भारतबाट भित्रिएको सेतो आलुमा ज्यानै लिनसक्ने विषादी भेटियो, पोखरामा ५२ बोरा नष्ट

पोखरामा बिक्री वितरणका लागि भारतबाट आयात गरिएको आलुमा मानव स्वास्थ्यमा गम्भीर असर पर्ने मात्राको विषादी भेटिएको छ । पोखराको पृथ्वीचोकस्थित कृषि उपज बजारमा बिक्रीका लागि ल्याइएको सेतो आलुमा ४७ प्रतिशत विषादी भेटिएपछि नष्ट गरिएको छ ।

भारतबाट आयात गरिएको सेतो आलु विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशला इकाइमा जाँच गर्ने क्रममा अत्याधिक विषादी भेटिएको बाली संरक्षण प्रयोगशाला कास्कीका बाली संरक्षण अधिकृत सञ्जीव बाँस्तोलाले बताए । ‘विषादी रोकावट दर ३० प्रतिशतसम्म हुँदा खान योग्य हुन्छ । ३० देखि ४५ प्रतिशतसम्म यसको मात्र बढी भएको अवस्थामा एक साता अब्जरभेसन गरेर मात्र खान सकिन्छ,’ उनले भने, ‘तर, यस आलुमा ४७ प्रतिशत भेटिएको र यस्ता वस्तुलाई नष्ट गर्नुपर्छ ।’

सचेत गराउन आलु नष्ट गरिएको उनको भनाइ छ । अधिकृत बाँस्तोलाका अनुसार पोखरा आएको तरकारी तथा फलफूलको कार्बामेट र अर्गानो फस्फेट जाँच गरिन्छ । नष्ट गरिएको आलुमा कुन विषादी प्रयोग गरिएको हो भनी पोखराबाट पत्ता लगाउन नसकिने उनले बताए ।

‘पोखरामा हामीले क्याटागोरी मात्रै हेर्छौं । गहन तरिकाले हेर्ने मेसिन छैन,’ उनले भने, ‘क्याटागोरीमा फेल भएका तरकारी र फलफूल नष्ट गर्छौं । खान मिल्ने बजारमा बिक्री वितरण हुँदै आएका छन् ।’

४ जना व्यवसायीले भारतबाट ल्याएको सेतो आलुमा अत्यधिक विषादी भेटिएपछि समितिले आलु मानव स्वास्थ्यलाई हानिकारक हुने भन्दै नष्ट गरेको कृषि उपज बजारकी निमित्त बजार व्यवस्थापक रुपा दाहालले बताइन् ।

विषादी जाँचमा फेल भएका ५२ बोरा आलु नष्ट गरिएको दाहालले बताइन् । ‘केही समयअघिदेखि विषादी जाँच हुन थालेको छ । पहिले कर्मचारी अभावमा जाँच हुन सकेको थिएन । सरकारले कर्मचारी पठाएपछि परीक्षण हुँदै आएको छ,’ उनले भनिन्, ‘खान नहुने तरकारी बजारमा जाँदैन । सिधै नष्ट गर्छौं ।’

भारतबाट ल्याइएका तरकारी र फलफूलमा विषादीको मात्रा बढी हुन्छ । दाहालका अनुसार पोखरामा आलु, प्याज र फलफूल भारतबाट ल्याइन्छ । गण्डकी प्रदेशका विभिन्न जिल्ला तथा सिजनअनुसार धादिङ, मकवानपुर, पाल्पा, चितवनलगायत तराईका जिल्लाबाट तरकारी भित्रिन्छ ।

भारतबाट आयात हुने अन्य फलफूल र तरकारीमा विषादीको मात्रा कम हुने गर्दछ । अहिलेसम्मको परीक्षणमा आलुबाहेक अन्य कृषिजन्य सामग्रीमा विषादी नभेटिएको दाहालले बताइन् ।

प्रकाशित मिति :- २९ श्रावण २०७६, बुधबार १३:११