नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले ओली सरकार लोकतन्त्रलाई विस्थापित गर्न लागिपरेको आरोप लगाएका छन् । सोमबार नेपाल शिक्षक संघका नवनिर्वाचित पदाधिकारीहरुका लागि आयोजना गरिएको ‘बधाई तथा शुभकामना’ कार्यक्रममा नेता भट्टराईले वर्तमान सरकार लोकतन्त्र विस्थापित गर्न प्रयासरत रहेको आरोप लगाएका हुन ।

‘‘ओली सरकारले संविधानमाथि प्रहार गरेर लोकतन्त्र कमजोर बनाउने खेल सुरु गरिसकेको छ,’’ उनले भने, ‘‘यसले लोकतन्त्र फष्टाउँदैन, कमजोर बनाउँछ ।’’ उनले यसबारेमा कांगे्रसले गम्भीर रुपमा सोच्नुपर्ने आवश्यकता औंल्याए ।

न्याय परिषद्का सचिवहरुबाट सर्वोच्च अदालतका प्रधान्याधीशलाई हटाउने काम भएको भन्दै नेता भट्टराईले संवैधानिक निकायमाथि प्रहार गरिनुको उद्देश्य के हो भनेर भनेर प्रतिप्रश्न गरे । सरकारलाई जनताको भन्दा आफ्ना कार्यकर्ताको चिन्ता रहेको भन्दै उनले एमाले–माओवादी आफ्ना कार्यकर्ताको भरणपोषणमा लागेको टिप्पणी गरे । ‘‘लोकतन्त्रमा जनतन्त्रको लागि आवरणमा केही गरेजस्तो गर्ने तर भित्री रुपमा कम्युनिष्ट सरकारले आफन्तहरुलाई संरक्षण गर्ने र लोकतन्त्रलाई कमजोर बनाउने खेल खेल्दैछ,’’ कांग्रेस नेता भट्टराईले भने ।

शिक्षक संघ कांग्रेस पार्टीको वैैचारिक तथा शिक्षित संगठन भएको जिकिर गर्दै उनले लोकतन्त्रको रक्षाका लागि शिक्षक संघले निरन्तर रुपमा धारणा सार्वजनिक गर्नुपर्नेमा जोड दिए । उनले थपे, ‘‘युवाहरुमा लोकतान्त्रिक मनोविज्ञान निर्माण गर्न भूमिका खेल्नुपर्छ, चुनाव जित्नु भन्दा समाजका अपेक्षा पूरा गर्नका लागि धेरै चुनौतिहरु हुन्छन्, त्यसलाई चिर्नुपर्छ ।’’

कार्यक्रममा नेपाल तरुण दलका महासचिव भूपेन्द्रजंग शाहीले निर्वाचनमा पराजित भएको कांग्रेसलाई पुनर्जीवन दिनका लागि वैचारिक रुपमा शिक्षक संघको महत्वपूर्ण भूमिका रहनुपर्नेमा जोड दिए । ’

कार्यक्रममा नेपाल शिक्षक संघका नवनिर्वाचित अध्यक्ष राजेन्द्र पौडेलले कांग्रेस र नेपाल विद्यार्थी संघसँग नजिक रहेर आगामी दिनहरुमा सशक्त रुपमा अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।

प्रकाशित मिति :- ५ चैत्र २०७४, सोमबार १६:००