देउवा नेतृत्वमा रहेसम्म काँग्रेसले गति नलिने : कोइराला

नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले सभापति शेरबहादुर देउवा नेतृत्वमा रहेसम्म कांग्रेसले गति नलिने धारणा व्यक्त गरेका छन् । उनले वर्तमान नेतृत्व परिवर्तन नभएसम्म पार्टीले गति लिन नसक्ने बताए । संवाददाताहरुसँग कुराकानी गर्दै कोइरालाले पार्टी संगठन चलायमान हुन नसक्दा ध्वस्त भएको बताए।

कोइरालाले दुई महिनामा गर्नुपर्ने काम सभापति देउवाले दुई वर्षमा पनि गर्ननसकेको भन्दै आक्रोश पोखे । उनले भने, “दुई वर्ष पुग्यो पदाधिकारीको पनि नियुक्ति हुन सकेको छैन ।” सभापति देउवाप्रति निकै कडा प्रतिक्रिया दिँदै उनले भने, “पार्टी हारेको होइन व्यक्ति हारेको भन्दै हुनुहुन्छ । जबसम्म उहाँले पार्टी हारेको हो त्यसको जिम्मेवारी सभापतिको हैसियतले मैले लिन्छु भन्नु हुन्न त्यो दिनसम्म पार्टी अघि बढ्न सक्दैन ।”

विधानसम्मत समयमै महाधिवेशन गरेर पार्टीलाई गति दिनुपर्ने कोइरालाको भनाई थियो । एक वर्ष ११ महिना समय रहेको भन्दै उनले यहीभित्र विधान अधिवेशन र महाधिवेशन गरेर पार्टीलाई जीवन्त बनाउन माग गरे।

कोइरालाले अहिलेका अर्थमन्त्री डा युवराज खतिवडा गभर्नर हुँदा र राष्ट्रिय योजना आयोगको उपाध्यक्ष हुँदा आर्थिक अनुशासन भताभुङ्ग भएको भन्दै नेपालको अर्थतन्त्रलाई कम्युनिष्ट अर्थमन्त्रीहरुले नै प्रभावित पारेको आरोप लगाए।

कोइरालाले जनआन्दोलनपछि भएका सरकारमा अर्थ मन्त्रालयको नेतृत्व ७६ प्रतिशत कम्युनिष्ट र २४ प्रतिशत काँग्रेसले गरेको भन्दै अर्थतन्त्र बिगार्ने काममा काँग्रेस नभएर कम्युनिष्टहरु नै जिम्मेवार रहेको आरोप लगाए।

प्रकाशित मिति :- २९ चैत्र २०७४, बिहीबार १५:१७