आइतबार साँझ एक्कासि आएको हावाहुरीका कारण पर्सा र बारामा कम्तीमा २५ जनाको मृत्यु भएको छ। साँझ सात-साढे सात बजे आएको हावाहुरीका कारण चार सय जना जति घाइते भएको बारा प्रहरी कार्यालयका हवल्दार कामेश्वर प्रसाद जैसवारले जानकारी दिए।
‘साँझ एक्कासि हावाहुरी आयो। हामी जितपुरतिर थियौं,’ उनले भने, ‘अलिअलि पानी र असिना परिरहेको थियो। त्यस्तो बेजोड हावाहुरी भए जस्तो लागेको थिएन। तर क्षति हेर्दा भने अवस्था बेग्लै रहेछ।’ उनका अनुसार मृत्यु हुनेको पहिचान खुल्न सकेको छैन। क्षति धेरै भएकाले मृतक र घाइतेको संख्या अझै बढ्न सक्छ।
घाइतेहरूको उद्धार कार्य जारी रहेको र उनीहरुको कलैया, वीरगञ्ज अस्पतालका साथै नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए। ग्रामीण क्षेत्रमा आएको हावाहुरीका कारण घर, पर्खाल भत्किएका, घरका छाना उडेका र रूखहरू लडेका उनले बताए। ‘अधिकांशको घर र छानाले च्यापिएर मृत्यु भएको छ,’ हवल्दार जैसवारले भने। हावाहुरीका कारण ठूलो जनधनको क्षति भएको छ।
थप विवरण आउन बाँकी