एसएलसी दिने बालिकालाई सामूहिक बलात्कार गर्ने ३ दोषीलाई १३ वर्ष कैद

 

सप्तरी जिल्ला अदालत राजबिराजले सामूहिक बलात्कार गर्ने तीन दोषीलाई जनही १३ वर्ष कैद सजायको फैसला गरेको छ। जिल्ला न्यायाधीश उमेश कोइरालाको इजलासले उनिहरुलाई जन्म कैद फैसला सुनाएको हो ।

१३ बर्ष कैद हुनेमा राजविराज नगरपालिका–४ का २४ वर्षीय शम्भु साह, वडा ८ का २८ वर्षीय नवीन दत्त र वडा ९ का २१ वर्षीय फुदिन खान रहेका छ्न । ती आरोपितलाई बलात्कारको कसुरमा आठ र सामूहिक बलात्कारको कसुरमा थप पाँच वर्ष गरी १३ वर्ष कैद सजायको फैसला गरेको अदालतले जनाएको छ।

गत २०७१ साल चैत १३ गते एसएलसी परीक्षा दिएर फर्केकी १६ वर्षीया बालिकालाई कोठामा लगी सामूहिक बलात्कार गरेको भन्दै पीडितले आरोपितसहित सातविरुद्ध उजुरी दिएकी थिइन्।

७ जनालाई उजुरी दिने मध्ये पक्राउ नपरेका शम्भु, नवीन, फुदिन, राजविराज–८ का २५ वर्षीय कमल भनिने कमलकिशोर साह र राजगढ गाउँपालिका–३ नर्घोका २० वर्षीय दिपेशकुमार यादवलाई अदालतले २०७२ वैशाख २४ गते वारेण्ट पूर्जी जारी गरेको थियो।

यता राजविराज–८ का २५ वर्षीय कमल भनिने कमलकिशोर साह , रुपनी गाउँपालिका–६ तेरहौताका २५ वर्षीय जितेन्द्र मण्डल खङ्ग र सुनसरीको गढी गाउँपालिका–६ सतेरझोराका १८ वर्षीय दीपक खेरवार यादवले २०७३ जेठ २४ गते अभियोग दाबीबाट सफाइ पाएका थिए।

प्रकाशित मिति :- १ चैत्र २०७५, शुक्रबार १७:५४