• १४ मंसिर २०७७, आईतवार
जब अस्पतालमा साटिए हिन्दू र मुस्लिम आमाबाबुका बच्चा
  • स्टुडियाे संवाददाता

यो एउटा बलिउड फिल्मको ‘प्लट’ जस्तै छ । पहिले, दुई बच्चाहरु केही मिनेटको फरकमा जन्मिन्छन् र अस्पतालमा दुर्घटनावश साटिन्छन् । दोस्रो, उनीहरु दुई भिन्न पृष्ठभूमिका हुन् । एक जोडी बाबुआमा हिन्दू हुन् भने अर्का जोडी मुस्लिम ।

सरकारी निकायहरुमा लामो युद्ध लडेपछि दुई वर्ष नौ महिनापछि डीएनए परीक्षण गरियो । गत बुधबार यो जोडी अदालतमा गयो, एक-अर्काका बच्चाहरु फिर्ता ल्याउन । तर, बच्चाहरुले आफूलाई हुर्काउने बाबुआमालाई छोड्नै मानेनन् । यो कथा उत्तरपूर्वी भारतीय राज्य आसामको हो ।

साहाबुछिन अहमद भन्छन् कि उनले पत्नी सल्मा बर्विनलाई सन् २०१५ को मार्च ११ तारिख बेलुकी ६ बजे मंगलदाई सिभिल हस्पिटलमा पुर्‍याएका थिए र एक घन्टापछि नै सल्मानले छोरो जन्माएकी थिइन् । नर्मल डेलिभरी भएकाले भोलिपल्टै उनलाई डिस्चार्ज गरियो ।  ‘एक हप्तापछि मेरी श्रीमतीले भनिन् कि यो बच्चा हाम्रो होइन । म स्तब्ध बनेँ । उनको भनाइअनुसार अस्पतालको लेवर रुममा बोडो जातिकी एक महिला पनि थिइन् । उनैको बच्चासँग आफ्नो बच्चा साटिएको श्रीमतीलाई आशंका थियो,’ अहमद भन्छन् ।

‘शुरुमा मैले उनको कुरा विश्वास गरिनँ । तर, उनले जिद्दी गरिरहिन्,’ उनले बताए ।  सल्मा पर्बिनको भनाइमा जोनैत उनको बच्चा होइनन् भन्ने उनलाई सुरुदेखि नै लागेको थियो । ‘जब मैले उसको अनुहार हेरेँ, मलाई शंका लाग्यो । मैले लेबर रुममा रहेकी अर्की महिलाको अनुहार सम्झिएँ । उनको आँखासँग बच्चाको आँखा मिल्थ्यो । हाम्रो परिवारमा कसैको पनि आँखा यस्तो सानो थिएन’ सल्माले भनिन् ।

अहमद आफ्नी श्रीमतीको आशंकालाई बोकेर हस्पिटलको सुपरिटेन्डेन्टलाई भेट्न पुगे । सुपरिटेन्डेन्टले उनलाई उल्टै थर्काउँदै भने कि उनकी श्रीमती पागल हुन् र उनलाई उपचारको आवश्यकता छ । त्यसपछि अहमदले सूचना शाखामा सो दिन ७ बजेको आसपासमा अस्पतालमा जन्मिएका बच्चाहरुको विवरण माग्दै निवेदन दर्ता गरे ।  त्यसको एक महिनापछि उनले सात जना महिलाको विवरण पाए । सबै रेकर्डहरु हेरिसकेपछि उनले एक जनजाति महिलामा ध्यान दिए । उनले पनि छोरा जन्माएकी थिइन् र तौल तीन किलो नै थियो । केवल पाँच मिनेटको अन्तरालमा उनको बच्चा जन्मिएको थियो ।

अहमद दुईपटक उनीहरुको गाउँमा पुगे तर, घरमा पस्ने हिम्मत जुटाउन सकेनन् । त्यसैले उनले पत्र लेखे । ‘तपाईंको र हाम्रो बच्चाहरु साटिएको मेरी श्रीमतीलाई शंका छ । तपाईंलाई पनि त्यस्तै लागेको छ कि ?’ उनले पत्रमा लेखे । पत्रको पुछारमा आफ्नो फोन नम्बर उल्लेख गरे र फोन गर्न आग्रह गरे ।  उनीहरुको घरभन्दा करिब ३० किलोमिटर दूरीमा जनजाति जोडीहरु अनिल र सेवाली बोरोको घर थियो । उनीहरु आफ्नो बच्चा रियान चन्द्रसँग बस्थे ।

अहमदको पत्र नपाउँदासम्म यो जोडीलाई आफ्नो बच्चा साटिएको आशंका थिएन । उनीहरुले सुरुमा अहमदको कुरामा विश्वास गरेनन् । तर, जब दुई परिवार भेट भए, त्यसपछि कुरा बेग्लै भयो ।  ‘जब मैले पहिलोचोटि उसलाई देखेँ, मलाई महसुस भयो कि उसको अनुहार मेरो श्रीमानसँग मिल्छ । म धेरै दुःखी भएँ र रोएँ । हामी बोडो जाति हौं । हामी अरु आसामी वा मुस्लिम मानिसहरु जस्ता छैनौं । हाम्रो अनुहार मंगोलियनको जस्तो छ,’ शेवाली बोरोले भनिन् ।

सल्मा पर्विनले पहिलोचोटि रियानलाई देख्नासाथै थाहा पाइन् कि यो उनकै छोरा हो र तुरुन्तै बच्चाहरु साट्ने कुरा गरिन् । तर सेवालीले यसलाई अस्वीकार गरिन् । त्यसपछि अहमदको लगातार दबाबमा अस्पतालका अधिकारीहरुले घटनाको अनुसन्धान गरे । तर, त्यस दिन लेवर रुममा ड्यूटीमा रहेकी नर्ससँग कुरा गरेपछि अस्पताले अहमदको दाबीलाई अस्वीकार गर्‍यो । तर, त्यसबाट विश्वस्त नभएपछि अहमदले आफ्नी श्रीमती र छोराको रगतको नमूना डीएनए परीक्षणका लागि पठाए । जब २०१५ को अगष्टमा त्यसको रिपोर्ट आयो, जसले पुष्टि गर्‍यो कि सल्मा पर्विन र जोनैतको बीचमा कुनै आणुवंशिक समानता थिएन । तर, अस्पतालका अधिकारीले यो रिपोर्टलाई कानूनले स्वीकार नगर्ने बताएपछि उनले त्यही वर्षको डिसेम्बरमा प्रहरीमा उजुरी गरे । यो केसको अनुसन्धान गरेका सबइन्स्पेक्टर हेमन्त बरौहले हस्पिटलबाट दुवै बच्चाहरुको बर्थ रेकर्ड पाएपछि दुवै परिवारलाई भेटेर सोधपुछ गरेको बीबीसीलाई बताए ।

सन् २०१६ को जनवरीमा उनले दुई जोडी आमा तथा बच्चाहरुको रगतको नमुना लिएर कोलकत्ता गए । तर, फरेन्सिक ल्याबले नमुनामा त्रुटी भएको भन्दै परीक्षण गर्न अस्वीकार गर्‍यो । त्यसपछि गत वर्षको अप्रिलमा दोस्रोपटक नमूना संकलन गरियो र त्यसलाई प्रदेशको राजधानी गुवाहटीमा रहेको फरेन्सिक ल्याबमा परीक्षण गरियो । नोभेम्बरमा यसको रिपोर्ट आयो । यसले पुष्टी गर्‍यो कि अहमद परिवारले दाबी गरेझैं वास्तवमै बच्चाहरु साटिएका थिए ।

त्यसपछि बौराहले अहमदलाई बच्चाहरु साटफेरका लागि अदालत जान सल्लाह दिए । गत ४ जनवरीमा बच्चाहरु लिएर दुवै आमाबाबु अदालतमा पुगे । तर, दुवै बच्चाहरुले आफू हुर्केको परिवार त्याग्नै मानेनन् । जोनैत र रियान दुवै पनि आआफ्ना आमाको अंगालोमा बेरिएर बसे ।

‘न्यायाधीशले हामीलाई बच्चाहरु साट्नका लागि अनुमति दिनुभयो । तर, बच्चाहरुको अवस्था देखेपछि हामीले सकेनौं । तीन वर्षदेखि आफूले काखमा राखेर हुर्काएका बच्चा अर्कोलाई सुम्पिन हाम्रो मन मानेन,’ सल्मा पर्विन भन्छिन् । बच्चाहरु बुझ्ने भएका थिएनन्, त्यसले बलजफ्ती साट्दा उनीहरुको बाल मनोविज्ञानमा असर पर्न सक्थ्यो,’ अनिल बोरोले भने ।

दुई बच्चाहरुलाई साटिएको खण्डमा उनीहरु नयाँ परिवारको जीवनशैली, भाषा, संस्कृति र खानपानमा अभ्यस्त हुन नसक्ने अहमदले पनि महसुस गरेका छन् । आमाहरुका लागि एकातर्फ यतिका वर्षसम्म दुःखका साथ हुर्काएको बच्चाको माया छ भने अर्कोतर्फ आफूले नौ महिना गर्भमा राखेर जन्म दिएको बच्चातिर पनि भावनात्मक लगाव छ । अब दुवै परिवार सहमत भएका छन् कि बच्चाहरु ठूला भएपछि उनीहरु स्वयंले निर्णय लिनेछन् कुन परिवारमा बस्ने भनेर । अहिले यी दुवै परिवारबीच आत्मीय सम्बन्ध विकास भइरहेको छ ।

अनलाइनखबरबाट

  • ९ माघ २०७४, मंगलवार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech