• १४ मंसिर २०७७, आईतवार
कांग्रेसले फेरि पनि जितेको छ
  • स्टुडियाे संवाददाता

डा. ज्ञान बस्नेत

यस लेखमा शीर्षकको विश्लेषणबाट सुरु गरेर त्यसपछि निर्वाचन परिणामको अर्थ, नयाँ बन्ने कम्युनिस्ट सरकारको दायित्व र कार्यदिशाको चर्चा गरिनेछ । त्यसपछि कांग्रेसको पराजयको संक्षिप्त विवेचना गर्दै नेपाली कांग्रेसले लिनुपर्ने नँया राजनीतिक मार्गचित्रको संक्षिप्त टिप्पणी गरिनेछ ।

कांग्रेसको जित कसरी ?
नेपाली जनताले नेपाली कांग्रेसलाई जिताएकै छन् । कांग्रेस हारेको छैन । अंकको राजनीतिमा जाँदा कांग्रेस हारेको देखियो । पहिलेको अनुपातमा कुल जनमत घटेको छैन । बरु बढ्ने अनुमान गरिँदै छ ! अनि यो कसरी हार भयो ? सर्वप्रथम, त यो नेपाली कांगे्रसका लागि अहिलेसम्मकै सबैभन्दा प्रतिकूल राजनीतिक अवस्था हो । दुई वटा ठूला पार्टीको तालमेल र गठबन्धनसँग भिड्नुपर्ने परिस्थिति पैदा भयो । अर्कातिर कांग्रेसभित्र आन्तरिक कलह, गुटबन्दी र नेतृत्वको विचलन र अक्षमतामा गुज्रिरहेको थियो ।

यस्तो परिस्थितिमा पनि जुन जनमत, जनविश्वास पाएको छ, यो धेरै ठूलो हो । यति मत जनताले अहिलेको नेतृत्व, व्यक्ति र कार्यशैली हेरेर हैन, यसको गौरवमय इतिहास, सिद्धान्त र निष्ठालाई हेरेर दिएका हुन् । पार्टी हार्न सक्छ, व्यक्ति हार्न सक्छ तर सत्य सिद्धान्त र असल कर्म कहिल्यै हार्दैन । दोस्रो, यो चुनावी परिमाण अपेक्षितै थियो । सबैलाई पहिले नै थाहा थियो तालमेलको परिमाण । म यसलाई चुनावभन्दा पनि भागबण्डा नै भन्छु चुनावका नाममा । ६० र ४० को बण्डा गरेर खाने । यति जान्दाजान्दै पनि कांग्रेस चुनावमा होमियो । अनि आफ्नो नेतृत्वमा निर्वाचन सम्पन्न गरायो । देश र जनताका हितमा आफू क्षति सहन तयार भयो । यो पनि कांग्रेसको नैतिक जित नै हैन र ? जितका पनि धेरै स्वरुपहरु हुन्छन् नी !

तेस्रो, हारलाई पनि सहज रुपमा स्वीकार गरेर कांग्रेसले अङ्गीकार गरेको प्रजातान्त्रिक अभ्यास र संस्कार कांग्रेसमात्रै हैन सबैको जित हो । यो प्रजातान्त्रिक संस्कारको जित हो र सबैले अङ्गीकार गर्नै पर्ने चेतनाको पाठ हो । हाम्रोमा हारलाई स्वीकार नै नगर्ने घोर अराजनीतिक संस्कार छ । मतपत्र च्यात्नेदेखि लिएर चुनाव समाप्त भएको क्षणसम्म शान्तिपूर्ण भयो भनेर घोषणा गर्ने अनि पछि मत परिमाण आफ्नो पक्षमा नआउँदा धाँधली भयो भनी जनमत अस्वीकार गर्नेहरु यही मुलुकमा छन् ।

विसं २०४६ पछि नेपाली कांग्रेस कुनै न कुनै रुपमा सत्तामा नै रह्यो । तर, जनमुखी कार्य अत्यन्तै कम भयो । यो सत्य हो । यो पार्टी संसद् किनबेच, भ्रष्टाचार र नयाँ राणाहरुको दलका रुपमा उदायो । घोर असंसदीय हर्कत भए । असल कांग्रेसहरुलाई पाखा लगाइयो भने कोही भाग्न बाध्य भए । तर, पनि जनताले पत्याएकै थिए । पटक पटक बहुमत पनि दिएकै हो । तर, कांग्रेस मात्तियो । अनि कांग्रेस कहिल्यै सुध्रिएन, सुध्रने कोसिस गरेन । यथार्थ र जनताबाट धेरै टाढा भयो यो पार्टी । अहिलेको निर्वाचनमा जनताले अस्वीकार गरेर कांग्रेसलाई सुध्रिने मौका दिएका छन् । प्रायश्चित गर्ने मौका दिएका छन् । यो पनि ठूलो जित हो कांग्रेसको लागि । झन् पार्टीभित्रकै असली कांग्रेसहरुको लागि त महान् जित हो यो ।

विसं २०४६ पछि पार्टीभित्र र बाहिर एकछत्र शासन गर्नेहरु पार्टी बिगार्ने, सिद्धान्तको व्यापार गर्ने, गुटबन्दी गर्ने, स्वार्थले पार्टीमा प्रवेश गरेका वा पैसा तिरेर टिकट पाएकाहरु, भ्रष्टाचारीहरु र कथित ’हेविवेट’लाई प्रत्यक्षमा जनताले पराजित गरेर कांग्रेस पार्टीलाई ठूलो गुन लगाएका छन् । यिनीहरुसँग जनता र पार्टीको लागी दिने केही बाँकी थिएन । राम्रो भएको छ । पार्टी आफैँले गर्नुपर्ने कारवाहीको जनताले सूत्रपात गरिदिएका छन् । अब पार्टीले निरन्तरता दिनुपर्छ । अब यस्तो चरित्र भएका नेतृत्व र कार्यकर्ता अनि कथित नेतागणहरुलाई पार्टीको एउटा कुनामा थन्काइयोस् । जनताको इच्छा यही देखिन्छ । जनताको इच्छा पार्टी लाई हराउने थिएन । फटाहा प्रत्याशीलाई हराउनेमात्रै थियो । यस अर्थमा नेपाली कांग्रेसले फेरि पनि जितेकै छैन त ? यो ठूलो जित हो ।

चुनावी परिमाणको समीक्षा
प्रजातान्त्रिक अभ्यासमा हारजित अत्यन्तै सामान्य हो । जनताको आदेशलाई, अभिमतलाई स्वीकार्नुको विकल्प हुँदैन । प्रजातन्त्रको आधारशीला पनि यही हो । यो मत परिमाणलाई लिएर न त कांग्रेस दुखी हुनुपर्ने अवस्था छ न बहुमत ल्याउने कम्युनिस्ट गठबन्धन धेरै हर्षित हुनुपर्छ । यो परिणामले कांग्रेसलाई सुधारको मौका दिएको छ भने कम्युनिस्ट गठवन्धनलाई त चुनौती नै चुनौतीको चाङभित्र राखी दिएका छन् जनताले ।

अब भलिबल कम्युनिस्ट गठबन्धको हातमा आएको छ । कता र कसरी पास गर्ने भन्ने खड्गप्रसाद ओली र पुष्पकमल दाहालहरुलाई नै थाहा होला । हजार पटक सोचेर मात्रै बल पास गरियोस् । खराब सुरुआतले खेल हार्न सकिन्छ । राजनीति जुवामात्रै होइन भन्ने पनि बुझाैँ अब । यो विज्ञान हो । गलत गरेमा पाँच वर्षपछि जनताले अहिलेको कांग्रेसकै हालतमा पुर्याउने छन् भन्ने पनि बुझाैँ । यही अन्तिम निर्वाचन त पक्कै पनि होइन होला ? अब “पचास वर्ष कम्युनिस्टले देशमा शासन गर्छन्” भन्ने वक्तव्यवाजी र चुनावी नाराको अर्थ स्पष्ट होस् । यस्तो कूटिल भाषा बुझ्ने स्तरमा नेपाली जनता पुगेकै छैनन् जँहा ६५ प्रतिशत जनता गरिबीको रेखामुनि बाच्ँन बाध्य छन् भने २० प्रतिशत अझै लेखपढ गर्नै जान्दैनन् । देश बुझ्ने कोसिस गराैँ सर्वप्रथम ।

अर्को महत्वपूर्ण विषय कम्युनिस्ट गठबन्धनले पाएको मत कांग्रेसको कार्यशैलीको वितृष्णा, आक्रोश र असहमति थियो भन्ने पनि यिनले बुझ्नु पर्छ । स्थानीय निर्वाचनमा रञ्जु दर्शना र अहिले रविन्द्र मिश्रहरुले पाएको मतले के जाहेर गर्छ भने जनताले साँच्चै नै नयाँ अनुहार, सोच र विचार खोजेका छन् नेपालको राष्ट्रिय राजनीतिमा ।

बहुमत र जितको हुँंकारले सिंगो कम्युनिस्ट गठबन्धनलाई छियाछिया नपारोस् । आज कांग्रेसले भोगेको चुनौती अनि नियति र जनआक्रोश कांगे्रसविरुद्ध मात्रै हैन, मूलधारका पार्टी सबैप्रति लक्षित हो । विश्वमा उदाहरणहरु धेरै छन् बहुमत र शक्तिको उन्मादमा होस गुमाउँदै इतिहासको पन्नामा सीमित भएका वा उठ्न नसक्ने गरी थला परेका राजनीतिक दलहरु ।

गोपालकृष्ण गोखले, सुवासचन्द्र बोस, मोहनलाल करमचन्द गान्धी र जवाहरलाल नेहरुजस्ता राजनेताले हुर्काएको भारतीय राष्ट्रिय कांग्रेसको अहिलेको हबिगत हेर्दै थाहा हुन्छ जनआंकाक्षा अनुसार नचल्दा, नबुझ्दा के हुन्छ भन्ने । चेत्लान् त हाम्रा मूलधारका पार्टी र नेतृत्वले ? कम्युनिस्ट गठबन्धन राष्ट्रको वर्तमान चुनौतीको निकास बन्ला त ? जनताको अमूल्य मनसँग साँटेको समृद्ध नेपालको सपना पूरा गर्लान् त यिनले ? परिवेश चुनौतीपूर्ण छ ।

अबको राजनीतिक कोर्स र सरकारको दायित्व
अब यो मुलुकमा हुने राजनीतिक विकास र घटनाक्रम बडो रोचक हुनेछन् । कम्युनिस्ट गठबन्धनको आपसमा हुने सत्ता संघर्ष र शक्तिको बाँडफाँट अनि पार्टी एकताको समयसम्म राजनीतिकरुपमा भाँडभैलो नै हुनसक्छ । यो बडो रोचक हुनेछ । सबै पार्टी, नेता र नेतृत्व सत्ताको अत्यन्तै भोका भएको त हामीले भोगेकै हो ।

अझै कति भोग्न र देख्नपर्ने हो । सबै सधैँ सत्तामा नै हुनुपर्ने अनि राम्रो पद र ठाउँ सबैलाई चाहिने । विनाविभागीय मन्त्री भएरसमेत तलब र भत्ता पचाउने यिनै होइनन् र ? एमाले त झन् सत्ताबाहिर एक मिनट पनि बस्न नरुचाउने शक्ति हो । प्रतिगमन आधा सच्चियो भनेर सत्तामा जाने, दाम चढाउने र प्रधानमन्त्री पदका लागि दरबारमा निवेदन गर्ने हर्कत सत्ताको लोभको उपज हुन् । माओवादीको १० वर्षे जनयुद्ध पनि सत्ताकै लागि थियो । सत्ता कब्जाकै लागि थियो । यो धङधङी सकिएको छैन भन्ने अझै देखिन्छ । नेपाली जनतालाई हेक्का रहोस्, अब वैधानिकरुपमा नै सत्ता कब्जाको बाटो खुलेको छ । शक्ति अन्धो हुन्छ भन्ने बुझौँ । अधिनायकवादको पनि विभिन्नस्वरुप हुन्छन् भन्ने बुझ्नुपर्छ । नेपाली जनता कुनै पनि हालतमा नियन्त्रित प्रजातन्त्र चाँहदैनन् । सजिलो छैन यिनलाई ।

अब सत्ताको भागबन्डामै केही समय जान्छ भने कथित पार्टी एकतामा झनै भद्रगोल हुनेछ । कारण एमालेमित्रका विभिन्न गुट, उपगुट, नेता र नेतृत्व अनि तिनका आफ्नै स्वार्थहरु छन् भने माओवादीभित्र त झनै ठूलो आन्तरिक शक्ति संघर्ष छ । यो समयले नै बताउला । नयाँ सरकार बन्छ, बन्नैपर्यो यिनै भित्रबाट । आफ्नो अमूल्य मत खसालेर आफूले छानेको प्रतिनिधि पठाइसकेपछि अहिलेलाई जनदायित्व पूरा भयो भने चुनौतीपूर्ण दायित्व अब प्रतिनिधिहरु र नयाँ बन्ने सरकारमा सरेको छ । नयाँ सरकारको दायित्व मूलभूतरुपमा कस्तो र के हुनुपर्छ त ? जनअपेक्षा ठूलो छ ।

प्रथम, अब बन्ने सरकारको पहिलो दायित्व प्रजातान्त्रिक परिपाटी र संस्कारको जगेर्ना, कानुनको शासन र संविधानको अक्षरशः पालना गर्दै विपक्ष, स्वतन्त्र बुद्धिजीवी सबैलाई, सबैको इच्छा र आंकाक्षालाई समेटेर अघि बढ्नु हो । राष्ट्रिय राजनीतिमा विपक्षीहरुलाई समेत सम्मानजनक हैसियत दिलाउन सकोस् अब बन्ने सरकारले ।

जन चाहना पनि यही हो भने जनताले भारी मतको भारी बोकाएर माथि पठाउनुको अर्थ पनि यही हो । बहुमतको अहंकार अब त्याग्नुपर्छ । नेपाली आकाशमा कम्युनिस्ट अधिनायकवादको बादलले ढाकिसकेको छ भन्ने सर्वत्र शंका उपशंका छन् । आजै यो शंकाको निदान होस् । अधिनायकवादको विभिन्न चरित्र हुन्छ । अब कम्युनिस्ट गठबन्धनले निकोलास चाउसेस्कु, स्टालिन र पोलपट पथ रोज्ने कि नेल्सन मन्डेला, बीपी र गान्धीहरुको बाटो समात्ने हजारपटक सोच्नुपर्छ । राजनीतिक स्थायित्व, आर्थिक समृद्धि र प्रजातान्त्रिक संस्कारको जर्गेना गर्ने सूत्रधार बन्नुपर्छ अब बन्ने सरकार । जनादेश यसैका लागि हो भन्ने बुझ्नुपर्छ ।

दोस्रो, राजनीतिक स्थायित्व र आर्थिक समृद्धिका लागि कम्युनिस्ट गठबन्धन भन्ने चुनावी नारा लगाइयो । तर, कस्तो राजनीतिक स्थायित्व र आर्थिक समृद्धिको स्वरूप कस्तो हुने भन्ने कुराको कहीँ कतै व्याख्या गरेको पाइएन । जनताले पनि सोचेनन्, बुझ्न खोजेनन् । बस् भोट हाले, पठाए । दायित्व सकियो । तर, अझै पनि जनता यो कुरा बुझ्न आतुर छन् । यसलाई स्पष्ट गर्नुपर्यो । वर्तमान संविधानभित्रको कानुनको शासन र प्रजातान्त्रिक मूल्य र मान्यतामा पलाएको राजनीतिक स्थायित्व चाहन्छन् नेपाली जनता अब । सात दशकभन्दा लामो संघर्ष यसैको लागि हो । आर्थिक समृद्धि र विकास पनि समता, समानता र न्यायमा आधारित हुनुपर्छ । विकास र समृद्धि जनमुखी, वातावरण मैत्री कानुनसम्मत, मानव अधिकार मैत्री र लोकतान्त्रिक संस्कारसम्मत हुनसपर्छ । आर्थिक विकासमात्रै समृद्धिको सूचक र मापदण्ड हैन ।

तेस्रो, भ्रष्टाचार हाम्रो मुलुकमा ऐजेरुजस्तो भएर बसेको छ । ठूलो रोग साबित भएको छ ।विकास र समृद्धिको बाधक भएको छ । हरेक पार्टीले चुनावी नाराको रुपमा विकास र समृद्धिको त कुरा गरे तर भ्रष्टाचार मुक्त समाजको परिकल्पना कहीँ कतै कुनै पार्टीले उठाएको देखिएन । यो दुर्भाग्यपूर्ण हो । भ्रष्टाचारको अन्त्य नगरी आर्थिक विकास कसरी होला? अब बन्ने सरकारले यसलाई गम्भीररुपमा लिनुपर्छ । यो राष्ट्र भ्रष्टाचारको दलदलमा फस्नुको कारण पनि मूलधारका पार्टीहरु हून् भन्ने मान्यता समाजमा व्याप्त छ । कार्यकर्तादेखि नेतासम्म अनि राजनेता सबै यस्तो चलखेलमा डुबेका छन् भन्ने जनमान्यता छ ।

मूलधारका पार्टीहरु भ्रष्टाचारीको संरक्षण स्थल बनेको छ भने यिनका नेता संरक्षक । अब बन्ने सरकारले आफ्नो पार्टीभित्रैबाट भ्रष्टाचारविरुद्धमा कारबाही सुरु गरेर देखाउनुपर्छ । जनताको ’म्यान्डेट’ यो पनि हो । अर्को एउटा महत्वपूर्ण कुरा हाम्रो मूलूकमा राजनीतिक भागबण्डा ठूलो बेथितिको रुपमा रहेको छ । यो बेथिति बढ्दो छ । हरेक राज्यका अंगहरु, सार्वजनिक संस्थाहरु यस्तो अभ्यासबाट ग्रस्त छन् । यो कार्य अत्यन्तै घृणित त छँदैछ भने यो भ्रष्टाचारको पनि जननी हो ।

देश कसरी बन्छ होला ?
अन्त्यमा संविधान, कानुनको शासन र प्रजातान्त्रिक मूल्य र मान्यतालाई आत्मसात् गर्दै तलदेखि माथिसम्मै सत्ता साझेदारी सहजरुपमा अघि बढेमा देशको राजनीतिक तरलता र संक्रमण छोटिनेछ । समाप्त हुनेछ । तर, शान्ति प्रक्रियाको एउटा महत्त्वपूर्ण कडीका रुपमा रहेको संक्रमणकालीन न्याय त बाँकी नै छ । सत्यनिरुपण तथा मेलमिलाप अनि बेपत्ता आयोग त्यतिकै पंगुु भएर बसेको छ । झारा टार्ने काममात्रै भएको छ भने ’जनयुद्ध’ पीडितले पाउने न्याय कथामात्रै बनेको छ । सशस्त्र द्वन्द्वकै एउटा पक्ष अब बन्ने सरकारमा जाँदैछ ।

अब बन्ने सरकारले यसलाई गम्भीररुपमा लिनुपर्छ । सामाजिक न्याय र समृद्धिको महत्त्वपूर्ण पाटो दण्डहीनताको अन्त्य पनि हो । सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता आयोगलाई निष्पक्षरुपमा आफ्नो काम गर्ने वातावरण अब सरकारले बनाउनसपर्छ । हैन भने परिणाम प्रत्युत्पादक हुनेछ । फाइदा कसैलाई हुँदैन । न्याय भन्ने कुरा फाइदा र बेफाइदामा चल्ने पनि हैन भन्ने सिद्धान्त अंगीकार गर्नुपर्छ । न्याय हार्दासबैको हार निश्चित् छ । समाज हार्छ, देश हार्छ अनि अर्को पुस्ताले समेत हार्नेछ ।

संक्रमणकालीन न्यायलाई अन्तर्राष्ट्रिय मानव अधिकारसम्बन्धी कानुन, अन्तर्राष्ट्रिय अभ्यासहरु, हाम्रा आफ्नै फौजदारी कानुन र न्यायका सिद्धान्त र संवैधानिक कानुनअनुसार पूर्णता दिनुपर्छ । संक्रमणकालीन न्याय भनेको कसैलाई कसैको विरुद्धमा कारबाही वा प्रतिशोध हैन, एक पक्षले अर्को पक्षलाई सिध्याउने खेल पनि हैन, यो हिंसा र हत्याको अस्वीकृति हो । अमानवीय कार्य, भविष्यमा फेरि दोहोरिन नदिने वातावरण तयार गर्नु हो । आफूले गरेको राजनीतिक हिंसा ढाकछोप गर्ने प्रयास गरेमा वा गर्न सकिन्छ भन्ने भ्रम भएमा यो गलत हुनेछ । किनभने, न्याय र सत्य कहिल्यै पुरानो हुँदैन ।सत्यलाई हजार वर्ष बोराले छोपे पनि सत्य त सत्य नै रहन्छ । उदाहरणहरु धेरै छन् । सन् १९७१ मा बंगलादेशको स्वतन्त्र संग्राममा ज्यादती गर्ने राजनेताहरु र पाकिस्तानी सेनाका कमान्डरहरुलाई अझै फाँसी दिइँदैछ । नब्बेको दशकमा कोसोभोको मुस्लिम अल्पसंख्यकविरुद्ध नरसंहार गर्नेहरुलाई हिजो आज नै हेगमा अवस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालतमा सजाय सुनाइँदै छ ।

त्यस्तै दोस्रो विश्वयुद्धको बेला अमेरिकाको एउटा प्रान्त हवाइमा बस्ने जापनी मूलको अल्पसंख्यक बासिन्दामाथि अमेरिकाले गरेको ज्यादतीका लागि सन् १९८५ मा राष्ट्रपति रोनाल्ड रेगनले क्षतिपूर्तिसहित माफी मागे । राज्यले आफ्नो गल्ती र ज्यादती स्वीकार गर्यो । जुन कोरमोत्सुको मुद्दाको नामले विश्वविख्यात छ । उदाहरण अरु पनिछन् । यसको अर्थ न्याय कहिल्यै मर्दैन भन्ने हो अनि मर्न दिनु हुँदैन भन्ने पनि हो ।

’जनयुद्ध’को एउटा पक्ष माओवादीसँग चुनावी तालमेल सँगै, अब सरकार निर्माण अनि पार्टी एकीकरणको बाटोमा एमाले अग्रसर छ । यसको अर्थ अब एमाले पनि त्यो हिंसात्मक ’जनयुद्ध’को किनाराको साक्षी बनी सकेको छ । अब यो युद्ध र हिंसा ठीक थियो भनेर आँखा चिम्लेर ल्याप्चे हान्छ कि न्याय र सत्यको पक्षमा उभिन्छ हेर्न बाँकी छ । आन्तरिक न्यायिक प्रक्रिया असफल भए वा पारिए अन्तर्राष्ट्रिय अदालतको ढोका खुला हुन्छ । काठमाडांैबाट हेग धेरै टाढा छैन भन्ने पनि सबैले बुझ्नुपर्छ । अब बन्ने सरकार, प्रतिपक्ष र सबैले यो कुरालाई गम्भीररुपमा लिनुपर्छ ।

कांग्रेसको अबको बाटो

अब नेपाली कांग्रेस सिर्जशील र ससक्त प्रतिपक्षको भूमिकामा रहनुपर्छ । सरकारका जनविरोधी, राष्ट्रविरोधी कामको खबरदारी गर्नुपर्छ भने राम्रो कामको सहयोगी र साझेदार बन्नुपर्छ । समृद्ध नेपालको निर्माणमा अरु राजनीतिक शक्तिहरुसँग सहभागी हुनु र सहकार्य गर्नुपर्छ । जनताको अहिलेलाई आदेश यही हो र लोकतान्त्रिक प्रतिपक्षको भूमिका पनि यही हो । जितेर पनि कांग्रेस किन हार्छ ? कांग्रेसले किन हार बेहोर्नू पर्यो ? यी प्रश्नहरुको कांग्रेसले गम्भीर समिक्षा र बहस गर्नुपर्छ । बहस जनतासँग, जनताको बीचमा गएर अनि पार्टीभित्र गरिनुपर्छ । अब अरु कुनै बाटो छैन । यही एउटा बाटो हो ।

कांग्रेस यो अवस्थामा आउनुमा पार्टीको आन्तरिक कारण नै धेरै छन् । आफ्नै कारणले हो । यसमा सबै दोषी छन् । कार्यकर्ता, नेता र ठूला नेतासम्म सबै नै । कार्यकर्ता तथा नेताले नेतृत्वलाई चुनौती दिन नसक्नु, जनआकांक्षालाई नबुझ्नु र समयानुसार पार्टी र सिद्धान्तमा परिमार्जन गर्न नसक्नु मुख्य कुरा आफैँ बदलिन नसक्नु अनि नेतृत्वको लम्पसारवादी चरित्र, विलासिता, पार्टीभित्र भ्रष्टाचार र पक्षपात तथा नेतृत्वको खराब कार्यशैली नै मुख्य कारक हुन् । हरेक कार्यकर्ता र नेता, पार्टी तथा नेतृत्वको सचेतक पनि हो । तर खै हाम्रोमा ? उदेक लाग्दो छ, हाम्रो पार्टिगत अभ्यास । यो सबै पार्टीहरुको पुरानै रोग हो । कहिल्यै निको नहुने ।

अहिलेको चुनावी परिणामलाई कांगे्रस पुनर्जागरणको, जनजागरण अभियानको पहिलो खुड्किलाको रुपमा लिनुपर्छ । खुड्कीलाहरु बढाउँदै लगोस् कांग्रेसले । अहिले चुनावी परिणामले सुतेको सिंहलाई ब्युँझाएको छ भन्ने बुझ्नुपर्छ । कांग्रेस अब चिरनिद्राबाट ब्युँझियोस् । पहिलो जनआन्दोलन २०४६ देखि आजसम्म आत्मसमीक्षा कहिल्यै गरेन यो पार्टीले । अब गरोस् ।

अब नयाँ कांग्रेसको जन्मको पहिलो सूत्रपात तलदेखि माथिसम्मै नेतृत्वमा व्यापक परिवर्तनबाट गरोस् । क्षमता र बहसको आधारमा पुरानो नेतृत्वलाई सम्मानजनक रुपमा, पार्टीको सचेतक र अभिभावकको रुपमा राखिनु पर्छ । अहिलेको नेतृत्वले पनि विनासर्त नयाँलाई पार्टी हस्तान्तरण गर्नुपर्छ । नेतृत्व परिवर्तनको नाममा टाउका मात्रै बदलेर केही हुँदैन । नयाँ एजेन्डा पनि बहसको लागि तय गर्नुपर्छ । नेपालमा कांग्रेस नै किन भन्ने प्रश्नको खोजी गर्नुपर्छ । बहस गर्नुपर्छ । यसको औचित्य पुष्टि गर्नुपर्छ ।

अबको ५ वर्षलाई नेपाली कांग्रेसले आफूलाई जनता समक्ष जोड्नुपर्छ । अर्को निर्वाचनको तयारी आजैबाट सुरु गरियोस् । बीपीको दर्शन बोकेर आफ्ना एजेन्डाहरु बोकेर कांग्रेस आजैबाट गाउँ, टोल, जनताको घरघरमा पसोस् । अभियान चलाओस् । हैन भने अर्को पुस्ताले कांग्रेसलाई इतिहासको किताबमा पढ्नेछन् भने सानेपा पार्टी मुख्यालयलाई संग्रहालयको रुपमा चिन्नेछन् । अब त चेत खुलोस् !

(बेलायतबाट मानव अधिकारसम्बन्धी कानुनमा विद्यावारिधि)

  • ४ पुष २०७४, मंगलवार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech