मुसहर जातिका पहिलो  गायक–गायिका

माइट हमर तिलक चन्दन माइट हमर यी गहना
माइट हमर देहके विभूति माइट हमर बिछौन
धन्य माइट हमर यी गहना
धन्य माइट हमर यी बिछौना ।।

एक बिहान ‘गुरुकुल संगीत पाठशाला’मा गुरुदेव कामदसँग हारमोनियममा ‘सा रे ग म’ अलापिरहेकी थिइन्, सिरहा गोलबजारकी ३२ वर्षीया शान्ति सदा । साथमा उनका पति ३६ वर्षीय गुरुशरण सदा स्वरमा स्वर मिलाइरहेका थिए ।

यो जोडीले पुतलीसडकस्थित गुरुकुलमा संगीत सिक्न थालेको तीन वर्ष भयो । संगीतमै आफ्नो करिअर बनाउन थालेका उनीहरू मुुसहर जातिकै पहिलो गायक–गायिका हुन् । जातीय विभेदलाई चिरेर उनीहरूले गीत गाउनकै लागि लामो संघर्ष गरेका छन् ।

फुसको पर्खाल र छिमेकीको रेडियो
सिरहाको विपन्न बस्ती । फुस र ढड्डीबाट बनेका घर । ती फुसको भित्ता छिचोलेर आउने छिमेकीको रेडियोको आवाजले गुरुशरण सदाको ध्यान तान्थ्यो । उनको घरमा रेडियो थिएन । फुसको भित्तामा कान जोडेर रेडियो सुन्थे । रेडियोमा बज्ने बालगीतले उनको मन चोरेको थियो । उनी रेडियो सुन्नकै लागि इँटाभट्टा पुग्थे । मिस्त्रीहरू रेडियो सुन्दै इँटा बनाउँथे । गुरुशरण भन्छन्, ‘रेडियो सुन्नकै लागि मैले इँटाभट्टामा इँटा बोक्ने काम गरेँ ।’

उता, शान्ति सदाको त छिमेकीमा समेत रेडियो थिएन । उनी मुसहर जातिको ‘नाच’मा भने गीत गाउने अवसर पाउँथिन् । ‘मेरो बचपनमा हाम्रो जातिले रेडियो किन्ने क्षमता राख्न सक्दैनथे,’ उनी भन्छिन् ।

गाउँमा कहिलेकाहीँ हुने नाचका लागि गीत गाएर शान्तिको मन अघाउँदैनथ्यो । अघाउँजी गाउनकै लागि उनी गोठालो जान्थिन् । चिच्याइचिच्याइ गाउँथिन् । भन्छिन्, ‘गोठालामा चिच्याएर गाउन पाइन्थ्यो, आनन्द लाग्थ्यो, एक दिन दिदीले सुनेपछि मेरो स्वर पनि राम्रो रहेछ भन्ने थाहा पाएँ ।’

 

बाल क्लबले बनायो गायक
रेडियो नेपालको बाल कार्यक्रमबाट प्रभावित भएका गुरुशरणले ०५३ सालतिर त्यस्तै बालगीत गाएका थिए । त्यो अवसर जुराइदिएको थियो, ‘सिद्धार्थ बाल क्लब’ले । एक गैरसरकारी संस्थामार्फत आएको बाल क्लब गुरुशरणका लागि अवसर बन्यो । त्यहाँ पढ्ने र गीत गाउने दुवै अवसर जुर्‍यो ।

गुरुशरणजस्तै शान्ति पनि ‘मिर्मिरे बाल क्लब’मा आबद्ध थिइन् । गोठालामा गाएको गीत साथीहरूले बाल क्लबमा गाउन लगाए । अनि त उनले बाल क्लबमा बालअधिकारका गीत गाउन थालिन् । उनी ‘आउट अफ चिल्ड्रेन क्लास’ अन्तर्गत ‘भाइबहिनी कक्षा’मा पढ्न पनि जान्थिन् । भाइबहिनी कक्षाको राम्रो विद्यार्थीलाई छानेर सामुदायिक विद्यालयमा भर्ना गरिन्थ्यो । शान्ति भन्छिन्, ‘मैले विद्यालयको मुख ५ कक्षामा भर्ना भएर मात्र देखेँ ।’

विवाह धकेलेर पढाइ
गोलबजारबाट १० किलोमिटर उत्तरमा पर्छ, ‘जम्दह मुसहर्निया’ । यो गुरुशरण सदाको छिमेकी मुसहर बस्ती हो । जहाँ जन्मिन्, गायिका शान्ति सदा । अहिले पनि मुसहर समुदायमा छोरीको बिहे सानैमा गरिन्छ । उनको बिहे पनि सानैमा गरिदिन नखोजेका होइनन् । तर, उनले टेरिनन् । बिहेका लागि आएका प्रस्तावहरूलाई उनले नै नकारिन् ।

डोहरिया गाउँ गोलबजारबाट सात किलोमिटर उत्तरमा पर्छ । ७० घरधुरी छन् । यही बस्तीमा जन्मिएका हुन्, गायक गुरुशरण सदा । उनको पनि बिहेको कुरा चलिरहेको थियो । उनी २० वर्षको हुँदा पनि बिहे नभएपछि हजुरबाले ‘बिहे नहेरी मर्दिनँ’ भने । भर्खर ११ कक्षामा भर्ना भएका थिए । भन्छन्, ‘बिहे गरौँ उमेर सानो छ, नगरौँ मुसहर समुदायमा केटी पाइँदैन ।’

ठुलो चुनौती थियो, उनलाई । बुढेसकालका हजुरबाको इच्छा पूरा गर्नु पनि थियो । अनि उनले शान्ति सदा सम्झिए । बाल क्लबकै कार्यक्रमका लागि दुवैजना एउटै बसमा काठमाडौं आएका थिए । गुरुशरण डोहरिया बस्तीको प्रतिनिधि र शान्ति जम्दह मुसहर्नियाका प्रतिनिधि थिए । त्यहीँ एकजना दिदीले उनीहरूको चिनजान गराइदिएकी थिइन् ।

त्यसो त शान्ति गुरुशरणको भाइको साथी पनि थिइन् । १० कक्षामा सँगै पढ्दै थिए । यस्तैमा बिहेको कुरा चल्यो । बिहे भयो । दुवैले गीत गाउने कुरा एक–अर्कालाई थाहा नै थियो ।

पहिलो गीत रेकर्ड
भोरे भोरे कोइली कुहके सुर्जक करु प्रणाम यौ
कमला कोसी पैर पखारब येहन यी मिथला धाम यौ

यो गीत गाउँदा शान्ति सदा डराएकी थिइन् । स्टुडियोको अँध्यारोमा उनको स्वर कतै लुक्लाजस्तो भएको थियो । तर, गाउने अवसरलाई गुमाइनन् । यहाँसम्म पु¥याएका थिए, संगीतकार सूर्यनारायण सिंहले ।

गोलबजारमा गुरुशरणले स्टेसनरी पसल खोलेका थिए । शान्ति त्यही पसलमा बस्थिन् । ग्रहाक नआएका वेला गुनगुनाउँथिन् । उनको रहर बुझेर गुरुशरणले संगीतकक्षामा हालिदिए । संगीतगुरु थिए, सूर्यनारायण सिंह ।

संगीत सिकेको ६ महिनामै इटहरीमा गीत रेकर्ड गराउन अवसर दिए, सूर्यनारायणले । शान्तिको स्वरले नै सूर्यनारायणलाई प्रभावित पारेको थियो । आफ्ना दर्जनौँ मैथिली गीतमा गाउन लगाइसकेका संगीतकार सूर्यनारायण भन्छन्, ‘मेरो रचना रहेका दर्जन गीतहरू शान्तिको स्वरमा रेकर्ड गराएँ । अहिले शान्तिको गीत विवाह, डिजेहरूमा बजेको सुन्दा हर्षले मन दंग हुन्छ ।’

समाजमा विभेद कायम छ । ‘मुसहर्नी’ भनेर समाजका कतिपय कथित उपल्लो जातिले हेला गरे पनि सूर्यनारायणले शान्तिमा थुप्रै सम्भावना देखे । भन्छन्, ‘संगीतमा राम्रो सम्भावना देखेको छु, शान्तिको । ऊ गाउन मात्रै होइन, साह्रै अनुशासित पनि छे ।’

शान्तिले गाएका गीतले उनको परिवार मात्रै होइन, डोहरियादेखि जम्दह मुसहर्नियासम्म खुसीले मुग्ध बनाएको थियो । गुरुशरण भन्छन्, ‘शान्तिले गाउनु यी दुई बस्तीका लागि मात्रै होइन, मुसहर जातिकै ठूलो उपलब्धि हो ।’

गीत गाएर आएको साँझ सासूले उनलाई हौसला दिएकी थिइन् । भन्छिन्, ‘परिवारले कम्तीमा गलाको सम्मान गरिदिए ।’ उनले अहिलेसम्म ‘सैया पऐछि,’ ‘हम छि सीता’ र ‘अपन माइत’ गरी तीनवटा एल्बम निकालिसकिन् । उनको स्वरमा दर्शक झुम्मिन्छन् । विशेष मैथिली भाषामा गाउन रुचाउने शान्ति भन्छिन्, ‘मेरो माटोको गीत गाउन पाए हुन्थ्यो ।’

शान्तिकै कुरामा गुरुशरण थप्छन्, ‘हाम्रो जातिमा यसरी कसैले गाएका छैनन् ।’ आफ्नो जातिले माटोको नाच देखाउने वेला शान्ति कहिल्यै छुट्दिनन् । स्टेजमा समेत धेरैपटक उत्रिसकेकी शान्ति खुसी भएर भन्छिन्, ‘मुसहर जातिमा पनि कला र गला छ भन्ने देखाउन पाउँदा खुसी लागेको छ ।’

गायक यशकुमार भन्छन्, ‘सम्पूर्ण मुसहरको पहिचान झल्किन्छ, गुरुशरण र शान्तिको गायनले । त्यो समुदायबाट आउने पात्रलाई हामीले पनि सपोर्ट गर्नुपर्छ ।’ पिछडिएको जाति भनेर हेप्छन्, मुसहरलाई । अहिले यही जातिका स्रष्टाले मौलिक गीतमा योगदान दिइरहेको गुरुदेव कामद बताउँछन् । उनी भन्छन्, ‘गीत गाउने मात्र होइन, पढ्नमा पनि अगाडि छन्, दुवैले बिए पास गरेका छन् । बिए पास गर्ने पनि उनीहरू आफ्नो समुदायका पहिलो हुन्, गाउने पनि पहिलो हुन् ।’

– नयाँ पत्रिकाबाट

प्रकाशित मिति :- ५ जेष्ठ २०७६, आईतवार १५:५४