नेपालबाट ओली,प्रचण्ड र देउवाले मोदीलाई दिए बधाई र शुभकामना

 

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई टेलिफोनमार्फत बधाई दिएका छन् ।

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार बिष्णु रिमालका अनुसार ओलीले केहीबेर अघि फोन गरेर बधाई दिएका हुन् । भारतमा सम्पन्न आम निर्वाचनमा प्राप्त सफलताको लागि बधाई तथा सफल कार्यकालको शुभकामना दिएको रिमालले बताएका छन् ।

टेलिफोन संवादका क्रममा आगामी दिनमा दुई देशको सम्बन्ध अझ समुधुर हुंदै जाने विश्वास दुवै प्रधानमन्त्रीहरुले व्यक्त गरेको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ ।
नेकपाका अध्यक्ष समेत रहेका ओलीले मतगणना जारी रहेकै बेला ट्वीटरमार्फत बधाई दिएका थिए ।

मोदी आउँदो कार्यकालका लागि पनि प्रधानमन्त्री बन्ने लगभग पक्का भएको छ ।

देउवाले दिए मोदी र शाहलाई बधाई

नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहलाई बधाइ दिएका छन् ।

देउवाले बिहीबार साँझ विज्ञप्ति जारी गरेर भारतमा भर्खरै सम्पन्न लोकसभाको चुनावमा भारतीय जनता पार्टीले ठूलो सफलता हासिल गरेकोमा बधाइ दिएका हुन् ।

‘भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहलाई छुट्टाछुट्टै पत्र पठाई नेपाली कांग्रेस पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट बधाई तथा शुभकामना दिनु भएको छ’, विज्ञप्तिमा भनिएको छ ।

‘नेपाल र भारत बीच सदियौँ देखि कायम रहेको पुरानो सम्बन्ध र मित्रता आगामी दिनमा थप सुदृढ र सार्थक हुँदै जानुका साथै दुबै पार्टी बीचको सम्बन्ध र सहकार्य अझ बलियोे हुने विश्वास समेत सभापति देउवाले व्यक्त गर्नु भएको छ’, विज्ञप्तिमा भनिएको छ ।

प्रचण्डले पनि दिए शुभकामना तथा बधाई

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि सामाजिक सञ्जालमार्फत मोदीलाई बधाई दिएका थिए । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएका छन् ।

लोकसभा निर्वाचन २०१९ मा भारती मतका साथ विजयी भएको भन्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले बधाई दिएका हुन् ।

‘भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र उहाँको पार्टी भारतीय जनता पार्टी लोकसभा निर्वाचन–२०१९ मा भारी मतका साथ विजयी भएकोमा बधाई तथा शुभकामना’, प्रचण्डले सामाजिक सञ्जालमा लेखेका छन् ।

प्रकाशित मिति :- ९ जेष्ठ २०७६, बिहीबार २३:१५