यसरी हेर्नुहोस्, सबै प्रिय लाग्नेछन् तपाईंलाई

‘यदि तपाईं अर्को व्यक्तिसँगको सम्बन्धबाट केही पाउनुपर्ने आवश्यक्तालाई हटाउनुहुन्छ, यदि तपाईं आनन्दले स्वतः भरिपूर्ण बन्नुहुन्छ भने, तपाईं सबैथरी मानिसहरुसँग अद्भूत सम्बन्ध बनाउन सक्नुहुन्छ ।’ – सद्गुरु ।

हामी अरुसँग रिसाइरहेका हुन्छौं, ठुस्किरहेका हुन्छौं । अरुलाई हामी नराम्रो देखिरहेका हुन्छौं । हामीभित्र बैरभाव जाग्छ । रिस एवं इष्र्या पलाउँछ । यो सत्रु, त्यो सत्रु । किन ?

जन्मदा सबै प्रिय

जन्मदा हाम्रा कोही सत्रु थिएनन् । कोही बैरी थिएनन् । हाम्रा लागि कोही घृणित थिएनन् । हाम्रा लागि कोही अपहेलित थिएनन् । हामी जन्मदा सबै आफ्ना थिए । सबै पि्रय थिए ।

हिजो हामी सबैका थिएनौं । तर, हाम्रा सबै थिए । हाम्रो आँखाले देख्ने सबै आफ्नै थिए । पि्रय थिए । सुन्दर थिए । कालो, गोरो । गरिब, धनी । कुरुप, सुन्दर । सबैलाई हामी उस्तै देख्थ्यौं । आफ्नै ठान्थ्यौं ।

जति हुर्कियौं, बढ्यो बैरभाव

जति-जति हुर्कदै गयौं, हामीले पराई र आफन्त छुट्याउन थाल्यौ । मित्र र सत्रु देख्न थाल्यौ । हिजो सबै उस्तै थिए । आज फरक-फरक देख्न थाल्यौ । हामीले बाँच्ने संसारमा सत्रुहरु थपिए । अर्थात यी सत्रु एव सत्रुता हामीले पैदा गर्‍यौं ।

यसको कारण हामी नै थियौं । हाम्रै कारणले मान्छेहरु हाम्रा सत्रु भए । बैरी भए । पराई भए । किन ?

किनभने जीवन जिउने क्रममा हामीले अरुबाट अपेक्षा गर्न थाल्यौ । हाम्रो आवश्यक्ता र स्वार्थहरु अरुबाट परिपूर्ति गराउने चेष्टा गर्‍यौं । हाम्रो खुसी र आनन्दहरु अरुबाट प्राप्त गर्ने मनासय राख्यौं । हामीले जे गर्‍यौं, अरुले पनि त्यही गरे । उनीहरुले पनि हामीबाट अपेक्षा राखे । उनको सर्त र स्वार्थभित्र हामीलाई बाँध्ने कोसिस गरे । स्वार्थ र अपेक्षाको यही तानातानमा हामीले कसैलाई साथी बनायौं, कसैलाई बैरी ।

अतः त्यही सत्रुता पालेर एकअर्कालाई सिध्याउने खेलमा लाग्यौ । एकअर्कालाई ‘देखाउने’ खेलमा लाग्यौ । यसरी अरुसँग भनाभन, लडाई, झगडा गरेर हामीले आफु बाँच्ने संसार साँघुरो र धरापमा पार्दै गयौं ।

आफैलाई खोतलौं

आज हामीलाई अरुको प्रगतिले दुःखी तुल्याउँछ । आज हामीलाई अरुको खुसीले बेचैन बनाउँछ ।

खुलस्त बोल्न सक्दैनौ । खुलस्त हिँड्न सक्दैनौ । असुरक्षाको भावले घेरा हालेको छ । कसैले केही भन्ने हो कि, केही गर्ने हो कि ? हामी भयाभित हुन्छौ ।

अब आँखा चिम्लेर सोच्नुहोस् त, ति भय कहाँबाट पैदा भयो ? तपाईं आफैबाट । तपाईंको सोंच र व्यवहारबाट । यर्थाथलाई बोध गर्नुहोस्, तपाईंका कोही सत्रु छैनन् । कोही बैरी छैनन् । तपाईंलाई कतैबाट असुरक्षा छैन । त्यो त केवल तपाईंको भावनात्मक अवस्था मात्र हो । तपाईंले कसैलाई सत्रु ठान्नुहुन्छ भने त्यो तपाईंको मनभित्रको अवस्था हो । मनबाट त्यो भाव हटाउनुहोस्, सत्रु पनि मित्र लाग्नेछ ।

यदि कोही तपाईंको सत्रु हुन्छन् भने त्यसलाई अरुले किन देख्दैन ? एक अपरिचित व्यक्तिलाई बोलाएर सोध्नुहोस्, ‘मेरा सत्रु को को हुन् ?’ उनले कदापी भन्न सक्नैछैन । उनले छुट्याउन सक्नेछैन । संसारमा सात अर्ब मान्छे छन्, त्यसमध्ये तपाईंको सत्रु को ? कुनै अपरिचित व्यक्तिलाई सोध्नुभयो भने उनले कोही सत्रु देख्नेछैन । किनभने त्यो सत्रु तपाईंको मनभित्र मात्र छ । तपाईंको दृष्टिकोण र धारणमा मात्र अरु खराब अनि सत्रु छन् ।

संसारलाई यसरी हेरौं

तपाईं एक्लै जन्मनुभयो । जन्मदा तपाईंसँग केही थिएन । वा तपाईंले नग्न शरीरबाहेक केही लिएर आउनुभएकै थिएन । भोलि तपाईको मृत्यु हुनेछ । त्यसबेला पनि तपाईंलाई सर्बाङ्ग बनाएर घाटमा लगिनेछ । तपाईंको स्वमित्वमा, तपाईंको हातमा केही दिइनेछैन । बरु, तपाईंले आर्जन गरेको कुरा पनि अरुको स्वमित्वमा हस्तान्तरण गरिनेछ ।

एक्लै बाँच्नुछ । मरेर केही लानु छैन । त्यसो भए अरुबाट किन अनावश्यक अपेक्षा गर्ने ? किन अरुबाट आफ्नो आवश्यक्ता परिपूर्ति गराउने चाह राख्ने ?

जब तपाई कसैप्रति अपेक्षा राख्नुहुन्न, कसैको व्यवहारले तपाईंलाई दुःखी बनाउँदैन । जब तपाईं कसैप्रति आशा राख्नुहुन्न, कसैको धनदौलत, बैभवले तपाईंलाई लोभ्याउनेछैन । आफ्नो आवश्यक्ता, आकंक्षा र स्वार्थ अरुबाट परिपूर्ति गर्ने चाहना त्याग्नुहोस्, सबै आफ्ना लाग्नेछ । सबै पि्रय लाग्नेछ ।

प्रकाशित मिति :- ३० जेष्ठ २०७६, बिहीबार १४:१०