×
प्रदेश नं. १ प्रदेश नं. २ प्रदेश नं. ३ प्रदेश नं. ४ प्रदेश नं. ५ प्रदेश नं. ६ प्रदेश नं. ७
गृहपृष्ठ विचार/ब्लग राजनीति अन्तर्राष्ट्रिय समाज खेलकुद अर्थ
  • २०७६ मंसिर २३, सोमवार
मेराे मनकाे राजालाइ प्रेमिल पत्र
  • नेपाली स्टुडियाे संवाददाता

  • काठमाडाैं

  • २ फाल्गुन २०७५, बिहीबार
  • प्रियवर, प्रेमिल अभिवादन

    हरेक दिन आउने यो चौबीस घण्टाको समय तिमीलाई सम्झिनका लागि एक पलजस्तो मात्र लाग्छ । यी सपनाजस्ता दिन तिम्रै झझल्कोमा बित्दै बित्दै जान्छन् । मेरो हृदयको दृष्टि जहाँसम्म पुग्छ, म तिमीलाई त्यहाँसम्म देख्छु । तिम्रो सम्झना र मायालुपनलाई बहन गर्न नसक्दा बहन्छन् अश्रुबुँद अनि लछप्पैै भिज्छ मन । जब नियाल्छु सजल मन तब तिम्रै सुकुमार मुहार मुस्कुराइरहेको हुन्छ ।

    तिमीसँग बिताएको अमूल्य मिलनको कहानी मेरो हृदयको पानपाते पानामा स्मृतिको कलमले कहिल्यै नमेटिने गरी लेखेकी छु । प्यारो मान्छे, तिमी त्यो सुन्दरता हौ, जसलाई तस्वीरमा उतार्न सकिन्न । तिमी त्यो भाव हौ, जसलाई कवितामा लेख्न सकिन्न ।

    गडयाङ गुडुङ आवाज निकाल्दा चिरिएर दुई फयाक भएको आकाशको छातीबाट भएको मुसलधारे वर्षाबाट हाम्रा मुटुहरु लगलगाइरहेछन् । प्रेमको हर्ष विष्मादोन्मुख प्रतिच्छायाँमा लुकामारी खेलिरहेछन् । यी कम्पित मुटुलाई ठेगान लगाउन् मलाई तिम्रो अनि तिमीलाई मेरो मायाको न्यानो चाहिएको छ । ए न्यानो मान्छे, तिमी र म मिलेर भावनाको उर्बर खेती गर्ने किसान बनौं ।

    प्रेम शाश्वत छ । महान छ । र, दूरताले यसलाई अझ गाढा बनाउँछ । प्रेममा एक अर्काको अनुपस्थितिले यादलाई अझ प्रगाढ बनाउँछ र माया चरमोत्कर्षमा पुग्छ । विश्वभरिका राता गुलाफहरु जडेर मैले तिमीलाई विराजमान गराउन सिंहासन तयार गरेकी छु । फूलको राजा गुलाफ भएझैं तिमी मेरो जिन्दगीको राजा हौ । सधैंको लागि तिम्रो सवारी होस् अनि सुस्तरी बस है, यो गुलाफमय रक्तिम सिंहासनमा । प्रेमजस्तै कोमल र नाजुक छ यो पनि र भत्किन सक्छ ।

    मेरो महामहिम, तिमी सर्वश्रेष्ठ हौ । दिउँसो, राति, भोक, तीर्खा, निन्द्रा मलाई छुटयाउन गाह्रो परेको छ । केवल तिम्रो ख्याल छ । मेरो तीर्थ हौ तिमी र हरपल प्रेम चढाउँदैछु म तिम्रो पयरमा । लाग्छ यो शीर तिम्रै सामु झुक्न लालायित बनिरहेको छ । म तिम्रै लागि यो धर्तीमा जन्म लिए, तिम्रै लागि जीवन अर्पण गर्छु ।

    तिमी प्रेमको दूत । मेरो मृगतृष्णा । मेरो तन, मन र जीवनमा तिम्रो स्पर्शको न्यानोपनको अझ पनि अवशेष बाँकी छ । रुवा भन्दा पनि न्यानो, नरम र कोमल छौ तिमी मलाई । त्यो प्रेमिल अतीतका पानालाई मनको पुस्तकालयमा छिरेर अध्ययन गरिरहेकी छु । हाम्रो हृदय एकाकार हुँदा आनन्दको नदी कुलकुलाएको थियो । अनि हामी बहेका थियौ निरन्तर निरन्तर ।

    म सम्झिँदैछु त्यो प्रेममय क्षण एकदिन तिम्रो हातबाट रगत बगिरहेको थियो । मुटु आकारको त्यो घाउभित्र तिमीले हामी दुईजनाको नाम लेखेको थियौ । म हाम्रो अगाध प्रेम सम्झिएरस्तब्ध भएथे । तिमीले आलो रगत मेरो सिउँदोमा पोतिदियौ र मेरो हात समाउँदै भन्यौ ‘प्रिये, तिमी मेरो घाउ देख्न सक्छ्यौ र ?’ मेरो सर्वाङ्गमा भावुकताको सवारी भयो र तिम्रो हात समाउँदै बोलें ‘प्रिय, म तिम्रा हर अङ्गहरुलाई महसुस गर्न सक्छु ।’ म तिम्रो घाउको उपचारमा तत्परताका साथ लागें । घाउको अनुसन्धान गर्दै जाँदा तिम्रो मुटुमा प्रेमको आलो घाउ भेटें । आँशु र प्रेमको नीलोतुथो अनि करुणा मिसाएर तिम्रो रुमानी चोटको मल्हमपट्टी गरिदिएँ ।

    लामो समयसम्म हामीले मौनधारण गर्‍यौं र नजरहरुलाई बोल्ने मौका प्रदान गर्‍यौं । तिमी कलिला पालुवा पलाउँदा रमाएको बसन्तझै सुन्दर र खुसी देखिँदै मेरो कानमा फुसफुसाउँदै बोल्यौ– ‘तिमीले उपचार गर्दा निको हुने आत्मविश्वास पलायो ।’

    म बिर्सिन सक्दिनँ तिम्रा ती स्वर्गको आभास दिलाउने अमूल्य, अदभुत, अस्पृश्य भलकहहरु । ती भव्यताले भरिपूर्ण झलकको सहारामा मैले स्वर्गको कल्पना गरें । तिम्रो तस्वीरलाई अन्तस्करणको क्यानभासमा टाँगें । दिलको बाकसमा लुकाएँ र तिमीलाई कसैले नचोरुन् भनेर समर्पणको चाबी लगाएँ ।

    हाम्रो प्रेम दिन प्रतिदिन गहिरियो । तिमी अनुमतिविना मलाई नियाल्थ्यौ र मेरा नजर पर्नासाथ अन्तैतिर सुसेल्थ्यौ । प्रकृति र ईश्वरको सुन्दर सृष्टि तिमी, सुन्दर व्यक्तित्वको धनी तिमी, ती मिलेका दाँत खोलेर मुस्कुराउँदा म मन्त्रमुग्ध बनेर हेरिरहन्थें । हाम्रा नजरको अञ्जानमा मिलन हुँदा मेरो धडकनको चाल बढ्थ्यो । तिम्रो ढुकढुकी छाम्दा पनि हालत उस्तै थियो ।

    यो प्रेमयात्रामा तिमीले बहार बिछ्याइदियौ । स्वर्ग र सपनाको किरण छरिदियौ । अनि माया नै मायाको पुष्पवृष्टि गरिदियौ । मेरो आत्माको नदी तिर्खाएको छ, अनि तिम्रो नदीसँग मिसिएर समुन्द्रमा अनुवादित हुन चाहान्छ । ए भद्र मान्छे, समुन्द्रको नुनिलो पानीझै हुँदोरहेछ माया । जति पियो, त्यति प्यास जाग्ने । कहिल्यै तृप्ति नहुने । मायाप्रीति लगाउनका लागि एक पलजस्तो मात्र लाग्छ यो जीवन । किनकि यो असीम छ र अविराम छ ।

    ती लुटेराहरुले घमण्ड गर्नु बेकार छ, जो अर्काको सामान सकुशल लुटन पाएकोमा गर्व गर्छन् । हामीले त संसारकै अमूल्य चीजलाई आफ्नो स्वामित्वमा लिएका छौ । त्यो हो हाम्रो मन । जसलाई हिरामोती, जवाहरात, खजाना कुनै पनि महँगो कुराले किन्न सकिन्न ।

    म लठ्ठिन्छु, अर्धबेहोश हुन्छु । तिम्रो झझल्कोमा हराएर बेखबर हुन्छु दुनियासँग । तिमीलाई नसम्भिएको कुनै क्षण छैन । यो आकाशको बादल, घनघोर वर्षा, घामको उज्यालो, जुनताराको शीतलता, धर्तीको हरियाली, फूलहरुको सुगन्ध अनि सुन्दरता, शीतको माला, असीना र हिउँको साम्राज्य, हिमाल र पहाडको लहर र जुनसुकै चीजहरुले मेरो सामु स्मृतिको सौगात लिएर आउँछन् । प्रेमगीतहरु सुन्दा अझ तिमीप्रतिको अनुरागले उग्र रुप लिन्छ । यो पृथ्वीको हर कणमा तिमी भएको आभास हुन्छ ।

    तिम्रो याद आएपछि मलाई असिम नियास्रोले मर्माहत बनाउँछ । गर्दागर्दै गर्न बिर्सिन्छु, हिडदा हिडदै हिड्न बिर्सिन्छु। ए कोमल प्राणी, मात्र तिमीलाई वारम्बार सम्झिन्छु । जहाँ जाउँ, तिमी नै तिमी, हेराईमा तिमी, खोजाइमा तिमी, यो जिन्दगीको श्रुतिमधुर गजल तिमी, हाँसो, आँसु, आश्चर्य अनि गुनासो सबैमा तिमी नै तिमी । संसारभरीकै आदरणिय, अद्धितिय र प्रिय छौ तिमी मेरो लागि । यो कस्तो बेहोशी ? कस्तो रोग ? यसको उपचार खोज्दैछु म । सबैतिर मायालुको रुप देख्ने दृष्टिभ्रम हो कि यथार्थ ? दोधारमा छु । मझधारमा छु । तिम्रो महिमा गाउन, तिम्रो भव्यताको तारिफ गर्न । तिमीलाई सम्बोधन गरेर बोलाउन कुनै उपमा पनि उचित छन् जस्तो लाग्दैन् । तिमी सबैभन्दा अग्रस्थानमा छौ ।

    प्रेमको कहिल्यै ननिभ्ने आगलागीमा परेर म अविराम जलिरहेछु । अनि उम्किनै नसकिने पहेलीको बीचमा जेलिएकी छु । तिमीले जीवनमा दिएको कोशेली यो प्रीतिका बारेमा जति लेखे पनि म अनभिज्ञ हुँदैछु । तिमीले मेरो रानीमासुमै स्पर्श गरेझै लाग्छ र अन्तस्करणसम्म झट्का पुग्छ । वास्तविक प्रेममा आनन्द र बेदना दुवै सँगसँगै आउने रहेछन् । कहिले हर्षले पुलकित हुन्छु म अनि कहिले मुर्झाउँछु ।

    अब तिमी मभित्र कसैले निकाल्न नसक्ने गरी प्रवेश गरिसकेको छौ । मेरो लासमा पनि तिमीलाई साँचेको अमर माया बाँचिरहनेछ । मायालु, माया अपार र निराकार रहेछ । बोलेर, लेखेर, भोगेर नसिद्धिने । तराजुमा जोख्न नसकिने । यसको भण्डार जति रित्यायो, त्यति भरिने । साँच्चि नै माया शाश्वत रहेछ ।

    रातको शून्यतामा तिम्रो पदचापको आहटले पटक पटक ब्युँझिन्छु । तिमी आउनेछौ, मेरो छेउमा बस्नेछौ, अङ्गाल्नेछौ मलाई । जूनको शीरफूल लगाइदिनेछौ । ताराहरु जडेर सिलाएको टलटल टल्किने पछ्यौरी ओढाइदिनेछौ । चुम्नेछौ कपालका रेसा रेसा । म्वाई खानेछौ यो प्यासी अधरमा अनि मलाई न्यानो पार्न आफ्नो छातीमा टाँसेछौं । म बजाउनेछु पियानो र भायोलिनभरी प्रेमको सङ्गीत । हामी त्यो मिलनलाई हर्षोल्लास र उन्मादसहित मनाउनेछौं ।

    हामी एक अर्काविना पूरा हुन सक्दैनौं । तिमी मेरो आधा अङ्ग हौ र म तिम्रो आधा अङ्ग हुँ । हामी दुवैको सङ्गमपूर्ण रुप हो । तिम्रो र मेरो नशासँग नशा, मुटुसँग मुटु जोडिएको जस्तो लाग्छ । तिम्रो राम्रो खबर सुन्दा मन फुरुङ्ग हुन्छ र नराम्रो सुन्दा बैलाउँछ । मलाई सुनसानीमा पनि तिम्रो आवाज सुनेजस्तो लाग्छ । त्यसैले ध्यानपूर्वक सुन्छु म मौनतालाई । बेहोशीमै तिमीलाई सम्झिएर बर्बराउँछु ।

    यस्तो लाग्छ, म धनुषको ताँदोमा चढेर काणझै छुटन लागेकी छु तिम्रो निशानासम्म । त्यो निशाना तिम्रो आत्मा हो, म सुरक्षित रहने पवित्र ठाउँ । ठेगानाविनाको चिठ्ठीजस्तो थिएँ म । तिमी मेरो पत्रबाहक बन्यौ । संवेदनाको संवाहक बन्यौ । तिम्रो सम्झनाले तरङ्गित छु म । तिम्रै आकर्षणमा झङकृत छु म् ।

    तिमी पथप्रदर्शक र म पर्यटक भएर रुमानी यात्रा गरेको सम्झिन्छु । मायाको देशमा सुन्दर र महत्वपूर्ण दृश्य अवलोकन गर्नका लागि हामी भ्रमण गरेका थियौ । झरनामा नुहाएका थियौ । बँगैंचामा घण्टौ बिताएका थियौं । अचानक मेरो मुटुमा कसैले वाण हानेको थियो र म रक्तिम गुलाफको झाङ्गमुनि ढलेथें । तिमीलाई पनि त्यस्तै भएको थियो र मेरो समिपमा ढलेका थियौ । ती मुटुहरुले हामी दुवैको सामिप्यता चाहेका थिए । पुष्पपत्रहरु वर्षिएर हामी पुरिएका थियौं । परमानन्दले ओतप्रोत थियो त्यो मिलनको पल ।

    प्रेमका देवता क्युपिडले हामीलाई प्रेमी प्रेमिका बनाउन वाण हानेका थिए भन्ने दुवैले थाहा पाइहाल्यौ । हामीले राम्ररी बुझेका थियौं क्युपिडको प्रेमलीला । उनी महिला पुरुषको मुटुमा वाण हानेर एक अर्काप्रति आकर्षित गर्थे रे । अनि प्रेमको संसारमा प्रवेश गराइदिन्थे रे । प्यारा, हामीले पनि त कैयौं प्रेमपत्रहरुमा मुटुको बीचमा वाण हानेको चित्र बनाएका थियौ है ! तिमीले लेखेका प्रेमपत्रहरु जिन्दगीकै विशेष उपहार सम्झिएर मैले मखमली रुमालले बेरेर जतनका साथ साँचेर राखेकी छु ।

    क्युपिडले हामीलाई जब रङ्गीन दुनियाँमा प्रवेश गराए, तब सप्तरङ्गी इन्द्रेणीमात्र देखेका हामीले एकैसाथ पे्रमको रङ्ग पनि देख्यौं । सातवटा रङ्गहरु घुलेर एक भएपछि प्रेमको रङ्ग बन्दोरहेछ । जादुमय । अनुपम । विश्वका सात आश्चर्यको सङ्गम पनि पनि यही रङ्गभित्र रहेछ । छरिदिन पाए हुन्थ्यो यसलाई ब्रहमाण्डभरिकै मनहरुमा । सबैले भोगुन् प्रेमको वास्तविकता । किनकि प्रेमविनाको जीवन निरस र र ब्यर्थ हुन्छ । अधुरो हुन्छ । सुरविनाको सङ्गीतजस्तो । शब्दविनाको गीतजस्तो । दृष्टिविनाको आँखाजस्तो । फूलविनाको काँडाजस्तो ।

    तिमीले यो कस्तो मोहनी लगायौ ? कति मीठो । कति श्रद्धेय । कति स्वप्नील । कति निकट । मेरो मनले चाहेको मोहनी । हामी दुईलाई एक बनाउने मोहनी ।

    मलाई मायाको किनारै किनारमा स्मृतिका पत्रहरु छर्दै तिमीसामु आइपुग्न अनि तिम्रै वरिपरि बसेर ग्रन्थ लेख्न मन लाग्छ । जहाँ हाम्रो सत्यकथाको महिमा वर्णन गरिएको हुन्छ । हाम्रो सहलेखन हुनेछ त्यो । पढनेछन् प्रेमवादी पाठकहरुले । अनि यसको महत्वलाई अझ बढी बुझनेछन् ।

    हाम्रो प्रेमको फूलबारी रङ्गीचङ्गी बनोस् । यो कोपिलाइरहेको अनुराग फक्रियोस् र सर्वत्र अनुराग छरोस् । आउ, हामी मिलेर अझ नयाँ नयाँ रङ्ग र प्रकारका फूलहरुको जन्मदाता बनौं। पानी हालौं । बार बारौं । गोडमेल गरौं । यो जगतलाई अर्कैरुपमा परिवर्तन गरौं । हामीले सँगै देखेका सपनालाई साकार बनाएर विपनामा रुपान्तरण गरौं । ए आत्मीय साथी, माली बन्नका लागि तिमी राजी हुन्छौ भन्नेमा म विश्वस्त छु । विस्तारै बुझदैछु, म प्रेमको मेरुदण्ड नै विश्वास रहेछ ।

    ए मेरो मधुशाला, मदिराभन्दा पनि कडा हुँदोरहेछ मायाको मात । मदिरा त पिउन छोडेपछि मात उत्रँदोरहेछ । तर, प्रेमले एकपटक मातेपछि बारम्बार बल्झिँदोरहेछ । यसपालिको भ्यालेन्टाइन्स डेमा तिमी आउनेछौ र हाम्रो भेट हुनेछ । हामी मायाको मदिरा पिएर हाम्रो मिलनको समयलाई रङ्गीन बनाउनेछौं ।

    Nabintech