प्रदेश २ को ८ जिल्लामा ‘मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ’ अभियान आइतबारदेखि सुरु भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आइतबार पत्रकार सम्मेलन गरी अभियान प्रदेशका सबै जिल्लामा सुरु भएको जनाएको हो ।
अभियानअन्तर्गत छोरी शिक्षा बिमा, साइकल वितरण, सयवटा शौचालय निर्माण, १० हजार सेनेटरी प्याड वितरण गरिने मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले बताए ।
छोरी शिक्षा बिमा कार्यक्रमअन्तर्गत १ माघपछि जन्मिएका छोरीले प्रदेश सरकारबाट २० वर्षपछि एकमुष्ठ १ लाख २५ हजार रुपैयाँ पाउनेछन् । छोरी शिक्षा बिमाका लागि प्रदेश सरकारले प्रत्येक वर्ष १३ हजार ६ सय ४६ रुपैयाँ र बैक प्रभु बैंकले हजार रुपैयाँ दिनेछ ।
त्यसका लागि प्रदेश सरकारले ५५ करोड ६० लाख रुपैयाँ बजेट छुट्याएको छ भने संघीय सरकारले विशेष अनुदान स्वरूप प्रदेश सरकारलाई ५० करोड रुपैयाँ अनुदान दिएको छ ।
प्रचलित कानुनको अधीनमा रही छोरीको उमेर २० वर्ष पूरा नभएसम्म विवाह गराउन पाइनेछैन । कम्तीमा विद्यालय शिक्षाअन्तर्गत कक्षा १२ वा सोसरहको शिक्षा पूरा गराएको हुनुपर्छ ।