कांग्रेसले भदाै अन्तिम हप्ता बीपी साहित्य महोत्सव आयोजना गर्ने
कांग्रेसले भदाै अन्तिम हप्ता बीपी साहित्य महोत्सव आयोजना गर्ने

स्टुडियाे डेस्क

  • ११ भाद्र २०८०, सोमबार प्रकाशित
  • नेपाली कांग्रेसले संस्थापक नेता विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको जन्मजयन्तीको अवसर पारेर भदाै अन्तिम हप्ता बीपी साहित्य महोत्सव २०८० गर्ने भएको छ ।

    कांग्रेसले भदाै २४ गते परेकाे बीपी कोइरालाको ११० औँ जन्मजयन्तीकाे अवसर पारेर बीपी साहित्य महोत्सव २०८० गर्न लागेको हो । कांग्रेस केन्द्रीय कार्यालयको आयोजना र नेपाली लेखक सङ्घको संयोजनमा भदाै २४, २५ र २६ गते केन्द्रीय कार्यालय ललितपुरकाे सानेपामा महाेत्सव हुने पार्टीका सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिनुभयो ।

    महोत्सवमा सम्भाषण हुने र महोत्सवका सत्रहरू अन्तर्गत मनोविश्लेषणात्मक साहित्य र व्यक्ति सत्ता, साहित्यमा पर्यावरण, समय र सबार्ल्टन, नेपालको मातृभाषा साहित्य, बीपीका आख्यानमा नारी, बीपीका आख्यानमा मधेस, बीपीका दृष्टिमा बीपी, बीपीले नपाएका १५ वर्ष शीर्षकमा चल्ने भएका छन् । त्यस्तै अन्तर्राष्ट्रिय राजनीति र कुटनीतिमा बीपी, समावेशीता, सामाजिक रूपान्तरण र बीपी, युवा पुस्तामा बीपी पठन र परिवारले बुझेका बीपी शीर्षकमा समेत सत्रहरू चल्ने प्रचार विभाग प्रमुख विश्वकर्माले बताउनुभयाे । महोत्सवमा कविता साँझ, गजल साँझ, साङ्गीतिक साँझ, चित्रकला प्रदर्शनी, वृत्तचित्र प्रदर्शनी र ऐतिहासिक फोटो प्रदर्शनीसमेत हुने उहाँकाे भनाइ छ ।

    कांग्रेसले महोत्सवमा उपस्थितिका लागि प्राज्ञिक व्यक्तित्व, बुद्धिजीवी, अध्येता तथा राजनीतिका साथै लेखन साहित्यमा रुचि राख्ने सबैलाई अनुरोध गरेको छ । कार्यक्रमको विस्तृत विवरण, निर्धारित विषय, वक्ता एवम् सहजकर्ता र महोत्सवको कार्यतालिका छिट्टै नै सार्वजनिक गर्ने प्रचार विभाग प्रमुख विश्वकर्माले बताउनुभयो ।

    सम्बन्धित
    Home TV Menu Trend Recent

    ताजा समाचार

    धेरै पढिएको

    Play