• ११ मंसिर २०७८, शनिबार
त्यो अखिल र अहिलेकाे यो अखिल
  • स्टुडियाे संवाददाता

पञ्चायत व्यवस्थाविरुद्ध ०३६/३७ को विद्यार्थी आन्दोलनको राप र ताप फैलिरहेको थियो, देशभरि । स्कुलमा विद्यार्थी संगठनहरूको सक्रियता बढ्दो थियो । त्यहीवेला क्रान्तिकारी चेतनाले अनेरास्ववियुतिर आकर्षित भएको थिएँ । स्कुल पढ्दै गर्दा धेरै नबुझीकनै ०३८/३९ तिर अनेरास्ववियुको स्कुल कमिटीमा संगठित पनि भएँ । प्रवेशिका पास गरेर ०४० मा क्याम्पस पढ्न काठमाडौं आएँ । त्यतिवेला विद्यार्थी राजनीतिक गतिविधि पूर्ण रूपमा खुला थिएन । पार्टी भूमिगत थियो । तैपनि, क्याम्पस पढ्न को–को आउँदै छन् भन्ने सूचना पहिल्यै जिल्लाको पार्टी च्यानलबाट केन्द्रमा पुगिसक्थ्यो । म उमेरले सानै र शारीरिक रूपमा दुब्लो, पातलो थिएँ, त्यतिवेला ।

महेन्द्ररत्नको उपसभापति

गाउँमा शिक्षक भइसकेका, लामो समय शिक्षकका रूपमा काम गरेका, तालिमका रूपमा पढ्न आएका अलि परिपक्व विद्यार्थी महेन्द्ररत्न क्याम्पसमा भर्ना हुन्थे । त्यो जमातमा सानो उमेरको, ख्याउटे ज्यान भएको म पनि त्यही क्याम्पस भर्ना भएँ । लगत्तै स्ववियु चुनावको माहोल थियो । पार्टीका कमरेडहरूले, अखिलका साथीहरूले मलाई त्यतिवेलै स्ववियु सभापतिको उम्मेदवारमा प्रस्ताव गर्नुभयो ।

यति ठूलो क्याम्पसमा कसरी सभापति हुने ? भित्रभित्रै डर लाग्यो, भाषण गर्न त्यति आउँदैन्थ्यो । तैपनि, इन्कार गरिनँ । पछि पाटी र अनेरास्ववियुका साथीहरूले परिपक्व विद्यार्थी पढ्ने क्याम्पसमा मलाई उपसभापतिमा उठाउने निर्णय गर्नुभएछ, चुनावबाट म त्यो पदमा निर्वाचित भएँ । दोलखाका छिरिङठिलेन शेर्पाजी दोहोरिएर सभापति बन्नुभयो ।

ट्वाइलेटका तीन घन्टा

अहिलेको जस्तो खुला परिवेश थिएन, त्यतिवेला । प्रहरी प्रशासनको आँखा छल्दै लुकीलुकी गतिविधि गर्नुपथ्र्यो । ०४२ मा काठमाडौंमा सम्पन्न अनेरास्ववियुको सातौँ राष्ट्रिय सम्मेलन भूमिगत रूपमा सम्पन्न भएको थियो । त्यस सम्मेलनमा म स्वयंसेवक बनेर खटिएँ । अरुण नेपाललगायत विद्यार्थी नेता हिरासतमा हुनुहुन्थ्यो । झापा विद्रोहका नेताहरू– केपी ओली, राधाकृष्ण मैनाली, मोहनचन्द्र अधिकारीलगायत जेलमै हुनुहुन्थ्यो । उहाँहरूको रिहाइको माग गर्दै रातभरि लुकीलुकी भित्तेलेखन गथ्र्याैँ ।

एक रात विष्णुमती किनारमा भित्ते लेखन गर्दैथ्यौँ । त्यस्तै रातिको १–२ बजेको हुँदो हो, एउटा साथी प्रहरीको गाडी आयो भन्दै कराएपछि विष्णुमती किनारै–किनार तुफान भाग्यौँ । नदी किनारमा छाडिएका सुँगुरहरू पनि हामीसँगै घ्वाँकघ्वाँक–घुँकघुँक गर्दै कुद्न थाले । सुँगुरको हुलसँगै हस्याङफस्याङ गर्दै दौडिएर ताहाचल क्याम्पसको होस्टल फर्कियौँ । हत्तपत्त प्रहरी होस्टल पस्दैन्थ्यो ।

मुस्लिकले पक्राउ पर्नबाट जोगियौँ । अर्को राति न्युरोडतिर पोस्टर टाँस्दै गर्दा एक्कासि प्रहरी आइपुग्यो । म अलिअलि खुला एउटा घरको ढोकामा छिरेँ, खासमा त्यो ट्वाइलेट रहेछ । बाहिर निस्किँदा पक्राउ पर्ने भएकाले झन्डै तीन घन्टा ट्वाइलेटभित्र बिताएँ । संयोगले त्यसबीचमा घरका कोही पनि मान्छे आएनन् । मिर्मिरे उज्यालो भएपछि निस्किएँ । त्यसो त धेरैपटक प्रहरीको आँखा छल्दै रत्नपार्कको सार्वजनिक ट्वाइलेटमा पनि रात बिताएका थियौँ, त्यतिवेला ।

त्यो चिसो खाना र टाइफाइड

आजकाल विद्यार्थी नेताहरू धेरै खर्चिला छन् । तर, त्यतिवेला हामी धेरै मितव्ययी थियौँ । पार्टीले पनि त्यस्तै निर्देशन दिन्थ्यो । ०४३ मा राष्ट्रिय पञ्चायतको निर्वाचनमा सीताराम मास्के प्रधानपञ्च, केशव स्थापित उपप्रधानपञ्चको उम्मेदवार हुनुहुन्थ्यो । हामी रातभर उहाँहरूको प्रचारमा हिँड्थ्यौँ । भित्ते लेखन, पोस्टरिङका सबै काम हामीले नै गथ्र्यौँ ।

पार्टीबाट माधव नेपालले कमान्ड गर्नुहुन्थ्यो । उहाँ आफैँ पनि मितव्ययी मान्छे, हामीलाई उहाँले न्युरोडको रञ्जना गल्लीमा सस्तो होटेलमा खानाको व्यवस्थापन गर्दिनुभएको थियो । पार्टीसँग पनि खास पैसा हुन्नथ्यो । राति काम गथ्र्याँै, फर्किएर त्यही होटेलमा चिसो खाना खान्थ्यौँ । त्यही फोहोर चिसो खानाले टाइफाइड भएपछि म झन्डै दुई महिना टिचिङ अस्पताल भर्ना भएँ । यसरी हामी काम गथ्र्यौँ ।

पहिलोपटक जेल पर्दा

पहिलोपटक ०४२ मा जेल परेँ । भद्रगोल जेलमा केपी ओली, आरके मैनाली, मोहनचन्द्र अधिकारीलगायत नेताहरू थिए । उहाँहरूलाई भेट्दा अभिभावक भेटेजस्तै भयो । जेलमा उहाँहरू हामीलाई सिकाउनुहुन्थ्यो, उत्साहित गर्नु हुन्थ्यो । उहाँहरूलाई छाडेर जेलबाट निस्किँदा नरमाइलो अनुभूति भयो । ७ फागुनबाट जनआन्दोलन सुरु हुँदै थियो । म अखिलको केन्द्रीय सदस्य थिएँ । कीर्तिपुर क्याम्पसमा अघिल्लो दिन जुलुसका लागि धेरै झन्डा बनायौँ । त्यो दिन मेरै अगुवाइमा न्युरोडबाट जुलुस निकाल्ने सल्लाह थियो । तर, दुर्भाग्य, मसहितका केही साथीलाई अघिल्लो रात नै कीर्तिपुरबाट प्रहरीले पक्राउ ग-यो । केही दिन काठमाडौं राखेर चौतारा जेलमा सारियो । त्यतिवेला पद्यमरत्न तुलाधर, हरिबोल भट्टराई, अग्नि सापकोटालगायत नेताहरू सँगसँगै जेल बस्यौँ, आन्दोलन सफल भएपछि मात्रै रिहा भयौँ ।

त्यो पहिलो कोट

त्यतिवेला मितव्ययी थियौँ, खर्च जोगाएर पार्टीमा पैसा बुझाउँथ्यौँ । बजारमा सस्तो कपडा किन्थ्यौँ, जुत्ता पनि सामान्य लगाउँथ्यौँ । विद्यार्थी राजनीतिमा सक्रिय भएको १३ वर्षपछि ०५१ मा अनेरास्ववियुको केन्द्रीय अध्यक्ष बनेँ । त्यसपछि मैले बल्ल पहिलोपटक कोट लगाएँ ।

सामान्यतया जिन्स पाइन्ट, टिसर्ट र स्पोर्टस् सुजमै हिँड्थेँ । आजको जस्तो ब्रान्डेड सामान बेच्ने पसलमा कहिल्यै छिरिएन, हैसियत नभएकाले फर्केर हेरिएन पनि । हामी स्वअनुशासित थियौँ । यद्यपि, पार्टी प्रशिक्षणमा हामीलाई नेताहरूले कम खर्च गर्न, अरूलाई बोल्दा आदार गर्न, महिला, वृद्धवृद्धा, गरिबलाई सम्मान गर्न, जनताले जे दिन्छन् त्यो खान, जस्तो पाइन्छ त्यस्तैमा बस्न, तडकभडक नदेखाउन निर्देशन दिनुहुन्थ्यो । कार्यकर्ताहरूलाई पनि हामी त्यसैगरी प्रशिक्षित गथ्र्याैँ । माले, एमाले हुँदै पार्टी केन्द्रीय कमिटीमा पुग्नुभएका धेरै साथीहरूले त्यतिवेला सिक्नुभएको आचरण र व्यवहार अहिले पनि अनुकरणीय छ ।

मदन भण्डारीले चुरोट माग्दा

नेताको अगाडि चुरोट, खैनी खाँदैन्थ्यौँ । टंक कार्कीलाई चुरोट खाइरहनुपर्ने । हामीलाई उहाँले वेलावेला याक चुरोट खाँदा खप्की खाएको प्रसंग सुनाइरहनुहुन्थ्यो । चुरोट खाँदाखाँदै एक दिन माधव नेपालले यस्तो याक चुरोट खाने भन्दै उहाँलाई हप्काउनुभएछ । म त्यति चुरोट खान्नथेँ तर पनि कहिलेकाहीँ तान्ने गर्थेँ ।

कमलादीमा पाँचाैँ महाधिवेशन चलिरहँदा प्रतिनिधि थिएँ । ट्वाइलेट जाने क्रममा अरूले पनि चुरोट खाइरहेका थिए, मैले पनि खाएँ । चुरोटबाट फुङफुङ धुवाँ फाल्दै थिएँ, फ्याट्टै मदन भण्डारी आउनुभयो । उहाँले मैले चुरोट खाएको देख्नुभयो । त्यसपछि के गर्नु, के गर्नु म त पूरै नर्भस भएँ । चुरोट फालेर खुट्टाले मिच्दै धुवाँ निभाएँ । मदन कमरेड मुसुक्क हाँस्दै भन्नुभो’, ‘मैले देखिसकेँ, मलाई ल्याउनुस् न छ भने ।’

त्यतिवेला मसँग एक बट्टा सूर्य चुरोट र सलाई थियो । हत्तपत्त उहाँको हातमा राखेँ । उहाँको अनुहारतिर पनि राम्रोसँग नहेरी टाप ठोकेँ । उहाँको अगाडि चुरोट खाएकामा मलाई एक प्रकारले धेरै ठूलो ग्लानी महसुस भयो । भाषण गरिसकेपछि पछाडिपट्टि एक खिली चुरोट खाने मदन भण्डारीको बानी नै थियो । त्यो घटनापछि मैले एकाध पटक चुरोट खाएँ होला, त्यसपछि क्रमशः छाडेँ ।

रक्सी पिउँदा माधव कमरेडको डर

नेताहरूका अगाडि रक्सी पिउनु त हाम्रा लागि धेरै टाढाको कुरा थियो । जनजाति बाहुल्य क्षेत्रमा हुर्किएको हुनाले सुरुमा अलिअलि त खाइयो । तर, काठमाडौंमा विद्यार्थी हुँदा खासै खाइनँ । एउटा सम्झना छ, कीर्तिपुर पढ्दा नयाँ बजारको पांगा दोबाटोमा एउटा सेकुवा पसल खुलेको थियो । त्यहाँ बफको सुकुटीसँग हामी कहिलेकाहीँ लोकल रक्सी खान्थ्यौँ । सुकुटी धेरै चपाउँदा कन्चट दुख्थ्यो । हामी केही साथीले ठट्टैठट्टामा पसलेको नामै कन्चटे राख्यौँ । बहुदलपछि बिहे, भोज, पार्टीमा थोरै खान्थ्यौँ ।

यस्ता मामिलामा माधव नेपाल धेरै कडा मिजासको हुनुहुन्थ्यो । अरू नेताको मतलब लाग्दैन्थ्यो तर माधव कमरेड नै देखापर्नु भयो भने चाहिँ हामी असिनपसिन हुन्थ्यौँ । एकदमै मार्क गरेर उहाँले त्यस्तो देखेको कुरा बैठकमा एजेन्डा नै बनाइदिनुहुन्थ्यो । ‘फलानो मितिमा फलानो ठाउँमा रक्सी खानुभएको होइन ?’ भन्दै बैठकमै कुरा उठाउनुहुन्थ्यो । त्यसैले रक्सी पिउँदा माधव कमरेडको डर लागिरहन्थ्यो, सबैलाई ।

पारदर्शी ढंगले संगठनको कोष सञ्चालन गथ्र्यौँ । आजकाल विद्यार्थी नेता धनी, संगठन गरिब भएको सुनिन्छ । तर, त्यतिवेला विद्यार्थी नेता गरिब, संगठन धनी थियो । हामी निजी प्रयोजनका लागि केही पनि गर्दैन्थ्यौँ, जति जम्मा गथ्र्यौँ संगठनकै लागि गथ्र्यौँ, त्यहीँ कोषबाट खर्च गथ्र्यौँ । त्यतिवेलाका कोषाध्यक्ष साथीहरूले गाडीको टिकट, खाजा, खानासहितको हिसाब गरेर पाँच सय, एक हजार रुपैयाँ दिने गर्नुहुन्थ्यो । स्वतन्त्र विद्यार्थी युनियनले स्वागत, खेलकुद कार्यक्रम गर्दा बचत भएको पैसा पार्टी कोषमा जम्मा गथ्र्यौँ ।

त्यतिवेला उपत्यकामा पार्टी हेर्ने क्रमशः सुरेन्द्र पाण्डे, प्रदीप नेपाल, ईश्वर पोखरेल, माधव नेपाल हुनुहुन्थ्यो । अधिकांश समय हामीले सुरेन्द्र पाण्डेलाई बुझायौँ । उहाँले पार्टी कोषमा जम्मा गर्नुहुन्थ्यो । अखिलको राष्ट्रिय सम्मेलन हुँदा विद्यार्थीबाट, बाहिरबाट चन्दा उठाउँथ्यौँ, खर्च गरेर बाँकी रकम पार्टीलाई नै बुझाउँथ्यौँ । तर, आजकालचाहिँ पार्टी कोषबाट पैसा लिएर मात्र विद्यार्थी संगठनले सम्मेलन गर्छन् ।

स्ववियु चुनाव आउँदा पनि पार्टीले नै पैसा दिन्छ । तर, त्यो वेला मात्र होइन, बहुदल आएको धेरै पछिसम्म पनि विद्यार्थी संगठनलाई पार्टीले पैसा दिने कुरा कल्पना पनि गरिदैन्थ्यो । उल्टै हामी कहिले एक लाख, कहिले दुई लाख बुझाउँथ्यौँ । अखिलको नाममा पार्टीको लेखामा बेरुजु कहिल्यै हुँदैन्थ्यो, तर पार्टीको सातौँ, आठौँ महाधिवेशनयता अखिलका नाममा निरन्तर बेरुजु छ । अचेल सम्मेलनका नाममा विद्यार्थी नेताहरूले आफ्ना लागि पैसा उठाएको सुनिन्छ ।

एउटा विद्यार्थी नेताले अहिले गर्ने खर्च त्यतिवेला सिंगै अखिलले वर्षभरि पनि गर्न सक्दैन्थ्यो । सामूहिक बस्थ्यौँ, सामूहिक रूपमा पकाएर खान्थ्यौँ । भूमिगत पार्टी नेताहरू हाम्रै कोठामा बस्नुहुन्थ्यो । उहाँहरूमा पनि कुनै तडकभडक थिएन । यसरी हामीले पार्टी बनाएका हौँ ।

अध्यक्ष पद छोड्दा

नेतृत्व चयनमा हाम्राबीच धेरै हार्दिकता थियो । नेतृत्वका लागि हानथाप गर्दैन्थ्यौँ । त्यतिवेला मलाई कसैले कुनै पदमा प्रस्ताव ग-यो भने ‘मभन्दा तपाईं योग्य हुनुहुन्छ, त्यसपछि म हुन्छु’ भन्ने प्रस्ताव गरिन्थ्यो । आजकाल सबैले पहिला आफूलाई प्रस्ताव गर्छन् ।

मलाई थाहा छ, हेटौँडामा भएको १२औँ राष्ट्रिय सम्मेलनमा को अध्यक्ष हुनेबारे विभिन्न साथीहरूको नाम चर्चा भयो । शंकर पोखरेलजी बिदा हुँदै हुनुहुन्थ्यो, रामनाथ ढकाल अध्यक्ष बन्ने सामान्य समझदारी थियो । तर, के–के कारणले हो, अखिलभित्रको टिममा रहेका धेरै साथीहरूले चाहिँ मलाई अध्यक्ष प्रस्ताव गर्नुभयो । ती साथीहरू अहिले पनि एउटै कमिटीमा छौँ । तर, मैले के विचार गरेँ भने, मभन्दा सिनियर त रामनाथजी नै हुनुहुन्छ । मैले साथीहरूलाई भने, ‘त्यो त अपराध हुन्छ ।’

रामनाथजीलाई शंका लागेर एक दिन मलाई भन्नुभयो, ‘एकपटक मलाई बन्न मन छ, तपाईंले मलाई सहयोग गर्नुस् ।’ मैले प्रस्ट्याउँदै भने, ‘म हुन्छु भनेर कहिल्यै भनेको छैन । अखिलको अध्यक्ष तपाईं नै बन्ने हो, बन्नुस् मेरो पूर्ण समर्थन छ । उहाँ अध्यक्ष बन्नुभयो, म महासचिव । पछि पार्टीभित्रको अन्तरिविरोधको प्रभाव देखियो । जसका कारण टंक कार्की अध्यक्षबाट बिदा हुनुभयो । अखिलभित्र उहाँ धेरै लोकप्रिय हुनुहुथ्यो, बहुमतमा हुनुहुन्थ्यो तर पनि पार्टीको आदेश स्वीकार गर्नुभयो ।

अहिले त यो संस्कार नै छैन । सम्मेलन सकिने बितिक्कै अर्कोपटक को बन्ने प्रतिस्पर्धा सुरु हुन्छ । यी सबै कुरा अहिलेको पुँजीवाद, उपभोक्तावादी संस्कृतिको प्रभाव पनि होला । प्रत्येक मान्छे व्यक्तिवादी छ । पुँजीवादको चरित्र भनेकै मान्छेलाई व्यक्तिवादी बनाउने हो । त्यो चरित्र अहिले हाम्रो पार्टीभित्र पनि छ र हामी नेतृत्व लिनका लागि व्यक्तिवादी भएका छौँ ।

म अध्यक्ष हुँदा पनि त्यस्तै घटना भयो । माधव कमरेड पार्टी महासचिव हुनुहुन्थ्यो, म अखिलको अध्यक्ष थिएँ । महाकाली सन्धिका विषयमा कतिपय अन्तरविरोध भयो । पार्टीले मलाई छाड्न भनेपछि राजीनामा दिएँ । यस्तो अन्तरविरोध हुँदाहुँदै पनि पार्टीले राम्रै मनासयले छाड्न आदेश दिन्थ्यो, हामीले पनि खुसीसाथ पद छाड्थ्यौँ । आजको जस्तो आपराधिक मनोवृत्ति पार्टी र अखिल दुवैतिर थिएन । तर, आज राजनीतिको अपाराधिकरण र अपराधको राजनीतीकरण भइरहेको छ । यसको प्रभाव पार्टीमा पर्दै गएको छ ।

सिंहदरबार नजाने त्यो निर्णय

०५१ मा मनमोहन अधिकारीको नेतृत्वमा नौ महिने लोकप्रिय सरकार बन्यो । पहिलो कम्युनिस्ट सरकारसँग स्वाभाविक रूपमा जनताको आशा र अपेक्षा धेरै थियो । वामदेव गौतम पार्टीको उपमहासचिव हुनुहुन्थ्यो । उहाँले देशभर सिंगै पार्टी पंक्तिलाई सरकारको पक्षमा परिचालन गर्नुभयो । सबै जिल्लाालाई निर्देशन गर्नुभयो, ‘काठमाडौं कोही पनि नआउने, आउनै परे केन्द्रसँग अनुमति लिएर डेलिगेसनका रूपमा आउने ।’ उहाँले निर्देशन कार्यान्वयन गराउनुभयो ।

त्यसले अनावश्यक डेलिगेसन गएर मन्त्री र प्रधानमन्त्रीको काम प्रभावित पारेन । आफ्नो गाउँ आफैँ बनाऊँ, नौ स अभियान, वृद्ध भत्ता कार्यान्वयनमै पार्टीलाई परिचालन गर्नुभयो । त्यसवेला हामीले अखिलको बैठक राखेर सिंहदरबारभित्र विद्यार्थी नेता नजाने निर्णय ग-यौँ । तर, आजकाल विद्यार्थी नेताहरू प्रहरीको सरुवा, कर्मचारीको सरुवा र बढुवा, ठेक्कापट्टा मिलाउन, नेतासँगको सेल्फी फोटो खिचाएर सामाजिक सञ्जालमा हाल्न सिंहदरबार धाउँछन् ।

जब सिंहदरबारभित्र विद्यार्थी नेताहरू त्यसरी हिँड्छन्, त्यसले सांस्कृतिक रूप लिन्छ भने विद्यार्थी संगठन र तिनका नेताहरूले आफ्नो हैसियत र गरिमा गुमाउँदै जान्छन् । अनेरास्ववियुको पार्टीसँगको पहिल्यैदेखिको सम्बन्ध–वैचारिक सामिप्यता, संगठनात्मक स्वतन्त्रताको नीति हो । विद्यार्थी संगठनले पार्टीसँग वाचडग र दबाबको भूमिका खेल्यो । पार्टी नेताहरूले अराजक र घमण्डी हुन खोजेको पनि भन्नुहुन्थ्यो, तर त्यो नीति ठीक थियो । तर, अहिले संगठनमा नीतिगत अराजकता छ, पार्टी गुटको नियन्त्रणमा अखिल पुगेको छ ।

अब कस्तो अखिल ?
अब सोच्नुपर्ने वेला आएको छ । विचारको सवालमा अखिल कहाँ छ ? कुनै नेतालाई अहिले मतलब छैन । संगठनले जनताको बहुदलीय जनवाद बोकेको छ कि छैन ? त्यसबारे संगठनभित्र छलफल भएको छ कि छैन ? पार्टी नेताले सिंगै संगठनलाई पकडमा राख्न खोज्दा अहिलेको अखिलले पखेटा फैल्याउन पाएन । मरुभूमिमा उम्रिएको जस्तो, टाक्सिएर बसेको छ । आर्थिक फाइदाका निम्ति नेताकै चाकडी गर्दै हिँडेको छ, आफ्नो नैतिक सामाथ्र्य गुमाउँदै गएको छ अखिल ।

अमूक विद्यार्थी नेताबारे केही भन्दिनँ । आजको बाह्य परिस्थितिले विद्यार्थीको नेतृत्वलाई प्रभावित तुल्याएको छ । कसरी पार्टी, विद्यार्थी संठगन बन्यो, यसको इतिहास, लिगेसीबारे त्यति ज्ञान छैन । उसले आमसभामा धेरै मान्छे आएको, धेरै गाडी रिजर्भ गरेर आएको, नेताहरू प्लेन, हेलिकोप्टर चढेको, भोजभतेर गरेको, नेताकै अगाडि रक्सी खाएको देख्छ । हिजोको इतिहास र लिगेसी नपढाइएकाले यसको प्रभाव आजका विद्यार्थी नेताहरूमा परेको छ । त्याग, बलिदानको भावना, हार्दिकता, कमरेडली भावना देखिँदैन । प्रतिस्पर्धाका नाममा, जित्ने नाममा जायज, नजायज सबै काम भइरहेको छ । यसले अखिललाई कहाँ पु-याउँछ, भोलि पार्टीका लागि कस्ता नेता जन्माउँछ ? हिजो र आजको अखिल र विद्यार्थी नेताका विषयमा पाटी र अखिलले सोच्नुपर्ने समय भएको छ ।

  • १५ मंसिर २०७५, शनिबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech