ढंगबाट अघि बढ्नुपर्ने उनले बताए। ‘सामन्ती व्यवस्था त त हामीले फाल्यौं तर राज्य व्यवस्थामा अझै सामन्ती संस्कार कायमै छ,’ सिटौलाले भने, ‘कम्युनिस्ट पार्टीहरु मात्र होइन कांग्रेसमा पनि त्यहीं संस्कार छ त्यसबाट अब मुक्त गर्नुपर्छ।’

कांग्रेस आफैं सही बाटोमा नहिंडी अरुलाई राम्रो बाटोमा डो¥याउन नसक्ने जनाउँदै सिटौलाले पार्टी नेतृत्वले पनि आफूलाई समयअनुसार परिर्वतन गर्नुपर्ने बताए। ‘व्यवहार आफ्नो स्वार्थका लागि गर्ने तर भाषण राष्ट्रका लागि गर्नुको अर्थ छैन,’ सिटौलाले भने, ‘हामी पुराना नेताको लिगेसी बनेको भन्दै त्यहीं व्यवहार र नीतिमा हिँड्छौं भन्ने संकल्प गरौं। त्यसपछि कांग्रेसभन्दा बलियो कुनै पार्टी हुँदैन । बलियो छौं भन्दैमा सुतेर हुँदैन।’

कांग्रेस अरुले दिएको घरमा नबस्ने भन्दै सिटौलाले आफ्नो शैलीमा आफ्नै घरमा बस्नुपर्नेमा जोड दिए। ‘सधैं गुनासो र गनगन गरेर पार लाग्दैन। अब नयाँ बाटो निर्माणमा लाग्ने तागत जुटाउनुपर्छ,’ उनले भने, ‘कम्युनिस्टको जस्तो शत्रु भन्ने शब्द कांग्रेसको डिक्सनेरीमा छैन। कम्युनिस्ट सरकार गलत बाटोमा लागे रोक्न चट्टान भएर उभिन तयार हुनुपर्छ।’

कार्यक्रममा नेता गगनकुमार थापाले संविधानभसाबाट जारी संविधान जोगाउने र कार्यान्वयन गर्ने जिम्मेवारी कांग्रेसकै काँधमा रहेको बताए। संविधान निर्माण र लोकतान्त्रिक गणतन्त्रको नेतृत्वकर्ता पार्टी कांग्रेस नै भएको जिकिर गर्दै थापाले वाम गठबन्धन दक्षिणपन्थतर्फ ढल्कन थालेको बताए। ‘कांग्रेसलाई वाम गठबन्धनबाट डर होइन यो दक्षिणपन्थी गठबन्धन बन्छ कि भन्ने मात्र डर हो,’ थापाले भने, ‘कांग्रेसलाई यसले प्रतिस्पर्धी होइन दुस्मन मानिरहेको छ। हामी उनीहरुलाई हराउन चाहन्छौं। तर उनीहरु हामी (कांग्रेस) लाई समापत गर्न चाहन्छन्।’

निर्वाचनबाट उदाउने अधिनायकवादबाट संसारभरि उदार लोकतन्त्र खतरामा परिरहेको सुनाउँदै थापाले भने, ‘हामी सकिन्छौं कि रहन्छौं ठूलो कुरा होइन तर कांग्रेस सकिँदा उदार लोकतन्त्र पनि सकिन्छ।’

निर्वाचनमा पार्टी पराजित भए पनि निरास र हतोत्साहित हुनुपर्ने कारण नभएको बताउँदै थापाले कांग्रेसले राजनीति जिते पनि निर्वाचन भने हारेको धारणा राखे। ‘हामी राजनीति मात्र होइन निर्वाचन पनि जित्न चाहथ्यौं तर हा-यौं,’ उनले भने, ‘गणतन्त्रका लागि आफूहरु पुतली सडक र बागबजारमा कुदिरहँदा ‘बयलगाढा चढेर अमेरिका पुगिन्न’ भनी हाम्रो आन्दोलनलाई व्यंग्य गर्नेहरु अहिले सिंहदरबारमा प्रधानमन्त्रीका रुपमा छन्। त्यसअर्थमा हामी गौरवान्वित छौं।’

कार्यक्रममा अर्का नेता प्रदीप पौडेलले नेपाललाई जोड्ने पार्टी कांग्रेसमात्रै भएको दाबी गरे। हिमाल, पाहाड र मधेसमा पुग्न सक्ने पार्टी कांग्रेसमात्र भएको तर्क गर्दै उनले पाँच वर्षभित्र बहुमत ल्याउनेगरी काम गर्नुपर्ने बताए। ‘त्यसका लागि पार्टीको सांगठनिक संरचनामा आमूल परिर्वतन गरेर जानुपर्छ,’ पौडेलले भने, ‘पाँच वर्षमा कम्तीमा १५ लाख मतदाता आफ्नो पक्षमा पार्नुपर्छ।’

प्रकाशित मिति :- ३ चैत्र २०७४, शनिबार ११:३०