• ७ बैशाख २०७८, मंगलवार
सप्तरी वृद्ध हत्याकाण्ड : लुटेरा समूह संलग्न रहेको अनुमान
  • स्टुडियाे संवाददाता

 

सप्तरीमा एक बृद्ध दम्पत्तिलाई जिउँदै जलाएर हत्या भएको छ । जिल्लाको खड्क नगरपालिका–५ खरचुहिया बजरामा घर भएका ७५ वर्षीय सगुरी साह र उनकी ६५ वर्षीया श्रीमती बेचनीदेवी साह शरीर जलेको अवस्थामा मृत फेला परेका हुन् ।

वृद्ध दम्पतिको हत्यामा लुटेरा समूह संलग्न रहेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । घटनास्थलको निरीक्षण तथा प्रारम्भिक अनुसन्धानले घटनाको प्रमुख कारण लुटपाट हुन सक्ने अनुमान गरेको छ ।

घटनाबारे सुक्ष्म अनुसन्धानका लागि प्रहरीको तालिम प्राप्त कुकुरसमेतलाई प्रयोग गरिएको तथा फोरेन्सीक स्पर्टसहितको टोली खटाइएको छ । हत्याको सम्भावना देखेपछि प्रहरीले पूर्व क्षेत्रीय प्रहरी आवासीय माध्यामिक विद्यालय धरानबाट तालिमप्राप्त कुकुर ल्याएर अनुसन्धान सुरु गर्दा घटनास्थलबाट पश्चिमतर्फ करिब दुई किलोमिटर दुरीमा रहेको पोखरीमा गएर रोकिएको छ ।

पोखरी छेउमा कस्तुरी मदिराको बोतल समेत बरामद भएको छ। हत्याराले पोखरीमा पुगेर शरीर तथा रगत सफा गरी मदिरा सेवन गरेर हिँडेको हुनसक्ने प्रहरीले अनुमान गरिएको छ। पछिल्लो समय पर्सा, सप्तरी, सर्लाही, सिरहालगायत प्रदेश २ का धेरै जिल्लामा सीमा क्षेत्र हुँदै प्रतिबन्धित कस्तुरी मदिरा भित्रने गरेका छन् ।

घरको पश्चिमपट्टिको पर्खालमा हत्याराले आउजाउका लागि प्रयोग गरेको बाटोमा रगतका टाटा फेला परेकाले हत्यारा त्यही बाटो भएर भागेको हुन सक्ने अनुमान प्रहरीको छ ।

मंगलबार बिहान दूध ल्याउनेले घरको ढोका नखुलेको र झ्यालबाट धूवाँ आइरहेको देखेपछि प्रहरी र छिमेकीलाई खबर गरेपछि उक्त घटना बाहिर आएको थियो ।

मिलनसार स्वभावका साह दम्पति गाउँका सम्पन्न मध्येमा पर्छन्। हालसालै तीनवटा सटर भएको पक्की घर बनाएका साह धान, चामल, गहुँ, मसला पिस्ने मिल चलाएर बसेका थिए। साहले गाउँलेलाई ५० लाख बढी ऋणकर्जा दिएको छिमेकीको भनाई छ। साह दम्पतिका जेठा छोरा बुहारीसहित उदयपुरको गाईघाटमा र कान्छा छोरा बुहारी धरानमा छन्।

  • १५ फाल्गुन २०७५, बुधबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech