• १४ मंसिर २०७७, आईतवार
काँग्रेस नेतृत्व सच्चिए मात्र निरन्तरता दिन सकिन्छ : प्रदीप पौडेल (अन्तर्वार्ता भिडियोसहित)
  • स्टुडियाे संवाददाता

माओवादी केन्द्रकी आशा कोइरालासँग ५ मतले चुनाव हारेपछि काङ्ग्रेस युवा नेता एवं केन्द्रीय सदस्यप्रदीप पौडेल चर्चामा छन् । तनहुँको प्रतिनिधिसभा–२ को ‘क’ बाट प्रदेशसभाका लागि चुनाव लडेका पौडेललाई १६ हजार ६ सय ४१ मत मिल्यो भने विजयी भएकी आशाले १६ हजार ६ सय ४६ मत पाइन । पौडेलले मुचुल्काभन्दा बढी मत गणना भएको भन्दै अदालततिर लागेका छन् । एकातिर झिनो मतले आफै चुनाव हारेका नेता पौडेल काङ्ग्रेसको हारको समीक्षाको पक्षमा छन् । उनीसहितका काङ्ग्रेसका युवा नेता तत्काल केन्द्रीय कार्यसमिति वैठक डाकेर चुनावी समीक्षाको पक्षमा छन् । आफ्नै हार, काङ्ग्रेसको हार र अबको काङ्ग्रेसको रणनीतिबारे नेता पौडेलसँग रोहित दाहालले कुराकानी गरेका छन् ।

तपाईं पनि प्रदेश सभा सदस्यमा उम्मेदवार हुनुहुन्थ्यो, पराजित हुनुभयो । त्यसलाई स्विकार्नुभएको छैन है ?
घटनाहरू त्यस्तै छन् । नजितालाई पूर्ण रूपमा स्विकार्ने अवस्था बनिसकेकोे थिएन । मुख्य गरी ४२ भोट, पाँचवटा बाकसका मत गन्दा मुचुल्कामा ३२८ छ । तर गणनामा ३७० भएको छ । ४२ मत कहाँबाट आयो ? हामीले प्रश्न गरेको छौँ । गुडेर आयो कि हिँडेर आयो कि भनेर हामीले प्रश्न गर्यौ । तर उहाँहरूले चित्त बुभm्दो जवाफ दिन सक्नुभएन । घोषणा हुनुभन्दा अगाडि पुनः मतदानका लागि मैले निवेदन दिएको छु । तर निवेदन उपर कुनै खास छलफल नै नगरीकन उहाँहरूले घोषणा गर्नुभयो ।

तर निर्वाचन आयोगले तपाईं परजित हुनुभयो, भनिसक्यो होइन ?
मैले भने नि उहाँले घोषणा पनि गर्नुभयो । प्रमाणपत्र पनि दिनुभयो । २३२८ मत छ भनेर मुचुल्कामा उल्लेख छ । उहाँहरू आफैले सही गर्नुभएको छ । उल्लेख गर्नुभएको छ । अनि २३७० मत गनिएको छ । त्यसैले त्यहाँ ठूलो कमजोरी देखिन्छ । निर्वाचन आयोगले मतान्तर ५ अङ्क देखाएको छ । त्यसमा मैले नाराबाजी चक्काजाम केही पनि गरिनँ । मैले कानुनी उपचार भएसम्म उपचार खोज्छु । कानुनी प्रक्रियाबाटै अघि बढ्छु मैले त्यति बेला पनि भनेको थिएँ । कानुनी उपचारकै क्रममा लागि रहेको छु ।

नेपाली काङ्ग्रेस तेस्रो पार्टी अहिलेसम्म भएको थिएन । २०१५ देखिका निर्वाचनमा नेपाली काङ्ग्रेसका लागि यो निर्वाचन सबैभन्दा ठूलो पराजय हो नि ?
तेस्रो पार्टी अहिलेसम्म भएको थिएन । प्रत्यक्षमा यसअघि तेस्रो पार्टी भएको थिएन । कुनै निर्वाचनसँग तुलना गर्दा योभन्दा ठूलो क्षति भएको पनि हुन सक्छ । एउटा राजनीतिक दल यो अवस्थामा आइसकेपछि गम्भीर रूपमा समीक्षा गर्नु आवश्यक छ । जनताले विश्वास गरिरहेको एउटा दल यो अवस्थामा किन आयो ?

तर ऐतिहासिक पराजयको समीक्षा पनि गर्नुभएको छैन ?
हामीले समीक्षा हुनुपर्छ भनी कोसिस एकदमै गरिरहेका छौँ । हामीले व्यापक रूपमा भनिरहेका छौँ तर आजसम्म केन्द्रीय समितिको बैठक तथा त्यसभन्दा पछिको बाटो के हुने भन्ने विषयमा समीक्षा हुनुपर्ने हो तर आजसम्म हुन सकेको छैन ।

दलले यत्रो पराजय भोग्यो तर तपाईहरूले केन्द्रीय समितिको बैठक बोलाऊँ भन्नुपर्ने दुर्भाग्य होइन ?
हो, आकस्मिक वैठक बोलाएर निर्वाचन सकिएको २, ४ दिनमै हुनेपर्ने हो । नेतृत्वलाई हामीले छिटो केन्द्रीय समिति बोलाऊँ भनी बारम्बार भनिरहेका छौँ । केन्द्रीय समितिको बैठक राखेर महासमिति बैठक वा विशेष महाधिवेशन कता जाने विषयमा समीक्षा गरेर अगाडि बढ्नुपर्छ भनिरहेका छौँ तर नेतृत्वले सुनिरहेको छैन ।

तपाईंहरूले यत्रो दबाब दिँदा पनि केन्द्रीय समितिको बैठक डाकिन्न भने नेपाली काङ्ग्रेस किन हार्यो भनी धेरै सोच्न पनि परेन । होइन ?
तपाईंले जुन कुरा गर्नुभयो त्यो स्वभाविक छैन । समीक्षाका लागि केन्द्रीय समितिको बैठक नगरिनु ठूलो कमजारी हो । आवश्यकता नदेखिने कुरा अचम्मित हुने विषय हो । समीक्षा बैठक राख्न खोजेको हारको कारण पत्ता लगाउन हो । कारण पत्ता लगाएपछि काङ्ग्रेसलाई फेरि बलियो बनाउन पुनर्गठन गर्न र आकर्षक पार्टी बनाउनको निम्ति अरू रणनीति तय गर्नु जरुरी छ ।

नेतृत्व चाहिँ किन केन्द्रीय समिति बैठक बोलाउन किन चाहिरहेको छैन ? चिन्तनको कारण हो कि बहुमत पुर्याएर तपाईंहरूले हटाइदिनहुन्छ वा आलोचना सहन क्षमता नभएर भनेर पो हो कि ?
नेतृत्वलाई रक्षात्मक हुनुपर्ने अवस्था छ । जति यसलाई टार्दै जानुहुन्छ, लम्ब्याउँदै जानुहुन्छ उहाँहरू अझ समस्यामा पर्दै जानुहुन्छ । आम रूपमा नेपाली काङ्ग्रेसको समीक्षा हुनुपर्ने बुझाइ छ । त्यो नेतृत्वले बुझ्नुपर्ने हो । कायकर्ता सबैको कुरा उहाँहरूले सुन्नुपर्ने आवश्यकता छ । हामीले अख्तियार गर्ने काममा धेरै कमजोरी भएको छ । आलोचना सुन्नुपर्छ भनी बैठक नबोलाइएको हो भने नेतृत्व अर्को गम्भीर समस्यामा फस्छ । नेतृत्वले सबैको कुरा सुन्नु जरुरी छ । के–के भएको थियो, सुन्नुपर्छ । हामी सबै एउटै परिवारका सदस्य हौँ ।

हारको जिम्मेवारी एक्लो पार्टी सभापतिको मात्रै लिनुपर्ने हुँदैन होला । केन्द्रीय सदस्य प्रदीप पौडेलको पनि जिम्मेवारी छ नि ?
म पुरै दोषमुक्त छु भनिरहेको छैन । दललाई पद्धति, प्रक्रिया र विधानसङ्गत ढङ्गबाट चलाउनुपर्छ भन्ने आग्रह हामीले पहिलेदेखि गर्दै आएका हौँ । टिकट वितरणको सन्दर्भमा म केन्द्रीय सदस्य कहीँ पनि सहभागी हुन पाइनँ । चुनावी प्रचारमा कहाँ कसलाई खटाउने तथा प्रदेश र प्रतिनिधि सभा उम्मेदवारका विषयमा वृहत् छलफल हुन सकेन । सबै विषयको समीक्षा हुनुपर्छ । म पनि भागिदार छु । आगामी रणनीति तत्काल बनाउन जरुरी छ ।

नेताहरूले किन बैठक बोलाउन चाहिरहेका छैनन् ?
एकदमै प्रतीरक्षात्मक हुनुपर्छ, एक विषय त्यो होला । अर्को विषय प्राथमिकता अरू विषयमा दिएर पनि हुनसक्छ । तेस्रो कुरा मूल नेतृत्वको एरोघेरोमा रहेकाले यो विषय जरुरी छैन भन्नुभएको पनि हुनसक्छ । तर जेसुकै भए पनि काङ्ग्रेसलाई नयाँ शिराबाट उठाउने भन्ने हो ।

केन्द्रीय समितिले आफ्नो धारणा त ल्याउला, काङ्ग्रेस पराजय हुनुमा तपाईं चाहिँ के ठानुहुन्छ ?
यसमा दुई तीन कुराहरू छन् । निर्वाचनअघि एमाले काङ्ग्रेस हारहारी पार्टी हुन् । तेस्रो स्थानमा रहे पनि माओवादी पार्टी राष्ट्रिय दल हो । तीन दलका बीचमा दुईले एलाइन्स गरेपछि अर्को दल पछिपर्ने नै थियो । ठूलो दल एमालेले अर्को दल माओवादीसँग एलाएन्स गरेपछि नेपाली काङ्ग्रेसलाइ गाह्रो त हुन्थ्यो नै । राष्ट्रव्यापी रूपमा स्थानीय निर्वाचनमा एलाएन्स भएको होइन ।

नेपाली काङ्ग्रेसका २४ जना तीन हजारभन्दा कम मतले हार्नुभएको छ । ३९ जना ५ हजारभन्दा कम मतले हारेका छन् । एमाले र माओवादीको गठबन्धन नभएको भए ३ र ५ हजार मतले हार्ने नेपाली काङ्ग्रेसका उम्मेदवारले जित्ने सम्भावना हुने थियो । गठबन्धन अरूको पनि बनेको थियो । तर हाम्रो उम्मेदवार धेरै मतान्तरले हारेका छैनन् । समानुपातिकमा राम्रो मत ल्यायौँ भनेर स्वभाविक रूपमा लिनुपर्ने अवस्था छैन ।

अर्को मुख्य विषय एमाले र माओवादीबीचमा गठबन्धन बन्न दिन रोक्नुपर्ने थियो । त्यहाँ सफल नभएपछि हामीले आफ्नो आन्तरिक तयारी अत्यन्तै प्रभावकारी बनाउनुपर्ने थियो । चुनावमा टिकट दिँदा कुनले जित्ने थियो । दिनुपर्ने थियो । आफ्नो को ? भोलि संसदको नेतामा कुनले सहयोग गर्छ ? भन्ने हेरियो ।

दलको नेता हुने तर आफ्नो गुटकालाई मात्रै टिकट दिने काम भयो । पार्टीको भन्दा गुटको स्वार्थ प्रदान भयो । काङ्गे्रस जस्तो राष्ट्रियवादी पार्टीका विषयमा कुरा उठाइयो । त्यसको प्रतिरक्षा हामीले गर्न सकेनौँ । नेपाली काङ्ग्रेसले घोषणापत्रमा धेरै राम्रा कुरा लेखेको छ । कोखदेखि चितासम्मको कुरा लेखेको छ । १०, १५ वर्षभित्र नेपालललाई कस्तो बनाउने विषयमा लेखेको छ । तर जनतालाई प्रस्तुत गर्न सकेनौँ । एमाले र माओवादी मिलेपछि स्थिरता दिन्छौँ भने । जनतालाई के लाग्यो भने यी दुई दल मिलेपछि धेरै जित्छन् र स्थिरता दिन्छन् भन्ने लाग्यो । हामीसँग जे थियो, त्यो जनतालाई भन्न सकेनौँ । कम्युनिस्ट दलहरू क्युवाका र उत्तर कोरियाको जस्तै हुन् भनेर जनताले पत्याउने अवस्था छैन । यद्यपि दुई दलको गठबन्धन नेपालको लोकतन्त्र संस्थागत गर्ने भन्नुभएको छ । तर जनवादतिर मुलुकलाई डोर्याउनुहुन्छ कि लोकतन्त्रतिर हेर्न बाँकी छ ।

संसदभित्र बहुमत हुँदैमा स्थिरता हुन्छ भन्ने होइन । अतिवादमा विश्वास नगर्ने नेपाली काङ्ग्रेस हो । नेपाली काङ्ग्रेसको नेतृत्वमा संविधान बन्यो । काङ्ग्रेसले जे–जे गर्यो त्यो बुझाउन सकेन । त्यो नै कमजोरी रह्यो ।

हारको नैतिक जिम्मेवारी सभापतिले लिनुपर्ने आवाज उठेको छ । सभापतिले राजीनामा पनि दिनुपर्छ भन्ने सुनिएको छ नि ?
सभापतिले राजीनामा दिनुपर्छ र उहाँको कुर्सीमा म बस्नुपर्छ मैले भनेको छैन । धेरै युवा साथीहरूका बीचमा यसलाई समीक्षाको विषय बनाउनुपर्छ भन्ने कुरा भएको छ । आजको मुख्य काम समीक्षा हुनुपर्दछ । समीक्षा पनि केन्द्रीय समितिमा मात्रै होइन महासमिति वा विशेष महाधिवेशन बोलाएर अघिको बाटो तय गर्नुपर्छ भनिरहेका छौँ ।

तपाईंको पनि अब विशेष महाधिवेशन बोलाउनुपर्छ भन्ने मत हो ?
विशेष महाधिवेशन बोलाउनुपर्छ । विशेष महाधिवेशन नेतृत्व परिवर्तनका लागि मात्रै होइन । नीतिगत कुरा गर्न सक्छ, कार्यशैलीगत कुरा गर्न सकिन्छ । विधानका विषयमा विशेष महाधिवेशनले कुरा गर्न सक्छ । नेतृत्वलाई सच्याउने काम विशेष महाधिवेशनले गर्नसक्छ । नेतृत्वले सच्चिएर जाने निरन्तरता दियो भने यसैलाई निरन्तरता दिन सकिन्छ ।

तपाईंहरूले यतिका कुरा गरेपछि नेतृत्व परिवर्तन गर्ने होइन भने पनि पार्टी सभापतिले दलको अवस्था र पराजय त बुझ्नुभएकै छ ।
हामी सबैले आफ्नो सान्दर्भिकता पुष्टि गर्न सक्नुपर्छ । कुर्वानी गरेर बनेको दल हो । धेरैले अपेक्षा गरेको यो पार्टी हो । कसैका सुरक्षाका निम्ति यो पार्टी नै समाप्त हुनु त हुँदैन नि । सभापतिको हिसाबले बढी जिम्मेवारी उहाँले लिनुपर्दछ । त्यो स्वभाविक कुरा हो ।

प्रहरी महानिरीक्षक, प्रधानन्यायाधीश जस्ता काण्डले नेपाली काङ्ग्रेसको हारलाई काम गरेका छैनन् ?
गठबन्धन एउटा पक्ष भयो । नेतृत्वको कार्यशैली माथि ठूलो प्रश्न उठ्यो । जे काम गर्दा गलत सन्देश जान्छ, त्यही त्यही काम हामीले गर्दै गयौँ । जनताले गम्भीर रूपमा हेर्दै गएका रहेछन् । जनताले दलहरूलाई हेर्ने भनेको त निर्वाचनमा हो । ती सबै विषयमा हामी सचेत हुन सकेनौँ ।

वामगठबन्धनका कारण मात्रै निर्वाचन हारियो भनियो भने नेतृत्वलाई उन्मुक्ति दिने बाटो होइन ?
मैले त्यसो पनि भनिनँ । ५० प्रतिशत कारण त्यो नै हो, ५० प्रतिशत कारण अन्य हो । सबै विषयहरू मूल नेतृत्वमा गएर ठोकिन्छ । मूल नेतृत्वले गल्ति भयो भन्ने स्वीकार्न त पर्यो नि ।

निर्वाचनमार्फत जनमत लिएर आएका दललाई सरकार हस्तान्तरण गर्न त तपाईंका सभापति तयार हुनुहुन्न भने विशेष महाधिवेशन भयो भने उहाँले सभापतिको पद छोड्नुहोला भनी कसरी कल्पना गर्ने ?
प्रधानमन्त्रीले छोड्न नचाहेको होइन । यो विषय म स्विकार्दिनँ । प्रत्यक्षमा जित्ना साथ एमाले अध्यक्षलाई प्रधानमन्त्रीको कुर्सीमा राखिदिनुपर्ने थियो भने त्यो अर्को विषय भयो । आज शेरबहादुर देउवा काम चलाउ प्रधानमन्त्री हो । लिखित रूपमा नभने पनि उहाँले सत्ता छोड्न हतार गरिरहेको छु भन्नुभएको छ । काङ्ग्रेसको नेतृत्वले वर्तमान निर्वाचनपछि पनि सत्ताको निरन्तरता सोेचेको छ भने त्यो ठूलो गल्ती हो ।

नेपाली काङ्ग्रेसले सोचेको त देखियो नि । देउवाले प्रचण्डलाई पाँच वर्ष प्रधानमन्त्री चलाउन र महन्थ ठाकुरलाई राष्ट्रपति हुन लिखित सम्झौता गर्छु भनेको आइसक्यो ?
लिखित हो भने उहाँहरूले देखाउनुभए हुन्छ । व्यक्तिगत रूपमा के कुरा भयो म जान्दिनँ । आजका दिनमा संस्थागत रूपमा एमालेसँग मिलेको पुष्पकमल दाहाललाई प्रस्ताव गरेको छैन ।

टिकट वितरणको कुरा थाहा पाउन सकिन भन्नुहुन्छ, यो विषय पनि तपाईंले थाहा नपाएको हुन सक्दैन ?
त्यो विगतको कुरा भयो । काङ्ग्रेसले कसैलाई प्रधानमन्त्री प्रस्ताव गरेको छैन । काङ्ग्रेस प्रतिपक्षमै बस्छ । पाँच वर्ष प्रतिपक्षमा बसेर रचानात्मक भूमिका निर्वाह गर्छ । उहाँको गठबन्धन भएन । बहुमत सिद्ध गर्न सक्नुभएन भने त्यो फरक परिस्थिति भयो । तर, मिलिरहेकालाई फुटाएर सरकारमा जाने पक्षमा हामी छैनौँ । प्रतिपक्षमा रहन्छौँ, जनताको पक्षमा सरकारले काम गर्यो भने त्यसलाई असफल बनाउनेतिर हामी लाग्दैनाँै । सरकारलाई त्यो काम सिद्ध गर्नका लागि सहयोग गर्नेछौँ । हाम्रो सरकारमा जाने उद्देश्य, लालसा छैन ।

प्रचण्डले म प्रधानमन्त्री हुन्न भनेपछि उहाँले त्यसो भन्नुभएको हो कि ?
कोठाभित्र कसले कता के गफ गर्यो त्यतातिर नजाऊँ । काङ्ग्रेस पार्टीले आजको दिनसम्म प्रधानमन्त्री आफू हुन खोजेको पनि छैन र कसैलाई बनाउन खोजेको पनि छैन ।

प्रत्यक्षको नतिजा सबैलाई थाहा नै छ । तपाईंहरूले प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ भन्दा पनि प्रधानमन्त्रीको डिफेन्स गर्नतिर लाग्नुभयो ?
राजीनामा गरेजस्तै हो । उहाँको सरकार कामचलाउ सरकार नै हो । उहाँको कार्यकारी भूमिका रहेर अरू बेलाको जस्तो काम गर्न पाउने अधिकार छैन । बरु राष्ट्रिय सभाको समस्यालाई छिटो सल्ट्याएर छिटो नयाँ सरकार बनाउनतिर लागौँ ।

राष्ट्रिय सभा गठनको कुरा सरकारको आयु लम्ब्याउने विषय होइन र ?
राष्ट्रिय सभा गठनको विषयमा संविधान प्रष्ट छ । निर्वाचनअघि नै यो अध्यादेश पेश गरिएको हो । निर्वाचनपछि काङ्ग्रेसले मत कम ल्यायो अनि यो कुरा ल्यायो भन्ने होइन । स्थानीय तहको निर्वाचनपछिका निर्वाचनमा नेपाली काङ्ग्रेसको सर्मनाक हार हुन्छ भनी कसैले कल्पना गरेको थिएन । पहिलो पार्टी बन्छु भन्ने एमालेलाई लागेको भए त माओवादीसँग मिल्दै मिल्ने थिएन । त्यो फरक–फरक विषय हो । आपm्नो आफ्नो ढंगले व्याख्या गर्न सकिन्छ । राष्ट्रपति समक्ष पेश भएको दुई महिना अघि हो ।

दुई महिना अगाडि लगेको अध्यादेश आज जहँंको त्यहीँ रहनु त्यो स्वभाविक हुन सक्दैन । राष्ट्रपतिले जे गरिरहनु भएको छ त्यो पनि संविधान अनुसार गरिरहनु भएको छ भन्ने हामीलाई लागिरहेको छैन । राष्ट्रिय सभामा प्रतिपक्षविहीन बनाउन खोज्नुभएको हो भने पनि त्यो पनि दिनुपर्छ । तर, यो मेरो व्यक्तिगत धारणा हो । आफ्नै ढंगले चल्नुहुन्छ भने त्यो अर्कै विषय हो । भोलीको दिनमा कस्तो रबैया देखाउनु हुन्छ, त्यो हेर्न बाँकी छ । सरकारले हलो अड्काएको छ । काँग्रेसले असंवैधानिक कुरा गरेको छ भन्ने अवस्था छैन ।

साधारणतया वुझ्दा प्रतिनिधि सभाले सरकार बनाउने हो । भोली महिलाको प्रतिनिधित्व कति हुन्छ भन्दै रोकिरहनु त सरकार लम्व्याउने चाल होइन?
समानुपातिकबाट को–को आउने निश्चित भईसकेको त छैन नि । निर्वाचन आयोगले पहिलो नाम मागोस् । प्रतिनिधि सभा पुर्ण होस् । संवैधानिक हिसावले राष्ट्रिय सभा गठन गर्न आवश्यक छैन भने प्रतिनिधि सभा पुर्ण त हुनुपर्यो । एमालेले संसदीय दलको नेता केपी ओलीलाई छनौट गर्नपर्यो । आजको दिनमा प्रतिनीधि सभा पनि पुर्ण भएको छैन । पार्टीहरुले समानुपातिकबाट छनौट गरिसकेका छैनन् । काँग्रेसको कुरा सुनेर निर्वाचन आयोगले प्रतिनिधि सभालाई पुर्णता दिन नसकेको हो ?

निर्वाचन आयोगका प्रमुखले समानुपातिक नटुंगिएसम्म राष्ट्रिय सभा गठन हुन नसक्ने भनिरहनुभएको छ । प्रचण्डले प्रतिपक्षविनाको राष्ट्रिय सभा हुन्न भनिरहनुभएको छ । ओलीले पहिले प्रचण्डलाई कन्भिन्स गर्न पर्यो नि । हाम्रो प्रधानमन्त्री शेरबहादुर देउवाले पनि कागजी राजीनामा दिए हुन्छ । त्यसमा लालशा राख्नु पर्ने कारण छैन । तर, संविधान विपरित नेपाली कांग्रेसले गर्यो भन्ने पक्षमा म छैन ।

अब तपाईंहरुको पाटोबाट हेर्दा एमाले र माओवादी केन्द्रको एकिकरण होला कि नहोला?
मिल्न गाह्रो चुनावमा हो । उहाँहरु त्यो परिस्थितीमा मिल्नु भयो । ४० प्रतिशत एमालेले माओवादीलाई दियो । एमालेको एकदमै राम्रो भएको स्थानमा माओवादीका उम्मेदवार लडाएर एमालेको सहयोगमा जितेर आउनु भयो । माओवादीले जित्ने स्थानमा एमालेका उम्मेदवार बनाएर माओवादीले जितायो । मिल्न गाह्रो निर्वाचनमा हो । पार्टी एउटै हुने भएपछि आलोपालोको कुरा गर्नु भएको छ । एउटै पार्टीमा आलोपालो किन गर्नुपर्यो ? एउटा प्रधानमन्त्री हुने अर्को सभापति हुने ।

दोश्रो विषय एमालेले प्रधानमन्त्री पाउनेमा सहमति भएको देखिन्छ भने प्रचण्डलाई अध्यक्ष दिन आनाकानी भएको देखिन्छ । यसैले उहाँहरुले पहिले जे समझ्दारी गर्नुभएको थियो, त्यसै अनुसार अघि बढ्दा सहज देखिन्छ । तर उहाँहरु अण्डरस्ट्याडिङ अनुसार अघि बढ्न नखोजेको जस्तो देखिन्छ । निर्वाचनको परिणामबाट हैसियत बनेपछि एकता सहज नहुँने देखिएको छ ।

एमाले र माओवादी केन्द्रलाई मिल्न नदिने पक्षमा तपाइहरु पनि हुनुहुन्छ नि?
हिजो कस्तो रणनीति अख्तियार गर्यौँ, त्यो आफ्नो ठाँउमा छ । हिजो काँग्रेस माओवादीसँगै सरकारमा पनि थियौँ । शेर बहादुर र प्रचण्डले एक आपसमा समर्थन गरि प्रधानमन्त्री हुनुभएको हो । हुँदाहुँदै उहाँ एमालेसँग मिल्नु भयो । ती दुईको एकतामा शीर्ष नेताको कार्यशैलीमा निर्वाह गर्छ । अरुले विगारेर उहाँहरु विग्रने होइन ।

नेपाली काँग्रेस सरकार छोड्न ढिलो गरिरहेको छ । केपी ओली छिटो सरकारमा जान खोजिरहनुभएको छ । यो ढिलाई कहिलेसम्म?
ढिलो गर्नुको अर्थ नै छैन । हाम्रो प्रधानमन्त्रीमा लालशा छैन । केपी ओली हतारिरहनुभएको छ । संवैधानिक कारणले ढिलो भएको छ । सहमतिकै आधारमा अघि बढ्दा ठिक हुन्छ । अब जति नै ढिलो गरे पनि १५ दिन भन्दा पछि जाँदैन ।

बामगठबन्धनको घोषणा पत्र अनुसार नयाँ सरकारले काम गर्ने देख्नुहुन्छ?
हामीले जसरी रुपान्तरणको कुरा गर्यौँ, त्यस अनुरुप रुपान्तरण फरक ढंगले जानुपर्दछ । चुनौती छन् । अबको नेतृत्वले घोषणापत्रमा उल्लेख गरेका विषय कार्यान्वयन गर्नुपर्छ । केपी ओली त घोषणापत्र भन्दा पनि अघि हुनुहुन्छ । एमाले माओवादी केन्द्रको सरकारलाई सुभकामना रहन्छ ।

तपाईको आँखाले हेर्दा त्यो सरकारले गर्न सक्ला कि नसक्ला?
कतिपय समयक्रम अनुसार हुँदै पनि गर्छ । त्यसललाई रफ्तारमा लानका लागि अलि फरक विषयहरु जस्तै, छिमेकीको स्वार्थ कहाँनेर जोडिएको छ, अन्तराष्ट्रिय जगतलाई विश्वस्त कसरी बनाउन सकिन्छ भन्नेमा ध्यान दिनुपर्छ । नयाँ सरकार असफल होला त्योसँगै हामी पनि असफल हुनेछौं । जनताले नजिकबाट हेरिरहेका छन् । नयाँ सरकार असफल रहे मुलुक पनि असफल हुन्छ । उहाँले राम्रो काम गर्दा असहयोग गर्यौ भने हामी पनि असफल हुन्छौं ।

अन्तिममा, नेपाली कांग्रेसको वर्तमान नेतृत्व परिवर्तन हुन सक्ने अवस्था छ कि छैन?
हाम्रो पार्टीमा पुराना नेताहरुले नेतृत्व गर्नुभएको गुट एकदमै बलियो छ । जरासम्मै छ । प्रक्रियाबाट नेतृत्वमा पुग्नुभएको छ । सबैलाई समान दृष्टिकोणले हेर्नुपर्छ । अविभावक हुँ भनेपछि सबैको संरक्षण गर्नुपर्छ । सबैलाई समान अवसर दिनुपर्छ भन्ने कुरामा अभिप्ररित गरेको देखिदैन ।

गुटका सीमित कार्यकर्तालाई माया गरेको देखिन्छ, यसै भन्न सकिन्नँ । अविभावक भइदिनुस भनेका छौँ । पछाडिबाट सहयोग गर्नुस भनेका छौँ । तर, परम्परागत गुट बलियो छ । हाल जुनसुकै गुटको कार्यकर्ता भए पनि नेपाली कांग्रेस कमजोर भयो फरक ढंगले सोच्नुपर्दछ भन्ने भएको छ ।

राताेपाटिबाट 

  • ११ पुष २०७४, मंगलवार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech