• ११ मंसिर २०७८, शनिबार
के पानी जहाजले भारदह लाई समृद्धि देला? उबेलाको जगमग फर्काउला?
  • स्टुडियाे संवाददाता

सप्तरी जिल्लाको पूर्वी भेगमा एउटा सानो चोक छ, भारदह। दक्षिण तिरबाट आउने राजविराज–हनुमाननगर सडक र उत्तरबाट आउने कञ्चनपुर–बरमझिया सडकको मिलन बिन्दु हो– भारदह चोक। जहाँबाट महेन्द्र राजमार्ग फेरि पूर्व–पश्चिम भएर कोशी ब्यारेजतिर लम्किन्छ। कुनै बेला अदभुत इन्जिनियरिङ संरचना मानिने कोशी ब्यारेजभन्दा केही किलोमिटर पश्चिम र सुप्रसिद्ध पेडा बजार बरमझियाभन्दा अलिक दक्षिणमा भारदह अवस्थित छ, जहाँ कुनै बेला थरिथरिका फुलहरुको अत्यन्त सुन्दर बगैँचा थियो।

भारदहसँग अनेक किस्सा जोडिएका छन्। स्थानीय सुरेश राउत भन्छन्– जतिबेला नेपालको काठमाडौंमा मात्र बिजुली बल्थ्यो, त्यतिबेला नै भारदहमा पनि बिजुली बल्थ्यो। अहिले लहानमा रहेको सडक विभागको डिभिजन कार्यालय कुनैबेला भारदहमा थियो। पूर्वी तराइकै सबैभन्दा सुविधा सम्पन्न अस्पताल भारदहमा थियो। सैयौं मजदुरलाई रोजगारी दिने अशोक टेक्सटायल कपडा उद्योग भारदहमै थियो। अर्को उद्योग सप्तरी राइस मिल पनि त्यहिँ थियो।

कोशी ब्यारेज निर्माण भइरहेको बेला कोशी परियोजनाको एउटा कार्यालय भारदहमै राखिएको थियो। परियोजना सम्वद्ध भारत सरकारका सैयौं प्राविधिक, अप्राविधिक कर्मचारी त्यहाँ बस्थे। सैयौं भवनहरु निर्माण गरिएको थियो। कोशी परियोजना अन्तर्गत भारतको बीरपुरमा डिजल प्लान्टबाट बिजुली उत्पादन गरिन्थ्यो, जुन भारदहसम्म प्रशारण गरिएको थियो। कर्मचारी र तीनका परिवारको उपचारका लागि अस्पताल खोलिएको थियो। तिनका बालबच्चाको पठन पाठनका लागि स्कुल पनि खोलिएको थियो। ती स्कुल र अस्पताल सर्वसाधारणका लागि पनि खुल्ला थिए। बाल्यकालमा बिरामी पर्दा आमाले त्यही अस्पतालमा लगेर उपचार गराएको पातलो सम्झना छ। महेन्द्र राजमार्ग बन्नुअघि नै भारदहमा अशोक टेक्सटाइल उद्योग खुलेको हो। कोशी परियोजनामा हजारौं मजदुर दैनिक काम गर्थे। सैयौं स्थानीय अगुवाहरु ठेक्कापट्टा गर्थे। त्यतिबेला भारदह जगमग थियो। तर भारदहका यी सबै रौनक पश्चिम कोशी नहर निर्माण सम्पन्न भएसँगै हराउँदै गयो भने पंचायती व्यवस्थाको समाप्तीसँगै पूरै गायव भयो।

राजनीतिकरुपमा भारदह चोक सँधै सक्रिय रह्यो। कोशी परियोजनाको कार्यालय रहेको कारण भारतीय कर्मचारीहरुको आबतजाबत त छँदै थियो, ठेक्कापट्टाको प्रशस्त कारोबार हुने भएकाले ठेकेदारहरुको पनि त्यतिकै सक्रियता हुन्थ्यो। स्थानीय ठेकेदारहरुको लगाव पंचायती व्यवस्थासँग थियो। भारदहदेखि केही किलोमिटर मात्र पूर्वमा रहेको भारतीय भूभागमा भारतीय काँग्रेसका प्रभावशाली नेता ललितनारायण मिश्रा र जगन्नाथ मिश्राको घर रहेकाले भारतीय राजनीतिको पनि केही प्रभाव भारदहमा रहन्थ्यो। नेपाली कांग्रेस प्रतिबन्धित रहेको भएपनि भारदह र मधवापुर गाउँमा कांग्रेसका केही प्रतिवद्ध कार्यकर्ता थिए। त्यसैले गर्दा चोकमा यदाकदा नेपाली कांग्रेसको पनि चर्चा हुन्थ्यो रे। कांग्रेसको चर्चा हुनुको अर्को कारण थियो– नजिकै रहेको बिरवल बिराजीको घर। २०१५ सालको निर्वाचनमा कांग्रेसबाट उम्मेदवार बनेका बिरबल बिराजीको घर भारदह नजिकै अर्जी गाउँमा रहेकाले साँझपख चोकमा हुने जमघटमा पंचायत भर्सेज कांग्रेसको चर्चा भइरहन्थ्यो। चोक चौराहामा पान खाएर घण्टौं गफिने चलन तराई मधेसमा जताततै रहेपनि सप्तरीमा त्यो अलि बढी नै छ। त्यसकारण पनि साँझपख भारदह चोकका पान पसलहरु राजनीतिक गफको अखडा हुनेगरेको बुढापाकाहरु बताउँछन्।

२०४६ पछि हरेक हिसाबले भारदहको अवस्था फेरियो। कोशी परियोजनाका सबै कार्यालय बन्द भइसकेका थिए। टेक्सटायल र राइस मिल उहिल्यै बन्द भइसकेका थिए। कोशीको ठेक्काबाट जागेका स्थानीय ठेकेदारहरुको राजनीति पनि पंचायतको अवशानसँगै समाप्त भइसकेको थियो। त्यसपछि जेपी गुप्ता, हेमराज तातेड र शम्भु झाले भारदहमा कांग्रेसको शसक्त उपस्थिति गराए। जेपी गुप्ताले भारदहलाई नयाँ प्राण दिने प्रयास गरे। खाली रहेका सडक विभागका भवनहरुमा विपी हाइस्कुल स्थापना गरियो। अनमि र अहेब पढाइ हुने सगरमाथा टेक्निकल इन्सटिच्युटको स्थापना भयो। तर भारदहको पुनर्जागरण हुन सकेन। केही बर्षमै सगरमाथा टेक्निकल इन्स्टिच्युट सरेर विराटनगर पुग्यो।

पंचायतकालमै कोशी परियोजना, टेक्सटाइल बन्द भएपछि भारदह वरिपरिका क्षेत्रमा अपराध बढेको थियो, जुन २०४६ पछि पनि कायम नै रह्यो। त्यसैबीच शुरु भएको थियो– माओवादी जनयुद्ध। माओवादी जनयुद्ध कालमा भारदह फरक रुपमा चर्चित हुनपुग्यो। विद्रोहको राजनीति र राजनीतिको आवरणमा हुने अपराधले भारदहलाई नराम्ररी गिजोल्यो। जनयुद्धको मध्यकालदेखि मधेस मुक्तिको नाममा खुल्न थालेका अनेकौं शसस्त्र समूहहरुको क्रिडास्थल बन्न पुग्यो भारदह। वरिपरिका गाउँहरुमा अनेकौं नामका शसस्त्र समूहहरु खुले। मधेस मुक्तिको नाममा शसस्त्र समुहहरुले लुट, अपहरण र चन्दा आतंकको केन्द्र बनाए भारदहलाई। यो क्रम २०६५–६६ सम्म चल्यो। विजय गच्छेदार समूहको फोरमको समर्थनमा बनेको माधव नेपाल नेतृत्वको सरकारले चलाएको अप्रेसनमा भारदह वरिपरिका कैयौं आपराधीलाई समातेपछि वा मारेपछि भारदह तुलनात्मकरुपमा शान्तिको सास फेर्ने कोशिश गर्दैथियो।

त्यत्तिकैमा शुरुभयो २०७२ सालको तेस्रो मधेस आन्दोलन। २०७२ सालको जेठ महिनामा भएको १६ बुँदे सहमतिपछि नेपाली राजनीतिले नयाँ कोर्स लिएको थियो। मधेसी आन्दोलनका एजेण्डाहरुलाई नजरअन्दाज गर्दै आफ्नै शैलीको संविधान जारी गर्ने कांग्रेस, एमाले र माओवादीको योजना विरुद्ध मधेसी मोर्चाले आन्दोलन थालेको थियो। त्यस आन्दोलनको प्रारम्भमा सामान्य गतिविधिहरू भए पनि भदौ १ देखि आम हडतालको घोषणा गरिएको थियो। त्यस क्रममा भारदहमा आन्दोलनकारी र प्रहरीबीच हिंसात्मक झडप हुँदा प्रहरीको गोली लागेर स्थानीय युवा राजीव राउतको मृत्यु भएको थियो। यसरी तेस्रो मधेस आन्दोलनमा पहिलो शहादत भारदहले दिएको थियो।

तेस्रो मधेस आन्दोलन लामो समयसम्म चल्दा पनि काठमाडौंले सुनेनन्। त्यसको खास कारण थियो। त्यसअघि मधेसमा भएका पहिलो र दोस्रो आन्दोलनको रणनीतिबाट काठमाडौं पूर्ण जानकार थियो। पहिलेका आन्दोलनहरु सफल हुनुको कारण काठमाडौंले बुझेको थियो। त्यो कारण थियो– आन्दोलन ताका मधेसमा चक्काजाम पूर्ण सफल हुनु। २०६३ सालको पहिलो मधेस विद्रोहमा मधेसका सडक र नाकाहरु पूर्ण ठप्प भएका थिए। २०६४ सालको आन्दोलनमा पनि त्यही भएको थियो। मधेसी मोर्चाले २०७२ मा पनि त्यही गर्न खोजेको थियो तर राज्यपक्षले शुरुदेखि नै सडक यातायात अवरुद्ध हुन नदिने रणनीति अपनाइ रह्यो। नाकामा अवरोध हुँदा राज्यले चोरबाटो मार्फत आपूर्तीलाई कायम राख्यो।

आन्दोलनको पहिलो दिन नै भारदहमा राज्य आक्रामकरुपमा प्रस्तुत हुनुको कारण थियो भारदहको रणनीतिक महत्व। पूर्व मेचीदेखी पश्चिम महाकालीसम्ममा महेन्द्र राजमार्ग अन्तर्गतको सप्तरी र सिरहा जिल्लामा पर्ने सडक मात्र यस्तो खण्ड रहेको छ, जहाँ मधेसी समुदायको प्रभावशाली उपस्थिति कायम छ। त्यसकारण आन्दोलनकारीले पूर्वमा भारदह र पश्चिममा मिर्चैयामा आन्दोलन अवधीभर केही न केही छिटफुट घटना गरिरहे। राज्यपक्षले पनि रातीको समयमा भारदहदेखि मिर्चैया, यदाकदा ढल्केसम्म स्कटिङ गरेर बाटो खुलाउँथ्यो र यातायात सुचारु राख्थ्यो।। यही कारण आन्दोलन अवधीभर भारदहमा पटक पटक झडप भइरह्यो। तेस्रो मधेस आन्दोलनभरी भारदहमा तिनजना (राजीव राउत, रामकृष्ण राउत र विरेन्द्र राम) शहिद भए। दिनहुँ जसो हजारौंको जुलुस निस्किन्थ्यो।

२०७२ भदौ १ गते राजीव राउतको मृत्यु भएको केहीदिन पछि म र दिपेन्द्र झा सहितका साथीहरु भारदह पुगेका थियौं। भारदहको कंकालनी मन्दिर छेउछाउको बस्तीमा त्यसताका भएको प्रहरी ज्यादती हृदयविदारक थियो। हामीले भारदहबासीसँग प्रहरीले गरिराखेका ज्यादतीका विवरण फेसबुकमा पोष्ट गर्दा दिनभरीमा हजार बढी सेयर भएको थियो। कैयौँ ठाउँका पत्रिकाले ‘भारदह लाइभ’ भनेर समाचार बनाए। भदौदेखि पुससम्ममा कैयौं पटक भारदह जाँदा कहिल्यै पनि आन्दोलनमा कमी आएको भान भएन्। राज्य पक्षबाट भएका अनेकौं दमनका बाबजुद आन्दोलन निरन्तर बढदै थियो भने आन्दोलनकारीका अनेकौं प्रयासका बाबजुद रात्रीकालीन यातायात रोक्न सकिएको थिएन।

भारदह मेरा लागि नौलो ठाउँ होइन। भारदहभन्दा तीन किलोमिटर पश्चिम गोइठी मेरो जन्म थलो हो। भारदह नै त्यस्तो ठाउँ हो, जुन मैले जीवनमा पहिलो पटक देखेको शहर वा शहर जस्तो ठाउँ हो। बाल्यकालमा हामी बालसखाहरु भारदह घुम्न जान्थ्यौं। राजमार्गबाट गुडदै गरेका अनेकौं गाडीहरु देखेर अच्चमित हुन्थ्यौं। दशैंमा नबमीको दिन कंकालनी मन्दिरमा लाग्ने मेला र पुष महिनाको पूर्णिमामा कोशी ब्यारेजमा लाग्ने मेला हाम्रा लागि बर्षैभरी प्रतिक्षाको विषय बन्थे।

यी सबै पुराना यादहरु संगालेर यसपटक भदौको पहिलो साता फेरि भारदहमा केही दिन घुम्ने अवसर जुर्यो। राजीव राउतको घर वरिपरि दुई चक्कर लगाएँ। र छिमेकीसँग कुराकानी भयो। कोशी ब्यारेज बन्दादेखिको इतिहास बुझ्ने प्रयास गरें। देशमा अहिले विकास र समृद्धिको चर्चा चुलिँदो छ। तर उबेलाको जगमग भारदह अहिले निरन्तर ओरालो लाग्दो छ।

हालै प्रधानमन्त्री केपी ओलीले जनकपुरमा प्रदेश सभालाई सम्बोधन गर्दै कोशीमा पानी जहाज चलाउने र प्रदेश नम्बर २ लाई विकास दिने आश्वासन दिएको सुनें। प्रधानमन्त्रीले सम्बोधन गरिरहँदा म भारदहको टोलबस्ती चहार्दै, गम्दै थिएँ। कुनै बेला दक्षिण एशियामै अदभुत इन्जिनियरिङ संरचना मानिने कोशी ब्यारेज भारदहमै छ, नेपालको सबैभन्दा पुरानो सिंचाई प्रणाली (चन्द्र नहर) को पानीले भारदहको भूमि उहिल्यैदेखि सिंचित भइरहेको छ। नेपालको सबैभन्दा लामो महेन्द्र राजमार्ग भारदहलाई चिरेर निर्माण गरिएको छ। विकासको नाममा पुल, नहर र सडक सबैथोक त भारदहमा छँदैछ तर पनि भारदहका आम मानिसको मुहारमा खुशी किन देख्न पाइन्न?

यतिबेला फेरि जिज्ञासा उठेको छ- के प्रधानमन्त्रीले निर्माण गर्ने भनेको पानी जहाजले भारदहलाई समृद्धि देला? उबेलाको जगमग फर्काउला?

  • १३ भाद्र २०७५, बुधबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech