• १० मंसिर २०७७, बुधबार
स्वास्थ्य ठिक भएपनि यसकारण बैंकक बसाई लम्ब्याउँदै छन् ओली
  • स्टुडियाे संवाददाता

स्वास्थ्य परिक्षणका लागि २६ पुषमा बैंककतर्फ प्रस्थान गर्नुअघि राष्टिय सभा निर्वाचन र प्रदेश सरकार निर्माणका सम्बन्धमा गठित एमाले माओवादी केन्द्रको संयुक्त कार्यदलको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले भनेका थिए, ‘कार्यदलले गर्नुपर्ने काम गर्दै गरोस्, बाँकी थप निर्णय गर्नुपर्ने भए म ब्यांककबाट फर्केपछि गरौंला।’ त्यसक्रममा उनले आफू २ माघमा काठमाडौं फर्कने जानकारी पनि गराएका थिए।

२ माघमा फर्कने बताएपनि ओली थप केही दिन बैंककमै रहनसक्ने एमाले प्रचार विभागका सचिव विष्णु रिजालले जनाएका छन्। आइतबार बिहान बैंककस्थित ओली रहेको एउटा होटलमा उनलाई भेटेका रिजालले सामाजिक सञ्जालमा भनेका छन् ‘ओलीको स्वास्थ्यस्थिति एकदम राम्रो छ। तर, उहाँ थप केही दिन ब्यांककमै आराम गरेर बस्नु हुनेछ।’

स्वास्थ्य परिक्षण (उपचार होइन) का लागि बैंकक गएका ओलीको स्वास्थ्यमा कुनै समस्या नरहेको देखिएपछि उनको साथमा गएका दुई चिकित्सकहरु पनि काठमाडौं फर्किसकेका छन्। तीमध्ये डा दीब्या सिंह शनिबार नै काठमाडौं फर्किन् भने डा यादव भट्ट आइतबार फर्के। डाक्टरहरुको फिर्तीले पनि के बताउँछ भने ओलीको स्वास्थ्यमा कुनै समस्या छैन।

परीक्षणबाट स्वास्थ्य स्थिति ठीक रहेको प्रतिवेदन आएको छ, त्यस्तो प्रतिवेदनपछि ओली बैंकक बसाईलाई किन लम्ब्याउने योजनामा छन् त? जानकारहरुका भनाईमा, ओली थप केही दिन बैंककमै रहन चाहनुमा तीन कारण छन् :

कारण १: स्वास्थ्य ठीक तर शरीर कमजोर
एमाले माओवादीबीचको पार्टी एकता संयोजन समितिको बैठक बस्यो, २६ पुषमा। खासमा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ त्यसअघि नै बैठक बस्ने योजनामा थिए। तर ओलीलाई चिसोले समात्यो। त्यही कारण डायरियापनि हुन पुग्यो। त्यसले गर्दा ओली २३ दिन थलिए, कसैसँग भेटघाट नै गरेनन्।

मृगौला प्रत्यारोपण गरेका ओली चिसो र डायरियाका कारण गले। जब अलिकति ठीक भयो, त्यसपछिमात्र संयोजन समितिको बैठक डाकियो। बैठक डाकिएपनि ओलीको शारीरिक स्थिति चाहिँ निकै कमजोर भइसकेको थियो, त्यसैले केही भइहालेको छ कि भनेर बैंकक जाने निर्णय गरियो। शारीरिक अवस्था अझै कमजोर नै रहेकाले ओली उहीँ केही दिन रहने र पूर्ववत स्थितिमा पुगेपछि फर्कने सोचाईमा छन्।

कारण २: सरकार परिवर्तनमा लाग्ने समय
प्रतीक्षारत प्रधानमन्त्री हुन् ओली। तर, सरकारले प्रदेश प्रमुख चयनमा ढिलाई, राष्टिय सभा निर्वाचनको मिति झण्डै एक महिना पर धकेलिनु, त्यसपछि निर्वाचनको परिणाममा हुनसक्ने ढिलाई आदिका कारण के देखिंदैछ भने ओलीको नेतृत्वमा सरकार बन्न कम्तिमा माघ दोस्रो हप्ता कुर्नुपर्ने स्थिति छ। अरुका लागि त लम्बिँदो यो स्थिति अत्यासलाग्दो भइसकेको छ भने ओलीका लागि झन् अत्यास लाग्ने भइहाल्यो।

यो विरक्तिपना ओलीले काठमाडौंमै रहँदापनि आफ्नो निकटस्थहरुलाई सुनाउने गरेका थिए। सत्ता हस्तान्तरण गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले गरेको ढिलाईप्रति ओलीले गर्ने सार्वजनिक कटाक्षले पनि ओलीको मनस्थिति बुझन् सकिन्छ। झण्डै डेढ महिनालामो यस्तो विरक्त लाग्दो समय उनी उतै आराम र घुमफिर गरेर बिताउन चाहन्छन्।

कारण ३ः आसेपासेहरुको घेरा
प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनबाट विय प्राप्त गरेसँगै एमाले माओवादी केन्द्रका शीर्ष नेताहरु एउटा कुराबाट हैरान छन्, कुमार प्रबृत्तिका व्यक्तिहरुको आफ्नो घर घुम्ने क्रम। राष्टिय सभामा पुग्न, प्रदेशको मुख्यमन्त्री, उपमुख्यमन्त्री र सभामुख बन्न ती व्यक्तिहरु दिनहुँजसो नेताको घर धाउँछन् र नेताको चाकडी गरेर यी पद हत्याउन चाहन्छन्। सबैभन्दा ठूलो पार्टीका अध्यक्ष र हुनेवाला प्रधानमन्त्री हुनुको नाताले यो प्रबृत्तिबाट ओली सबैभन्दा धेरै हैरान छन्।

प्रधानमन्त्री देउवाले सत्ता हस्तान्तरणका लागि ढिलाई गरिदिँदा आफै हायलकायल भइसकेका ओलीकहाँ पुगेर यसरी आफ्नो पद सुरक्षित गर्न खोज्ने प्रबृत्तिका व्यक्तिहरुका कारण झन् हैरान छन् ओली। काठमाडौं फिर्नासाथ ती व्यक्तिहरु स्वास्थ्यलाभको कामना गर्ने नाममा ओली निवास पुगिहाल्छन्। ओली निकटका व्यक्तिहरूका भनाईमा, मंगलबार ९२ माघ० मा फर्कने योजना भएपनि बैंकक बसाई लम्बिनुको अर्को कारण यो पनि हो।

  • १ माघ २०७४, सोमबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech