थारु संघर्ष समिति सप्तरीद्वारा आन्दोलित : वृहत् भेला देखि ज्ञापन पत्र बुझाउने

 

सप्तरीका थारु संघर्ष समिति आन्दोलित भएका छ्न । मा रेशम चौधरी लगायत ११ जनालाई जन्म कैद दिएको भन्दै सप्तरीका थारु अगुवाहरु आगामी आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।

माननीय रेशम चौधरी बचाअौं अभियान संघर्ष समितिले आज मङलबार बैठक बस्दै विभिन्न आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । अादिवासी जनजाति भवन कठौना बजार सप्तरीमा बसेको बैठकले आउदो चैत ११ गते पत्रकार सम्मेलन तथा प्रधानमन्त्री तथा प्रधानमन्त्रीको कार्यालयलाई जिल्ला प्रशासन मार्फत ज्ञापन-पत्र बुझाउने,चैत १२ देखि २० गतेसम्म नगर, गाउँ स्तरीय सचेतना भेला तथा अान्दोलन समिति गठन र चैत २१ गते वृहद भेला तथा अान्दोलनका कार्यक्रम सार्वजनिक गर्ने निर्णय गरेको छ ।

यसैगरी गाउँ गाउँमा युवाहरूको भेला गर्ने र अान्दोलन संघर्ष समिति गठन गर्ने तथा अन्य संघ, संस्था, संगठन, दलहरू, मोर्चाहरूसँग समन्वय गरेर अान्दोलनको लागि सहकार्य गर्ने संघर्ष समितिले जनाए ।

जिल्ला अदालत कैलालीले उच्च सुरक्षा अधिकारीसहित ९ जनाको हत्याकाण्डमा सांसद रेशम चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला सुनाएको थियो ।

आजन्म कैद भएका अन्यमा हरिनारायण चौधरी, राजकुमार कठरिया, सुन्दरलाल कठरिया, बृजमोहन डगौरा, राजेश चौधरी, वीरबहादुर चौधरी, प्रदीप चौधरी, सीताराम चौधरी, श्रवण चौधरी र गंगाराम चौधरी छन् । तीमध्ये श्रवण चौधरी नाबालक देखिएकाले उनलाई आधा सजाय अर्थात् १० वर्ष कैद सजाय हुनेछ ।

थरुहट आन्दोलनका क्रममा २०७२ भदौ ७ गते नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) लक्ष्मण न्यौपानेसहित ८ जना सुरक्षाकर्मी र एक बालक गरी नौ जनाको ज्यान गएको थियो ।

सांसद चौधरी अहिले काठमाडौं डिल्लीबजार कारागारमा थुनामा रहेका छन् ।

प्रतिनिधिसभा सदस्य रेशम चौधरी मंसिर २१ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कैलाली १ बाट भारी मत अन्तरले विजयी भएका थिए । राष्ट्रिय जनता पार्टी (राजपा)को तर्फबाट कैलाली १ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका चौधरी ३४ हजार ३ सय ४१ मतसहित विजयी भएका हुन्। उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी मदनकुमारी शाह १३ हजार ४०६ मत ल्याएर पराजित भएकी हुन्।

प्रकाशित मिति :- ५ चैत्र २०७५, मंगलवार २१:३३