पत्रकार महासंघ बाँकेका अध्यक्ष थारुले किर्ते हस्ताक्षर गरेर रकम कुम्ल्याएको आरोपसहित अख्यिारमा उजुरी

नेपाल पत्रकार महासंघ बाँकेका पदाधिकारीहरुले किर्ते हस्ताक्षर गरेर अनियमिता गरेको भन्दै अख्तियारमा उजुरी परेको छ । नेपालगन्ज उपमहानगरपालिकासँग सहकार्य भएको कार्यक्रममा किर्ते हस्ताक्षर गरी अर्काको नामको पैसा महासंघका पदाधिकारीहरुले बुझेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय नेपालगन्जमा उजुरी परेपछि किर्ते प्रकरण सार्वजनिक भएको हो ।

नेपालगन्ज उपमहानगरपालिकाले मिडियाका लागि छुट्ट्याएको १० लाख रकम मध्येबाट महासंघले प्राप्त गरेको रकममा चरम अनियमितता देखिएको भन्दै छानविन गर्न माग गरिएको छ । गत आर्थिक बर्ष ७४÷७५ मा बिनियोजित सो बजेटबाट पत्रकार महासंघले गत जेठ ३० गते नेपालगन्जमा आयोजना गरेको ‘मिडिया दीगो विकास र यसका चुनौति बिषयक’ अन्तरक्रियामा सहभागी नभएकै पत्रकारको पनि किर्ते हस्ताक्षर गरेर महासंघका पदाधिकारीहरुले रकम कुम्लाएका छन् । पत्रकार महासंघका अध्यक्ष ठाकुरसिंह थारु, उपाध्यक्ष प्रदिप वाक्ले, सचिव तिलक गाउँलेलगायतको मिलेमत्तोमा किर्ते हस्ताक्षर भएको महासंघ कार्यसमितिकै केही पदाधिकारीहरुले बताएका छन् ।

कान्तिपुर दैनिकका बाँके संवाददाता समेत रहेका महासंघ अध्यक्ष ठाकुरसिंह थारुले नै पत्रकारकै किर्ते हस्ताक्षर गरेर रकम कुम्ल्याएपछि चौतारीले उनलाई महासंघबाट फिर्ता बोलाउनेगरी आन्तरिक परामर्श सुरु गरेको जनाएको छ । थारु प्रेस चौतारी नेपालबाट महासंघ अध्यक्षमा निर्वाचित भएका थिए । ५० जना पत्रकारले रु ५/५ सय भत्ता बुझेको किर्ते हस्ताक्षरसहितको प्रतिवेदन बुझाएर थारुले उपमहानगरपालिकाबाट विल फस्र्यौट गराएका थिए । त्यसमा पत्रकार महासंघका पूर्व अध्यक्ष धर्मेन्द्र झा, महासंघका उपाध्यक्ष विपुल पोखे्रलको समेत किर्ते हस्ताक्षर गरिएको छ ।

झा र पोख्रेलले कार्यक्रम सहजिकरण गरेवाफत ५/५ हजार रुपैयाँ बुझेको हस्ताक्षर गरिएको छ । अध्यक्ष, उपाध्यक्ष, सचिव र कोषाध्यक्षको नामै किटाएर उजुरी परेको छ अख्तियार स्रोतले भन्यो–‘छानविन गरेर दोषीमाथि कारवाही हुन्छ ।’ अख्तियारका नेपालगन्ज प्रमुख गणेश गैरेले नगरपालिकाका कागजात छानविनपछि महासंघका सम्वन्धित पदाधिकारीमाथि छानविन गरिने बताउनुभयो ।

रेडियाे सद्भावकाे सहयाेगमा

प्रकाशित मिति :- ४ चैत्र २०७५, सोमबार १०:३८