भोलि के बन्ने, कहिले भन्ने ?

लक्ष्य बिनाको मानिस हुन्न
लक्ष्य भएको हुन्छ
लक्ष्य बिनाको मानिस साँच्चै
बानर जस्तै हुन्छ

यति पढेपछि सरले हामी विद्यार्थीलाई सोधे – ‘ल तिमार्को चाहिँ लक्ष्य के के छ भनओ त ।’

कक्षा ५ को नेपाली विषयमा थियो ‘लक्ष्य’ शीर्षकको यो कविता । कविताको छेउमा कोरिएको थियो एउटा चित्र । धनु तन्काएर निशाना साँध्दै गरेको पुरुष । लक्ष्य भनेको त्यसैगरी ध्यान दिएर एक ठाउँमा ताक्नु हो रहेछ भन्ने बुझियो त्यतिबेला ।

साथीहरूले पालैपालो जीवनको लक्ष्य भन्न थाले । डाक्टर, पाइलट, इन्जिनियर….। प्रायः सबैले यही दोहोर्याउँदै गए । जीवनमै पहिलोपटक यो प्रश्नको सामना गर्दै थिएँ म कि, ‘भोली के बन्ने ?’

त्यसअघि कसैले यस्तो प्रश्नपनि हुन्छ भन्ने थाहा समेत दिएका थिएनन् । म तेश्रो हो वा चौथो बेन्चमा बसेको थिएँ । पालो मेरो पनि आउँदै थियो । के भन्ने होला ? छट्पटी भइरहेको थियो । लक्ष्य नै सोचिसकेको छैन भनुँ भने पनि भर्खरै ‘लक्ष्य बिनाको मानिस साँच्चै बानर जस्तै हुन्छ’ भनेको सुनियो । साथीको अगाडी बाँदर बन्न पनि त भएन । कस्तो बिलखवन्द ।

अरुभन्दा फरक देखिनुपर्ने थियो, मेरो बानी । किताबको पाना छिटोछिटो पल्टाउन थालेँ । एउटा पेजमा स्काउटबारे लेखिएको भेटेँ । त्यो पढिसकेको पाठ थियो । स्काउटले सेवा गर्छ भन्ने झट्ट सम्झेँ । ‘ल ठिक छ । अब यही भन्छु’ मैले तत्काल निर्णय लिइहालें ।

‘तँ चैं भविष्यमा के बन्छस् नि ?’ मैले निर्णय गरिसक्दा नसक्दै सरले सोधिहाले । हत्तपत्त किताब बन्द गरें । जुरुक्क उठेँ ।
अनि फ्याट्टै भनें– ‘स्काउट ।’

‘स्काउटको काम के हो थाहा छ ?’ सरले प्र्रश्न तेर्स्याए ।

‘सेवा गर्ने ।’

अघि भर्खर किताबमा झलक्क देखेको त्यही थियो, भनिदिएँ ।

‘ल बस्’ सरले पछिल्लो बेञ्चतिर जाने इशारा गरे । मेरो खड्को टर्यो । ढुक्कले बसेँ । यस्तो लाग्यो, सबैभन्दा दाम्मी कुरा मैले नै भनेँ । त्यस उप्रान्त स्काउट बन्छु भनेर न मैले कतै भनेँ । न स्काउट बन्ने कसरी भनेर खोजी नै गरेँ । अहिले सम्झिँदा लाग्छ– सही गफ दिएछु उबेला ।

जसको अभिभावक हरेक साँझ ‘भोलि पसलेले चामल उधारो दिन्छ कि दिँदैन होला ?’ भन्ने प्रश्न सिरानी हालेर निदाउँछन्, उसले ‘भविष्यमा के बन्ने ?’ भन्ने प्रश्नलाई कहाँ त्यति चाँडै चिन्न पाउँछ र ? त्यस्तै त थियो मेरो हालत ।

म भर्खर बुवाको नाम लिएर पसलेसँग चामल उधारो माग्ने तरिका सिक्दै थिएँ । पैँचो मागेको पिठोको ढिंडो खाँदै गर्दा मेरै घरको आँगन हुँदै कतै जान आँटेकी केटी साथी देखे लाजले ढिंडो लुकाउन सिक्दै थिएँ । ती दिनमा कसले सिकाउनु मलाई कि, भोली के बन्नुपर्छ । फेरि सिकाएका सबै कुरा सिक्नेको लागि उपयुक्त हुन्छ भन्ने पनि त होइन । सिकाइको पनि त चरण हुन्छ ।

विसं.२०६८ म सालमा काठमाण्डौं आएँ । २०७० तिर संयोगले सर्वनाम थिएटर पुगेँ । नाटकबारे थाहा पाएँ । अभिनयबारे थाहा पाएँ । अनि पो मलाई महसुस भयो, म भित्र ओझेलमा बसेको अभिनयको क्षमतालाई अगाडि हिँडाउने बाटो त यो पो रहेछ ! त्यसपछि नै त हो, अभिनेता बन्ने सपना बोकेर हिँडेको मैले । यदि त्यतिबेला त्यहाँ नपुगेको भए मैले आफूभित्रको क्षमता पहिल्याउन नसकेर यत्तिकै बरालिँदै हिँड्न पनि त सकिन्थ्यो होला ।

यसरी हेर्दा जीवनमा के बन्ने भन्ने कुरा त ‘यस्तो पनि बन्न मिल्ने रहेछ’ भन्ने थाहा पाएपछि पनि क्लिक हुन सक्दोरहेछ त । अझ भनौँ, संसार बुझ्दै गएपछि, जीवनको अर्थ महसुस गर्दै गएपछि पो ठोस रुपमा लक्ष्य निर्धारण गर्न सकिने रहेछ । नत्र सानैमा भनिने लक्ष्यका कुराहरू त अधिकांश चाहिँ कि देखासिकी कि परिवार वा समाजबाट लादिएको कुरा पो हो रहेछ ।

गुलजारले लेखेको एउटा गीत छः

तुझ से नाराज नहीं जिन्दगी, हैरान हुं मैं, हो.. हैरान हुं मैं
तेरे मासुम सवालों से परेशान हुं मैं, हो..परेशान हुँ मै

यो दोश्रो पंक्तिले साह्रै छोएको छ मलाई । ‘तेरे मासुम सवालाें से परेशान हुं मैं’ ।

जिन्दगीले कति कतिपटक केही निर्दोष प्रश्न गरिरहन्छ । र, मलाई थाहा छ प्रायः आफैंभित्रका प्रश्नहरू जटिल हुन्छन्, अरुले सोधेको भन्दा । जिन्दगीले अचेल ‘खासमा के हो तेरो लक्ष्य ?’ भनेर एउटा यस्तै जटिल प्रश्न सोधिरहेछ मलाई ।

महावीर विश्वकर्माका यसअघिका ब्लगः

शुभकामनाको ‘फर्म्याट’

बहकिने मन : एउटा ‘रिजेक्टेड’ कार्यक्रम

उबेला कक्षा ५ मा सरलाई जवाफ दिन छट्पटी भइरहँदा अभिनय त मेरो कल्पनाभन्दा पनि निकै परको विषय थियो । जुन अहिले मेरो सपनाको क्षेत्र भएको छ । तर, यति हुँदाहुँदै पनि लक्ष्य नै स्पष्ट किटान गर्न भने अझैपनि म अलमलमा परिरहेछु । किनकि, सपनाबारे स्पष्ट भइरहँदा समाजमा विद्यमान सबैखाले उत्पीडनको विरुद्ध लड्नुपर्ने जिम्मेवारी आफूमा छ भन्ने बोध भएको छ मलाई । यसको लागि सबैभन्दा प्रभावकारी माध्यम भनेको राजनीति नै हो । म चाहन्छु, सपना र जिम्मेवारीको फ्युजनबाट छिट्टै नै लक्ष्य निर्धारण गर्न सकुँ ।

मैले यस्ता धेरै व्यक्तित्व भेटेको छु, जो सँग जीवनको लक्ष्य नै छैन । जसरी आयो जिन्दगी त्यसैगरी स्वीकारें भनिरहेछन् उनीहरू । बढीमा जिन्दगी सहज तरिकाले बाँच्ने प्रयास मात्रै गरिरहेछन् । यसरी पनि हुँदैन । लक्ष्य त आखिर हुनैपर्छ जिन्दगीको ।

तर, त्यो लक्ष्य निर्धारणका लागि पहिले व्यक्ति स्वयं समाज, संसार र जीवनको अर्थ बुझ्न सक्ने चाहिँ हुनुपर्छ । नत्र, हामीले निर्धारण गर्ने लक्ष्यले कतै हामीलाई मेशिन जस्तो त बनाउँदैन ?

मैले यति तानाबाना बुनेर भन्न खोजेको चाहिँ यत्ति नै हो ।

प्रकाशित मिति :- १७ बैशाख २०७५, सोमबार १७:४८