×
प्रदेश नं. १ प्रदेश नं. २ प्रदेश नं. ३ प्रदेश नं. ४ प्रदेश नं. ५ प्रदेश नं. ६ प्रदेश नं. ७
गृहपृष्ठ विचार/ब्लग राजनीति अन्तर्राष्ट्रिय समाज खेलकुद अर्थ
  • २०७६ मंसिर २३, सोमवार
थ्यांक्स गड, म कम्युनिष्ट भइन
  • कुसुम भट्टराई

  • काठमाडाैं

  • १४ माघ २०७५, सोमबार
  • – कुसुम भट्टराई

    रत्नराज्य स्कूलमा पत्रकारिता पढन भर्ना हुँदा मलाई विशाल भट्टराई, राजन भट्टराई, जिवराज आश्रित र पछि इश्वर पोखरेलले समेत प्रारम्भीक कमीटीमा आवद्ध हुन र विस्तारै विद्यार्थी राजनीति हुँदै कम्युनिष्ट पार्टीमा सक्रिय हुन सल्लाह दिएका थिए ।

    मैले भनेको थिएँ, ‘पहिला कम्युनिष्टका बारेमा बुझ्छु, तब मात्र कुनै सोच बनाउँला ।’

    बुबा (रामचन्द्र भट्टराई)ले ल्याएका केही किताबहरु पढियो । गोर्कीको ‘आमा’, निकोलाइ अस्त्रोभस्कीको ‘अग्नीदिक्षा’, लु स्यूनको ‘युवाहरुको गीत’, एँगेल्सको ‘प्राणीको उत्पत्ति र विकास’, लेनिनका केही संकलीत रचना र माक्र्सका केही किताब पढियो । विस्तारै कम्युनिष्ट भन्ने ठिकै हो कि भन्ने लागिराखेको थियो । चीनमा माओका किस्सा सुनिएको थियो र त्यसबाट पनि प्रभावित भइएको थियो ।

    चौथो महाधिवेशनपछि मदनको जनताको बहुदलीय जनबादमार्फत कम्युनिष्टहरु पनि बहुदल मानेर आएको देख्दा यिनले स्टालीनकालीन गल्ती गर्दैनन् भन्ने पनि लागेको थियो । यो १९९० लगत्तैको कुरा हो, त्यसैबेला एउटा रोचक घटना भयो । सोभियत संघमा मिखाइल गोर्भाचोभकले ‘पेरस्त्रोइका र ग्लास्तनोस्त’ सुधारबादी खालका कार्यक्रम ल्याएका थिए र हार्डलाइनरहरु रुष्ट थिए । यस्तैमा एक दिन हार्ड लाइनर नेता गेन्नाडी यानायेभले रुसी सत्तामा कूको कोशीस गरे ।

    यता, नेपालमा बहुदलीय पद्धतीमा आउँछौं भनेका र आइसकेका कम्युनिष्ट भनाउँदाहरुले यानायेभको समर्थनमा विज्ञप्ती जारी गर्दै चर्का कुरा गर्न थाले । अहो, नेपालका कम्युनिष्टहरुको नियत निको रहेनछ भन्ने पोल खुलिहाल्यो । यानायेभको कू चौबिस घन्टा पनि टिकेन र बोरीस यल्तसीन रुसका नयाँ नेताका रुपमा उदाए ।

    म यो कुरा किन स्मरण गरिरहेको छु भने रुसको सो घटनामा कम्युनिष्टहरुको दोहोरो चाल देखेर नै ममा कम्युनिष्टप्रति मोह भँग भो र पत्रकारितातिरै बढी म सक्रिय भएँ। पार्टी राजनीतिमा लागिन । पत्रकारिताका लागि मलाई लिबरल डेमोक्रेसी नै जरुरी थियो र अहिले पनि छ । किनकी, लिवरल डेमोक्रेसीमा मात्र प्रेस स्वतन्त्रताको पूर्ण ग्यारेन्टी हुन्छ। आजको युगमा अब यो लिवरल डेमोक्रेसीलाई वेलफेयर र सोसियल जस्टीस उन्मुख बनाउन शिक्षा र स्वास्थ्यलाई राज्यको जिम्मेवारीभित्र राख्ने र मेडिकल र शैक्षिक माफीयालाई परास्त गर्ने मात्र हो, यति भए पुग्छ ।

    थ्याँक्स गड, म कम्युनिष्ट भइन । किनकी, आज नेकपाको दुइ तिहाईको सरकारले लिवरल डेमोक्रेसीको मात्र मर्ममाथि प्रहार गरेको छैन, वेलफेयर र सोसियल जस्टीसको मर्ममाथि पनि प्रहार गरेर चिकित्सा शिक्षा विधेयक पास गरेको छ । कम्युनिष्ट भनाउँदाहरु माफीयाको चँगुलमा फँसेका छन् ।

    कम्युनिष्टहरु, त्यसमा पनि नेपालका कम्युनिष्टहरु यो देशका लागि उपयुक्त शक्ति हैनन् रहेछन् भन्ने आज पुनः पुष्टी भएको छ र म आफु कुनै कम्युनिष्ट पार्टीको सदस्य नभएकोमा गर्व पनि गर्दछु कि मेरो यौवन कुनै फोकटीया सँगठनमा बितेन । तर, मलाई खेद छ, मेरो परिवारले सारा जीवन यीनै लोभी पापीहरुको संगठनमा बितायो र आज पनि बिताइरहेको छ ।

    रुपन्देहीका बाम नेता गोपीरमण उपाध्याय पछि एमालेको पार्टी स्कुलका अगुवा भए । म सानो हुँदा उनी बारम्बार ‘कम्युनिष्टहरु भ्रष्ट हुँदैनन्, जनताको केही लिदैनन्, जनताको दुःखमा साथ दिन्छन्’ भनेर खुबै सम्झाउने कोशीस गर्थे । बहुदल आएपछि रुपन्देहीकै एकजना नेताले मणिपाल कलेजको स्वीकृती दिदा करोडौं भ्रष्टाचार गरेको कुरा सुनें । एमालेको नौ महिने सरकारका पालामा आपुर्ती मन्त्री सिपी मैनालीको नाम चिनी कान्डमा मुछीयो । विवाद बढदै गयो । एक दिन मैनालीले कान्तिपुरमा भने, ‘मलाई पार्टी खर्च जुटाउन पार्टीले नै भ्रष्टाचार गर्न भनेको हो ।’

    काँग्रेसका त केही नेताहरुले भ्रष्टाचार गर्थे । तर, एमालेको त पार्टी नै भ्रष्टाचारमा लागेको रहेछ । हो, त्यसैदिनदेखि मुलुकमा संगठीत भ्रष्टाचारको सँस्कृति मौलाएको हो । हालैको वाइडबडी विमान खरिदमा भएको भ्रष्टाचार पनि फगत मन्त्री रविन्द्र अधिकारीको मात्र हैन, यसमा समग्र नेकपा नै ‘इन्भल्भ’ भएको हुनसक्ने आशँका गर्न सकिन्छ । एउटा मन्त्रीको बलबुतामा त्यति ठूलो भ्रष्टाचार हुनै सक्दैन ।

    एमाले र माले विभाजनताका घनश्याम भुषाल र योगेश भट्टराइहरुले एउटा बुकलेट निकालेका थिए । त्यसमा वर्तमान प्रधानमन्त्री ओलीदेखि माधव नेपालसम्मको भ्रष्टाचारका काण्ड भण्डाफोर गरिएको थियो । उता, इश्वर पोखरेलले खुलामंचमै ‘यो देशको नम्बर एक भ्रष्टाचारी बामदेव हुन्’ भनेका थिए । एमालेको युवा सँगठनले लडाकुको राशनमा प्रचण्डले घोटाला गरेको भन्दै अख्तियारमा उजुरीसमेत हालेका थिए । आज एकले अर्कालाई भ्रष्टाचारी देख्ने बामदेव, इश्वर पोखेरल, प्रचण्ड र योगेशहरु सबै नेकपामा छन् । थ्याँक्स गड, मैले यी भ्रष्टहलाई नेता मान्नु परेन, किनकी म कम्युनिष्ट भइन ।

    झापा विद्रोहका नेता मोहनचन्द्र अधिकारी सायद त्यो हिंशात्मक आन्दोलनबाट विक्षिप्त भएका छन् । उनी अचेल गिता पाठ गर्न थालेका छन् । जीवनभर पृथ्वीनारायण शाहलाई ‘विस्तारबादी’ भन्दै आएका मोदनाथ प्रश्रीतको सोच बदलीएको छ, उनले पृथ्वीनारायण शाहको योगदानको मर्म बुझेका छन् र कम्युनिष्टहरुको बिगतको पाखण्डपूर्ण सोचमाथि प्रश्न खडा गरीरहेका छन् । झापाका नेता राधाकृष्ण मैनालीले पनि कम्युनिष्टका कतिपय पाखण्डपूर्ण नीतिको विरोध गर्न थालेका छन् । देवी ओझा कम्युनिष्ट राजनीतिको विकृती देखेर पलायन भइसकेका छन् । बाबुराम भट्टराईलाई पनि कम्युनिष्टको नाम बेचेर राजनीति गर्न अचेल लाज लाग्न थालेको छ ।

    आहुती भन्छन्, ‘प्रचण्ड र ओली कम्युनिष्ट नै हैनन् ।’ गोपाल किराँती भन्दैछन्, ‘प्रचण्डले जनजातीमाथि गद्दारी गरे । मोहन बैद्य भन्दैछन्, ‘प्रचण्ड दलाल पुँजीपती भइसके ।’ विप्लव भन्दैछन्, ‘प्रचण्ड र ओली दुबै हिजोका सुर्यबहादुर थापा हुन् ।’ थ्याँक्स गड, म यी कुनै पनि कित्तामा परीन, म कम्युनिष्ट भइन ।

    शान्ता मानवी, कविता पौडेल, गोमा देवकोटा र मैयाँ भट्टराइहरुको पार्टी नेकपामा अचेल कोमल वली र अन्जान शाक्यहरुको रजगज छ । राज्यका अवसर र लाभहरुमा प्रधानमन्त्री ओलीका भाइ, भतिजा, साला, साली र भान्जीहरुको हैकम छ । कम्युनिष्ट पार्टी अचेल एउटा ठूलो डिस्को क्लबमा परिणत भएको छ, जहाँ कम्युनिष्ट नेताहरु विदेशी डिजेको तालमा भ्रष्टाचारको वस्त्रहीन क्याब्रे डान्स गरीरहेका छन् । थ्यांक्स गड, मैले मैले उनीहरुको नृत्यमा ताली बजाउनु परेन, म कम्युनिष्ट भइन ।

    केपी ओलीलाई एक लाखको जुत्ता लगाउनुपर्ने। प्रचण्डलाई डेढ लाखको पलङमा सुत्नुपर्ने । विद्या भण्डारीलाई डेढ अरवको हेलिकोप्ट र करोडौंका गाडी चाहिने । साइकल चढेर चुनाव प्रचारमा गएका लालबाबुलाई अहिले सबैभन्दा धेरै गाडी चाहिने । जुझारु भनिएका रविन्द्र अधिकारीबाट साढे चार अर्बको भ्रष्टाचार हुने। सुन कान्डको कुनै अत्तोपत्तो नहुने र सिन्डीकेटवालाहरुको मनोबल झन बढदै जाने । बेइमान ठेकेदारकै घरमा प्रचण्डले डेरा जमाउने र छोरीलाई करोडौंको महल किनिदिने । कम्युनिष्टहरुको यस्तो चर्तिकलालाई थपडी मार्नु परेन, थ्याँक्स गड म कम्युनिष्ट भइन ।

    Nabintech