बलिदानी दिवसमा जय मधेश : संविधान संशोधनको आवाज फगत मजाकजस्तो !

– रणधीर चौधरी

दशक अगाडि घन्किँदो नारा थियो – जय मधेश ! नेपाललाई भौगोलिक हिसाबले हिमाल, पहाड र तराई नामाकरण गरी ३ खण्डमा चर्चा हुँदै आइरहेको थियो । तर मधेश शब्दले यथोचित स्थान समेत पाउन सकेको थिएन । मधेश शब्दभित्र लुकेको अवयव थियो – एउटा खास समुदायको पहिचान । त्यस्तो समुदाय जसको जनसंख्या झण्डै ३६ प्रतिशत छ ।

नेपाल राज्यको मिसनरीहरूमा जनसंख्याको अनुपातमा आफ्नो उपस्थित दर्ज गराउन नपाएर आफूलाई वञ्चितीकरणमा पारेको अनुभूति यो समुदायले लामो अवधिसम्म गरेकै थियो ।

विक्रम संवत् २०१० सालमा कांग्रेसबाट अलग्गिएर तराई कांग्रेस खोलेर मधेशीको पहिचानलाई केन्द्रमा राखी बेदानन्द झाले राजनीति थालेको इतिहास छ । जाबो राजदूत पदको लागि राज्यसत्ता अगाडि लम्पसार भई आत्मसमर्पण गरेर वेदानन्द एउटा ‘प्रवृत्ति’ नै बन्न गयो । त्यो प्रवृत्तिबाट अहिलेको मधेशी राजनीति अछुतो छैन । पछिल्लो मधेश आन्दोलनपश्चात् अनेकन बेदानन्द जन्मिएका छन् ।

२०४७ सालमा गजेन्द्रनारायण सिंहले नेपाल सद्भावना पार्टी गठन गरेपश्चात् मधेश हितको लागि भनिएको आन्दोलनले नेपाली राज्यसत्तालाई एकधक्का नलगाएको होइन । त्यसपश्चात् २०६२–०६३ को आन्दोलनमा माघ ५ गते सिरहाको लहानमा रमेश महतोको गोली हानेर हत्या भयो । महतो हत्या घटनापश्चात् मधेशमा आन्दोलनले तीव्रता पाएको थियो । महतोको हत्या भएको दिनलाई मधेशमा बलिदानी दिवस भनेर भनिन थाल्यो ।

पटक–पटक मधेश आन्दोलन भयो । मधेशले उठान गरेको प्रमुख मुद्दा थियो – संघीयता (अपना शासन, अपना प्रशासन), समावेशी समानुपातिक व्यवस्थाको माध्यमले राज्यको हरेक निकायमा सीमान्तकृत अस्तित्व ।

पहिलो मधेश आन्दोलनमा तत्कालीन आन्दोलनकारी समूहले ‘समग्र मधेश एक प्रदेश’को माग उठायो । तर पश्चिम मधेशको असन्तुष्टि पश्चात् ‘समग्र मधेश २ प्रदेश’को माग व्यावहारिकसिद्ध भएको थियो । तर मधेश अहिले खण्डित भएको छ । राज्य पुनर्संरचना गर्दा अहिले अस्तित्वमा देखिएको छ छोटा मधेश (प्रदेश नम्बर २) ।

मधेशवादी दलहरू पनि प्रदेश २ मै केन्द्रित भएको देखिन थालिएको छ । पछिल्लो पटक सम्पन्न भएको चुनावमा मधेशवादी दलहरू बिचल्लीमा परेको देखियो । संघीय समाजवादी फोरम नेपालले त संविधान पुनर्लेखनको मुद्दालाई राज्य सत्तासामु बिसर्जन गर्दै चुनावमा होमिएको थियो । राष्ट्रिय जनता पार्टी नेपालले स्थानीय तहको चुनावमा प्रदेश २ बाहेकका प्रदेशमा भाग लिएन्न । तर नाटकिय ढंगले प्रदेश २ मा लिएको थियो ।

यसले के प्रष्ट गरेको थियो भने यी दलहरूमा आन्दोलन गर्ने उर्जा सञ्चित गर्ने क्षमताको अभाव रह्यो । राजपाका विभिन्न अदूरदर्शी पाइलामध्ये एक थियो प्रदेश नम्बर २ मा स्थानीय तहको चुनावमा भाग लिनु । जसका कारण पश्चिमका मधेशवादी नेताहरू पार्टीबाट बिमुख हुन पुगे । नेपाली राजनीतिको डीएनए बुझेका एवं मधेशवादी राजनीतिमा उचो कद भएका हृदयेश त्रिपाठीजस्ता नेताहरू असन्तुष्ट हुन पुगे । त्यही कारण हो – वर्तमान अवस्थामा पश्चिम मधेशमा मधेशवाद कमजोर पर्न गएको छ ।

राज्य सत्तासँगको लडाइमा आममधेशी जनताले आन्दोलनको बेला भएको आफ्ना सारा ऊर्जा आन्दोलनमा लगाएको थियो । पछिल्लो मधेश आन्दोलन त झन् महिनौंसम्म चलेको थियो । नेपालमा सायदै त्यस्तो आन्दोलन भएको थियो । तर मधेशवादी नेताहरूको रणनैतिक चुकका कारण संविधान संशोधन हुन सकेन । मधेशवादी दलहरू भूराजनीतिक भुमरीमा पनि पर्न गएकै हुन् ।

मधेशवादबारे वकालत गर्ने राजनितिक दल इतरका मधेशीहरू जो आफूलाई कसैले विद्वानको पगडी गुथ्याइदिँदा परमानन्दको अनुभूति गर्छन्, त्यस्ता व्यक्तित्वमा पनि ‘वेदानन्द प्रवृत्ति’ हावी भएको देखिन थालियो । स्वतन्त्र भइ बसेर अधिकारको लडाइ लड्नुपर्ने आवश्यकतालाई आत्मसान नगरी मधेशवादी दलको ‘पछलगुवा’ हुनलाई धर्म ठाने । मधेश आन्दोलनको शहीदको नाम जपेर पाप कटाउन व्यस्त छन्  आजभोली, मधेश आन्दोलनका अगुवाहरू । पाएको अर्थहीन संघीयताको माध्यमले अन्तहीन विकासको पछाडि दौड मच्चाएका छन् । अधिकारको लागि संघलाई गुहार लगाउँदै दिन काटिरहेका छन् । के यस्तै संघीयताको कल्पना गरेका थिए त रमेश महतोहरूले ? मधेशवादी दलहरू चुनावमा जित्नु पूर्व आन्दोलन गर्नैपर्छ त ?

अहिलेको युग बजारीकरण हो । तर सिद्धान्तको बजारीकरण गर्नु हुँदैन । त्यस्ता सिद्धान्त जसले मुर्तरुप पायो भने अधिकारको लामो लडाइ छोटो अवधिमा फते गर्न सकिन्छ ।

संविधानको ढोका मानिने प्रस्तावनामा संघीयताको जननीरुपी मधेश आन्दोलन शब्द लेखाउन नसक्ने मधेशवादी नेताले आन्दोलनको बेला भएका हत्याहरूको छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न सफल होलान् भन्ने कल्पना समेत गर्न सक्ने परिस्थितिमा ह्रास आउन थालेको छ । मधेशवादी भनाउँदा दलहरू दुईतिहाइको सरकारको मतियार भएर संविधान संशोधनको आवाज उठाउँदा आम मधेशीजनको लागि त्यो फगत मजाकजस्तो लाग्छ ।

पहिलो र दोस्रो मधेश आन्दोलनपश्चात् केही थान नयाँ नेतृत्वले जन्म लिएको थियो । तर सुस्तरी सत्ता र शक्तिको चासनी चाट्नमै बिलिन गराए आफूलाई, नवउदयी नेताहरूले । थरुहट क्षेत्रमा त कुशल नेतृत्वको सदैव खाँचो नै रह्यो ।
समग्रमा अहिलेको नेतृत्वबाट मधेश विद्रोहको माग सम्बोधन हुने छाँटकाँट समेत समाप्त भएको छ । औंलामा गन्न सकिने मधेशी नागरिक समाजका अगुवाहरूमध्ये अधिकतम् ‘वेदानन्द प्रवृत्ति’का शिकार भइसकेको अवस्था छ ।

अहिलेको आवश्यकता के छ भने मधेश मुद्दाको सान्दर्भिकता बुझ्ने युवा एकजुट हुनुपर्छ । पूर्वदेखि पश्चिमसम्मको मधेशी एवं थरुहटको भावनालाई जिवन्त राख्न सक्नुपर्छ । अधिकारको लडाइ समाप्त भएकोजस्तो देखिएपनि सखाप भने हुँदैन । बलिदानी खेर गएको नजिर खासै छैन संसारमा । मधेश आन्दोलनले यो स्तम्भकारजस्ता अभियन्ता नजन्माएको होइन । जय मधेश !

प्रकाशित मिति :- ६ माघ २०७५, आईतवार ००:४०