तिलाठीमा बाँध भत्कियो,सप्तरीको विभिन्न ठाउँ जलमग्न

 

दुई दिनदेखिको अविरल वर्षाका कारण खाँडो खोलामा आएको बाढीले सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाको बाँध भत्काएको छ । निरन्तर वर्षाका कारण तिलाठी गाउँ जोगाउन बनाइएको बाँध दुई ठाउँमा भत्किएको तिलाठी कोइलाडी गाउँपालिका–१ वडाध्यक्ष दिनेश्वर मिश्रले जानकारी दिए ।

 

खाँडो खोलाको बाढीले पुरानो बाँध दुई स्थानमा पाँच÷पाँच फिट भत्काउँदै बाढी बस्ती पस्दा पाँच घर डुबानमा परेका छन् । दिउँसो पानीको बहाब केही कम भएपछि बस्तीमा पसेको पानी कम भएको मिश्रले बताए ।

आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ, कटान भएको बाँध मर्मत सम्भारका लागि गाउँपालिकाले तीन सय बोरा र दुई वटा जाली उपलब्ध गराएको प्रमुख राजेश झाले जानकारी दिए । कटान भएको बाँधको मर्मतका लागि स्थानीयबासी र प्रहरी जुटेका छन् ।

साँझ वर्षा रोकिएपछि खाँडोमा पानी कम हुँदै गएकोले भयावह अवस्था नरहेको जनाउँदै सतर्क भने भइरहनु पर्ने झाले बताए ।

बिहीबार रातिदेखि शुक्रबार दिउँसोसम्मको निरन्तर वर्षाले सदरमुकाम राजविराजका विभिन्न वडाकासाथै हनुमाननगर, कंकालिनी, नगरपालिकाका दुई वटा वडा जलमग्न भएका छन् । राजविराज नगरपालिकाको वडा नं. १, ९ र १० का साथै तिलाठी, लौनियाँ, सकरपुरा, पकरी, मैनाकडेरी, लोहजरा, मलेठ, रम्पुरा मल्हनियाँ, रायपुर, बसविट्टी, तेरहौता, सीतापुर, हरीहरपुर, भारदह, पोर्ताहा, लोखरमलगायतका भू–भागमा पानी जमेको छ ।

वर्षाले शुक्रबार पनि निरन्तरता पाउँदा खाँडो, जीता, बलान, महुली, दुधैलालगायतका खोलामा पानीको स्तर बढेको छ । दुई दिन यता निरन्तरको वर्षासँगै सप्तकोशी नदीमासमेत पानीको बहाव उच्च भएको छ । पानीको वहाव बढेसँगै कोशी व्यारेजका ५६ ढोका मध्ये अहिले २३ वटा ढोका खुल्ला राखिएको छ भने खतरा सम्बन्धी संकेतस्वरुप कोशी ब्यारेजमा रातो झण्डासँगै रातो बत्ती बालिएको छ ।

शुक्रबार दिउँसो ४ बजेसम्म सप्तकोशी नदीमा पानीको वहाव एक लाख ७२ हजार ६२५ क्युसेक प्रतिसेकेण्ड रेकर्ड गरिएको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ ।

कोशी ब्यारेजमा पानीको बहाव एक लाख ५० हजार कट्ने बित्तिकै सर्वसाधारणलाई सचेत गर्नका निम्ति खतराको संकेत रातो झण्डा र रातो बत्ति बाल्ने गरिन्छ । पानीको बहाव बढ्दै गएपछि प्रशासनले नदी किनार आसपासका स्थानीयहरुलाई सतर्क रहन आग्रह गरेको छ ।

तस्बिरमा : खाँडो खोलाको बाढीले भत्काएको बाँधको पानी बस्तीतर्फ जानबाट रोक्न घाँसपात हालेर अस्थायी रोकथाम गर्न खोज्दै स्थानीय । तस्बिर : मनोहर पोखरेल ।

प्रकाशित मिति :- २८ असार २०७६, शनिबार ०७:०९